Goraksha

National Daily

विपदको चक्रव्युहमा नेपाली

भुवन पोख्रेल
इजरायली सेना र प्यालेस्टाइनी हमास लडाकुबिच युद्ध सरु भएपछि नेपालबाट कृषिको प्रयोगात्मक सिप विकासका लागि अर्निङ र लर्निङ प्रोगाममा इजरायल पुगेका विद्यार्थीले ज्यान गुमाउनु परेको छ । कयौ विद्यार्थी घाइते र एक जना विद्यार्थी बेपत्ता भएका छन् ।
इजरायल सरकार अब आन्तरिक उल्झन र रक्षा केन्द्रि हुने हुँदा नेपाल सरकारले आफ्ना नेपाली नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण, नेपाल फर्काउने, घाइतेको उपचार र खोजी कार्यमा तदारुकता देखाउनु पर्ने देखिन्छ । नेपाली विद्यार्थीहरु दुई देशबिचको युद्धको चपेटामा परेर दर्जनौले ज्यान गुमाइ सक्दा र कयौ घाइते र बेपत्ता हुँदासम्म राज्यले आफ्ना नागरिकको छिटोभन्दा छिटो राहत र उद्धार गर्नुपर्ने देखिन्छ । यस पटकको इजरायल–हमास भयावह नै देखिएको छ ।
हमासले ७ हजारभन्दा बढी मिसाइल इजरायली भूमिका प्रहार गरेको दावी गर्नु र अर्कोतर्फ इजरायली सेना र नागरिक हताहती हुनुले स्थिति खतरातर्फ उन्मुख छ । हमासले सयौँ इजरायली नागरिकलाई बन्दी बनाउँदा एक नेपाली नागरिक पनि बेपत्ता भएका छन् । गोलाबारी र लडाईपछि इजरायलले आफूहरु युद्धमा प्रवेश गरेको घोषणा गरिसकेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहुले नै हामी युद्धमा छौ र हामी जित्ने छौ भनेकाले परिस्थिति काबु बाहिर रहने स्पष्ट सङ्केत गरिसकेको छ । यो आक्रमण इजरायलका लागि अप्रत्यासित सावित भएको छ । यसले इजरायललाई कुदृ बनाएको छ ।
इजरायलमा रहेको नेपाली दुतावासले मृतकको विवरण, घाइतेको विवरण, बन्धकको विवरण सङ्कलन गरेर सार्वजनिक मात्र गरेर दायित्व पूरा हुँदैन ।  नेपाली नागरिकको जीवन रक्षा, राहत, उद्धारका साथै स्वदेश फिर्ता जस्ता पहलकदमी गर्नुपर्ने तदारुकता देखाउनु पर्छ । आफ्ना नागरिकलाई छिटोभन्दा उद्धार गर्न दुतावास चनाखो हुनुपर्छ । नेपाल सरकारले पनि प्रधानमन्त्री परराष्ट्रमन्त्रीको तहबाट कुटनीतिक पहल यथाशीघ्र हुन आवश्यक देखिन्छ । मित्रराष्ट्र इजरायलसँग नेपाली नागरिकको खोजी संरक्षण, बचाउ र रक्षा गरिदिन हार्दिक अपिल गर्न अब ढिला भइसकेको छ ।
प्यालेस्टिनीहरु पनि नेपाल र नेपालीप्र्रति नकारात्मक छैनन् उनीहरुको दुश्मनी नेपाल र नेपालीमाथि पनि होइन । प्यालेस्टानी सरकारसँग पनि नेपाल सरकारले आफ्ना नागरिक जसलाई बन्दी बनाएका छन् । यिनीहरुको जीवन रक्षाका लागि अविलम्बन वार्ता गर्न हेलचेक्याई गर्नु हुँदैन । यसबेला नेपालले कुटनीतिक चार्तुयता देखाएर थप नागरिक हताहती हुनबाट बचाउन सक्नुपर्छ । अबको विश्वव्यापीकरणको युगमा नेपाली विश्वका विभिन्न मुलुकमा अध्ययन र कामको सिलसिलामा पुगेका छन् । नेपालले सबै मुलुकसँग परिपक्क कुटनीतिक सम्बन्ध कायम गर्न कन्जुस्याँई गर्नु हुँदैन ।
नेपाल विश्वभरी छरिएर बसेका छन् । अबका दिनमा सन्तुलित पराष्ट्र सम्बन्ध र असंलग्न पराष्ट्र नीति नेलााले अवलम्बन गर्न सक्नुपर्छ । इजरायल प्यालेस्टाइन युद्धको चपेटामा परेका निहत्या नेपालीको खोजी, उद्धार र संरक्षणमा नेपाल सरकारले कतिपनि ढिलाइ गर्नु हुँदैन । यो विपत्को समय नेपालले संयम अपनाएर आफ्ना नागरिकको सकुशल उद्धार गर्न सक्यो भने आक्रमणमा दिवंगत आत्माले पनि चिरशान्ति पाउने छ । अब थप हताहती हुनबाट नागरिकलाई जोगाउन सकेमा मृतकप्रति सच्चा श्रद्धाञ्जली हुने छ । इजरायलर प्यालेस्टाइनबिच ७५ वर्षदेखि जारी तनाव फेरि अर्को युद्धका रुपमा विस्फोटन हुँदा प्यालेस्टाइनी कहरपन्थी समूह हमासले इजरायलको दक्षिणी क्षेत्रमा गोलाबरी गर्दा कम्तीमा १० नेपाली विद्यार्थीको ज्यान गएको छ भने केही घाइते भएका छन् ।
रोजगारी र सिप सिक्न कयौ संख्यामा नेपाली इजरायल छन् । कृषि सम्बन्धी प्रयोगात्मक सिकाइ लागि एक महिना अघिमात्र सुदुरपश्चिम विश्वविद्यालयलगायतका अरु विश्वविद्यालयका विद्यार्थीहरु पनि आक्रमणमा परि ज्यान गुमाउन, घाइते हुन र बन्धक बन्न विवश छन् । घाइते भएका र जोखिमयुक्त क्षेत्रमा रहेका अन्य नेपालीको उद्धार र उपचार प्रवन्ध मिलाउन सरकारले तत्काल पहल थाल्नुपर्छ ।
इजरायलले युद्धको अवस्था घोषणा गरेको छ । जवाफी हमलामा उत्रिएको इजरायलले यो युद्ध लामो र कठिन हुने भन्दै प्यालेस्टाइनले अहिलेसम्म अनुमानसम्म नगरेको मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ । दुवैतर्फ हाताहात िहुनेको संख्या हजारौँ नाघिसकेको छ । दुवैतर्फको आक्रोशको स्थिति हेर्दा यो नियन्त्रण बाहिर वा काबु बाहिर जाने देखिन्छ । वर्षौदेखि भूराजनीतिक भूमरीमा परेको त्यस क्षेत्रमा युद्ध चर्कदै जाँदा क्षेत्रीय र विश्व धुव्रीकरण बढ्ने सम्भावना देखिँदै छ । दीर्घकालीन शान्तिका लागि प्रयास गरेका पनि हुन् तर मुख्य गरी इसाई, इस्लाम, यहुदी तीनै थरीको महत्वपूर्ण धार्मिकस्थल जेरुसेलमका कारण निकास निस्कन सकेको छैन ।
 धार्मिक राजनीतिक स्वार्थका कारण यसरी युद्धहरु हुँदै गर्दा निहत्या मानिसले ज्यान गुमाउँछन् । यसैपाली हमासले आक्रमण गर्दा युद्धसँग गुनै साइनो नभएका नेपालीले ज्यान गुमाउन पुग्नुलाई विडम्बना ठान्नुपर्छ । यी दुई देशबिचको युद्ध नरोकिए यसको बाछिटा कहाँसम्म पुग्छ भन्ने अनुमानसम्म गर्न सकिँदैन ।
युद्धबाट कुनै पनि निकास हुँदैन संवाद, वर्ता, छलफलबाट मात्र शान्तिमा रुपान्तरण गर्न सकिन्छ । यो युद्ध दुवै देशको हितमा छैन । दुई देशले ठूलै मात्रामा जनघनको क्षति व्यहोर्नु पर्ने देखिन्छ । युद्धले विनाश निम्त्याउँछ, संवाद र वार्ताले शान्ति ल्याउँछ । संसार ठुल–ठुला युद्धहरु प्रथम विश्व युद्ध र द्धितीय विश्व युद्ध भए त्यसको घाउ अझै पनि सम्झदा बल्झेर आउँछ । नेपालमा १० वर्ष माओवादी सशस्त्र युद्ध भयो जसले गर्दा मुलुक आन्तरिक द्वन्द्वमा फस्यो । जसको परिणाम अहिले पनि भोग्नु परेको छ । अझै पनि युुद्धका खाटाहरु बल्झेर आउँछन् । कयौँ आमाको काख रित्तियो, कयौँ श्रीमतीहरुको सिउँदो पुछियो । कयौका घरमात्र अपूर्ण भएनन्, मन पनि फत्कीएर विछिप्त बन्न पुगे । युद्ध अभिसाप हो । युद्धबाट कहिले पनि मुलुक समेद्ध र विकसित बन्न सक्दैन बरु दशको पछाडि धकेलिदन्छ ।
नेपाल आन्तरिक रुपमा द्वन्द्वमा फसेर संवाद र वार्ताका माध्यमबाट शान्तिको मार्गमा आएको मुलुक हो । नेपालबाट पनि हन्य मुलुकले पाठ सिक्न सक्छन् । प्यालेस्टाइनीले समूहले वायु, समुन्द्र र जमिनबाट गाजा क्षेत्रदेखि इजरायलमा धावा बोलेको छ । इजरायलस्थित नेपाली दुतवासले इजरायलमा मृत्यु भएका १० जनाको शव नेपाल ल्याउन पहल सुरु गरेको छ । सोमवार साझँ एक विज्ञप्तिमार्फत् दुतावासले इजरायलमा मृत्यु भएका १० जनाको शव नेपाल ल्याउन प्रक्रिया अघि बढाएको जानकारी दिएको छ । दुतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग सम्न्वय तथा सहकार्य सुरु गरिसकेको विज्ञप्तिमा उल्लेख छ । इजरायलको युद्ध क्षेत्रमा रहेका ३२ नेपालीको सुरक्षित स्थानान्तरण गरिएको छ । इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको हो । पराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले दिएको जानकारी अनुसार ३२ जना नेपालीलाई इजरायलका सेनाले स्कर्टिङ गरेर सुरक्षित स्थानतर्फ लगेको छ ।
इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहेमा सरकारले चार्ट र विमानबाट ल्याउने भएको छ । सोमवार बसेको मन्त्रीपरिषद् बैठकले अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तामा सहयोग गर्न अव भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीम ३ महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दुतावासलाई स्वीकृति दिने निर्णय पनि गरेको छ । इजरायलस्थित नेपाली दुतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्राञ्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दुतावासलाई स्वीकृति दिने पनि बैठकले निर्णय गरेको छ ।
सरकारले इजरायलमा मारिएका नेपालीको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ र मगलबार राष्ट्रिय शोक घोषणा गरेको थियो । दिवंगत आत्माको शोकमा सरकारी कार्यालय, विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ । युद्ध विनासको कारक हो, शान्ति विकास र समृद्धि ल्याउने कारक हो । युद्धग्रस्थ मुलुकमा अब नेपालीहरु काम र अध्ययनका लागि सरकारले अुनमति दिनु हुँदैन । विपतमा परेका नेपालीहरु जसले दोहोरो आक्रमणमा परि ज्यान गुमाउन सक्छन्, तिनलाई छिटोभन्दा छिटो सुरक्षित ठाउँमा राखेर नेपाल फर्काउन सरकार चनाखो भएर अघि बढ्नु पर्दछ । घाइतेहरुको स्वास्थोपचारमा चाँसो राख्नुपर्छ र बेपत्ताहरुको यथाशीघ्र खोजी कार्य गर्नुपर्छ । युद्धमा परि ज्यान गुमाएका नेपाली मृतकहरुको शव स्वदेश ल्याउने प्रवन्ध पनि राज्यले यथासम्भव छिटो व्यवस्था मिलाउन सक्नुपर्छ ।