Goraksha

National Daily

संस्कृति र संस्कार हाम्रा अमूल्य सम्पत्ति हुन्

नारायणप्रसाद श्रेष्ठ
संस्कृति र संस्कारले मानव जीवनलाई निश्चित गति निर्धारण गर्न सिकाएको हुन्छ । विधि र विधानवमोजिम गतिशील भइरहन मद्दत गरिरहेको हुन्छ । मानव जीवनले अपनाउनुपर्ने आत्मसत्यको पहिचान गराउँदै सँगै बाँच्न र बचाउन उत्प्रेरित गरिरहेको हुन्छ । जीवनको गतिशीलतालाई बोध गराउँदै समयानुकूल आचरण र व्यवहार गर्न सिकाइरहेको हुन्छ । हेर्ने र बुझ्ने दृष्टिकोणमा सकारात्मक भाव जगाई दृष्टिकोणमा पवित्रता झल्काउने कार्य गरिरहेको हुन्छ ।

पतीतबाट पावन बनाई सचेतना अभिबृद्धि गरिरहेको हुन्छ । विश्वासको जग मजबुत बनाई युगको परिवर्तनसँगै मानवीय आचरण र व्यवहारलाई सेवा र समर्पणमा आधारित कर्म गर्न उत्प्रेरित गरिरहेको हुन्छ । सभ्यताको विकाससँगै बढेको मानिसको चाहनालाई परिपूर्ति गर्ने नीति तथा कर्तव्यबोध गराइरहेको हुन्छ । त्यसैले संस्कृति र संस्कारलाई सामाजिक समुत्थान र जीवनको आदर्श गति निर्धारण गर्ने सशक्त आधार मानिन्छ । नीति र नैतिकतामा आधारित जीवन पद्धति अँगाल्दै सँगै जिउने, सँगै कर्म गर्ने र सँगसँगै मोक्ष प्राप्त गर्ने ज्ञानको मूल आधार मानिन्छ ।

संस्कारले मानिसलाई सम्यम र निरन्तर अभ्यासरत बनाउँदै जीवनको लक्ष्य हासिल गर्न विश्वासको जग मजबुत बनाइरहेको हुन्छ । भौतिक युगले ल्याएको परिवर्तनसँगै मानिसको सोच र चिन्तनमा सकारात्मकता ल्याई धैर्य र सहनशीलता बनाई आत्मज्ञानी बन्न यसले सिकाइरहेको हुन्छ । आसुरी शक्तिले ल्याउने परिणामको ख्याल गर्दै गलत प्रवृत्ति उत्पन्न हुनै नदिन ध्यान आकृष्ट गराएको हुन्छ । आदर, सत्कार र अनुशासित जीवन शैली अपनाउन र अतिथि देवो भन्ने भाव जागृत गराएको हुन्छ । आफू र आफ्नो परिवेश वरपर हुने प्रदूषणलाई हटाई स्वच्छ र समुन्नत वातावरण बनाउन संस्कृति र संस्कारले मानिसलाई पथप्रदर्शन गरिरहेको हुन्छ ।

सामाजिक जीवनशैलीभित्र देखापर्ने उतारचढावको अवस्थालाई सरलीकृत गर्दै, कर्तव्यबोध गराउँदै, दायित्वप्रति सचेत गराएको हुन्छ । गर्न हुने र नहुने कर्मलाई छुट्याउने सामथ्र्य बढाउँदै परिवर्तित सत्यसँग अघि बढ्न सक्ने क्षमताको विकास गरेको हुन्छ । ज्ञान चक्षुको तेस्रो आँखा जसले आत्मसत्यभित्र रहेको शुद्धतालाई जानेको हुन्छ । त्यसको खजानालाई पहिचान र चिनारी गराउँदै मनको पवित्र गंगामा तैरन सिकाउँछ । आफूलाई विश्वासको बलियो जग भएर प्रस्तुत हुने अवसर जुटाएको हुन्छ ।

तेस्रो आँखा जसलाई ज्ञानको आँखा पनि भनिन्छ, त्यो नेत्र खोली ज्ञान सागरमा पौडिन र जीवनलाई सहज गति दिन यसले सिकाउँछ । तसर्थ, जीवन र जगतबारे जानकारी दिई जीवनलाई सहज गतिशील बनाउने संस्कृति र संस्कारलाई भोलिको भविष्य निर्धारण गर्ने अचुक निसाना मानी यसलाई पुस्ताको भविष्यसँग गाँसेर संरक्षण र सम्बद्र्धन गर्नुपरेको छ । संस्कारभित्र लुकेको शुद्धताको खजानालाई पहिचान गरी यसका गलत पक्षलाई हटाई संस्कारले ल्याउने परिवर्तित सत्यलाई बुझेर मानव आत्मालाई गतिशीलता दिनसक्ने आचरण गर्नु गराउनु पर्ने छ ।

संस्कृति र संस्कारले ल्याउने मानवोचित गुणलाई स्वीकार गरी यसका राम्रा पक्षलाई साझा दायित्वबोध हुने गरी परिमार्जन गर्ने गर्नुपर्छ । जीवनको गतिलाई समयको प्रवाहसँगै हुर्कन, बढ्न र विकास गर्न संस्कृतिले ल्याउने परिवर्तनप्रति सचेत हुन जरुरी हुन्छ । संस्कृति हाम्रो धरोहर हो । यसबाट नै हामीले आफूलाई विश्वसामू पहिचान गराउन सक्छौँ । विश्वरंगमञ्चमा आफ्नो आदर्शता चिनाउन सक्छौँ । त्यसैले यसको गरिमा र यसले ल्याउने परिवर्तित सत्यलाई बुझी यसको संरक्षण र सम्बद्र्धन गर्नु हाम्रो नैतिक जिम्मेवारी हुनुपर्छ । संस्कृति र संस्कार के हो ? यसको वास्तविकता जनजनमा पु¥याई संस्कृतिको जगेर्ना गर्दै आदर्श संस्कार स्थापनातर्फ हामी सबैको धारणा एउटै हुनु पर्छ ।

संस्कृति हामीले पौराणिककाल देखि स्वीकार्दै आइरहेको सामाजिक परम्परामा अडेको हाम्रो पहिचान बढाउने गत्तिलो माध्यम हो । संस्कृतिबाट नै हामीले आफ्नो अस्तित्व कायम गर्न हामीलाई सजिलो हुन्छ भने संस्कार हामीले हाम्रा पुर्खादेखि स्थापना गरेको असल आचरण हो । संस्कृतिले पहिचान गराउँदै हामीलाई अघि बढ्न सजिलो बनाएको छ भने संस्कारले हामीलाई जिउन सिकाएको छ । विविधतामा एकता कायम गराएको छ । अनुशासन र कर्तव्यको बोध गराई आपसी सद्भाव बढाउन मद्दत गरेको छ ।

भिन्न–भिन्न विचारलाई एउटै सूत्रमा बाँधी आपसी भाइचाराको अभिबृद्धि गर्न यसले सघाउ पु¥याएको छ । हुन त सामाजिक परिवेशमा विचारको विविधताले यसको व्याख्या र विश्लेषणमा विविध प्रतिक्रिया पनि आइरहेका छन् । वर्ग स्वार्थ र सामूहिक स्वार्थ प्रदर्शन भइरहेका कारण यसलाई हेर्ने दृष्टिकोणमा फरकपन पनि देखिएको छ । सस्तो लोकप्रियता कमाउने धुनमा थोरै मात्र गलत परम्परालाई उदाहरण दिई सिङ्गो आदर्शमाथि हिलो छ्याप्ने काम पनि नभएका होइनन् । अर्को अर्थमा भन्ने हो भने पुरानो कुरा खुइलिसक्यो अब त आधुनिक युगको आधुनिक संस्कृति र संस्कार स्थापना गर्नुपर्छ भन्ने चिन्तनले पनि संस्कृति र संस्कारमा चुनौती थपेको छ ।

विदेशीमुलबाट आफ्नो अधिपत्य जमाउने उद्देश्य राखी भाषा, संस्कृति र संस्कारमाथि आघात पु¥याउने काम पनि भए गरेका देखिन्छ । सामाजिक एकता कायम गरी राष्ट्रिय गौरवशाली भूमिका निभाइरहेका स्वतन्त्र र आत्मचिन्तनमा अडिग रहेका नेपाली मनको पवित्रतामा आघात पु¥याउने चेष्टा नभएका पनि होइनन् । कहिले भाषाको नाममा, कहिले जातजातिको नाममा कहिले धर्म त कहिले संस्कृति र संस्कारका नाममा गलत नजीर प्रस्तुत गर्दै नेपाली मनको पवित्रतामा दुष्भावना जागृत गराउने चेष्टा पनि नभएका होइनन् ।

तथापि, नेपाली मनको पवित्रताभित्र रहेको हाम्रो संस्कृति, हाम्रो संस्कार नेपाली आदर्शको प्रतीक भएर विश्व सामू परिचित भइसकेकोले अब यसलाई अक्षुण्ण र परिमार्जित गर्दै अघि बढ्न अब सबैको जिम्मेवारी बढेको छ । विवेकशील भई परचिन्तनमा होइन आत्मचिन्तन गरी हाम्रा पुर्खाले राष्ट्रिय अखण्डता र आदर्श जीवन जिउन सिकाएका संस्कृति र संस्कारलाई वर्तमान युगसँग बाझिने स्थिति देखिए त्यसलाई थोरै परिमार्जित गरी हाम्रो संस्कृति हाम्रो आदर्श, हाम्रो संस्कार हाम्रो जीवन पद्धति भनी आफूलाई समर्पण गर्नुपरेको छ ।

क्षणिक भावावेशमा निहित स्वार्थबाट उत्प्रेरित भई वा आफ्नो नैतिकता बेचेर पराया विचारलाई लाद्ने काम कदापि राम्रो होइन । वर्तमान अवस्थामा आफूलाई सर्वज्ञानी ठान्ने केही तत्वले नेपाली मौलिकतामाथि प्रश्न चिह्न उठ्ने गरी हुटिट्याउँले सगर थामे सरी गरी सबै मैले गरेको छु, मवाहेक अरु कसैले गर्न सक्दैन भन्ने अहंकारयुक्त सोचले संस्कृति र संस्कारमाथि प्रहार गरिरहेका छन् । वहुजाति, वहुधर्म र वहुविचार भएर पनि एक भएर आफ्नो मौलिक संस्कृति र संस्कार जोगाई सद्भावपूर्ण जीवन बिताइरहेका स्वच्छ र पवित्र मनका धनी नेपाली समाजमा गलत नजीर बसाल्न खोजिरहेका छन् ।

प्रकृति प्रदत्त हाम्रो संस्कृति माथि पश्न खडा गरी प्राकृतिक नियमलाई नै बदल्ने चेष्टा नगरेका पनि होइनन् । तसर्थ यस कुरालाई गम्भीर रुपले चिन्तन मनन् गरी हाम्रो धरोहरको रुपमा रहेको आफ्नै मौलिकपनलाई कदापि नछोड्ने संकल्प गरौँ । सिङ्गो समाजलाई पाच्य भइरहेको हाम्रो संस्कार र संस्कृतिलाई अक्षुण्ण राख्दै वाह्य आवरणमा सजाउन खोजेको क्षणिक भावावेषलाई हटाउनुपरेको छ । हँचुवाको भरमा भौतिक उन्नतिको मोह देखाई युगौँदेखि चल्दै आएको हाम्रो मौलिक सभ्यतालाई बदल्न खोज्ने शक्तिलाई परास्त गरी लोभ, मोह र आशक्तिमा होइन हाम्रो संस्कृति हाम्रो भविष्य, हाम्रो संस्कार हाम्रो गन्तव्य भन्दै एउटै स्वर एउटै उद्देश्य राखी अघि बढ्नुपर्ने समय आएको छ ।

क्षणिक भावावेषबाट उत्पन्न चिन्तनबाट संस्कार बदल्ने चेष्टा गर्नु यो सर्वथा गलत कार्य हो । अभिभावक बिनाको टुहुरोपन हो । यस्ता गलत तत्वको काम भनेकै स्वच्छ गंगालाई धमिल्याई आफ्नो हैकम जमाउनु हो । तसर्थ, यस्ता घमण्डी र अहंकारी तत्वसँग सावधान रही हाम्रो निहित स्वार्थभित्र हुर्कन खोजको यो र त्योको गलत भावना र यसबाट उत्पन्न हुने परिस्थितिको समयमा मूल्यांकन गरी आफूलाई सच्याउनुपरेको छ । परम्परागत मान्यता र संस्कारलाई कुल्चनु भनेको अभिभावकबिना भौतारिएको जीवन हो ।

गुरुबिनाको चेलाले म स्वयम गुरु हो भन्ने अहंकारी सोच हो । तसर्थ संस्कृति र संस्कारबाट सिर्जेको आचरणयुक्त अनुशासन पद्धतिलाई जीवनको अभिन्न अंग बनाई आदर्श जीवनको सही मार्ग बनाउने हाम्रो संस्कृति र संस्कारलाई धमिरा लगाउने काम नगारौँ नगराऔँ । मानिसको जीवन स्वयम् परिपक्को हुँदैन । संस्कार र संस्कृतिले परिपक्व बनाउँदै अगाडि बढेको हुन्छ । हाम्रा पूर्वजले सिकाएको अनुशासनबाट प्रेरित जीवनशैली अपनाई आफूभन्दा पहिलेका पुर्खालाई धन्यवाद दिएर होइन उनले सिकाएको पथमा जाने आशीर्वाद लिई जीवनलाई गतिशील बनाऔँ । संस्कृति र संस्कार हाम्रो अमूल्य सम्पत्ति हुन्, यसलाई बचाई राखौँ ।