व्यवसायिक हकहित मेरो प्रण : बसन्त जोशी

  •   
  •  

दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि आगामी असोज १३ गते निर्वाचन हुँदैछ । नयाँ नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा छन् । संयुक्त व्यवसायिक प्यानलको नेतृत्व बसन्त जोशीले गरेका छन् । अध्यक्ष पदका उम्मेदवार जोशी अहिले आफ्नो चुनावी अभियानलाई तीब्र पारेका छन् । उनै बसन्तसंग अहिले भैरहेको चुनावी गतिविधि र उनले जित्ने आधारका बिषयमा केन्द्रीत रहेर गरिएको संक्षिप्त कुराकानी ।

चुनावी अभियान कसरी चलिरहेको छ ?

पक्कै पनि दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि असोज १३ गते निर्वाचन हुँदैछ । म अध्यक्ष पदको उम्मेदवारका रुपमा अहिले चुनावी मैदानमा होमिएको छु । असोज १३ गतेको मतलाई कसरी आफू केन्द्रीत गर्ने भन्ने लक्षमा साथ म चुनावी अभियानमा केन्द्रीत बनिरहेको छु । यस अभियानअन्तर्गत म लगाएत हाम्रो संयुक्त व्यवसायिक प्यानलका तर्फबाट उम्मेदवार बनेका उम्मेदवारहरु घरदैलो अभियानमा सक्रिय बनिरहेका छौँ ।

मतदाताहरुको अपेक्षा, उहाँहरुले भोग्नु परेका चुनौती समस्याका बारेमा जानकारी लिने र व्यवसायिक हकहितका लागि लड्ने प्रण गर्दै उहाँहरुबाट मत माग्ने काम गरिरहेका छौँ । मतदाताहरुबाट पनि राम्रो रेस्पोन्स पाईरहेका छौँ । यसैगरि व्यवसायिक अग्रज व्यक्तित्वहरुसंगको भेटघाट र उहाँहरुबाट सरसल्लाह लिएर अगाडी बढ्ने रणनीति पनि बनाईरहेका छौँ । समग्रमा अबको हाम्रो एजेण्डा मतदाताहरुलाई सुनाउने र ति एजेण्डा पुरा गर्नका लागि व्यवसायिक क्षेत्रका साथीहरुको सहयोग (मत) माग्ने काम गरिरहेका छौँ ।

तपाईको उम्मेदवारी किन ?

लामो समयदेखि व्यवसायिक क्षेत्रमा आवद्ध रहँदै गर्दा यस क्षेत्रमा देखिँदै आएका चुनौतीहरु देखि म बर्षौँदेखि जानकार छु । व्यवसायिक क्षेत्रको उन्नयनका लागि र व्यवसायिहरुको हकहित प्राप्तीका लागि मेरो उम्मेदवारी हो । २०७१ साल देखि उद्योग वाणिज्य संघमा सदस्यका रुपमा भित्रिएको म उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा रहेर काम पनि गरिसकेको व्यक्ति भएकाले अब नेतृत्व तहमा रहेर व्यवसायिक हकहितका लागि अभियानको थालनी गर्ने योजना बनाएको छु ।

अहिले व्यवसायिक क्षेत्रमा देखिएका चुनौतीहरु के के हुन् ?

मूलतः अहिले धेरै साथीहरु व्यवसाय देखि पलायन भैसकेको अवस्था छ । कतिपयलाई व्यवसाय गरेर बाँच्नै हम्मे परिरहेको छ । कोरोना कहर सुरु भएदेखि व्यवसायिक क्षेत्रमा ठूलो चुनौती पैदा भएको छ । अहिले झन मुलुकमा देखिएको आर्थिक मन्दीले व्यवसायिक क्षेत्रमा ठूलो धरासय उत्पन्न भएको छ । यहि आर्थिक मन्दीका कारण धेरै व्यवसायिहरु व्यवसाय बन्द गरेर कोहि पलायन हुनु भएको छ भने कोहि सटर बन्द गरेर बस्नु भएको छ ।

एकातिर व्यापार व्यवसाय चौपट भएको छ, अर्कोतिर राज्यले लिने कर असुलीमा भने कसिकसाउ नै छ । कम्तिमा पनि राज्यले करमा सहुलियत दिन सकेको खण्डमा व्यवसाय सञ्चालनमा ठूलो राहत महशुस हुने थियो । यसैगरि बैंकको महंगो ब्याज दरका कारण पनि व्यवसायीक क्षेत्रमा अर्को ठूलो चुनौती उत्पन्न भएको छ ।

यसर्थ कोरोना कालखण्डमा जस्तै राज्यले अहिलेको चरम आर्थिक मन्दीलाई मध्यनजर गर्दै कर छुट गरेर सहुलियत प्रदान गर्नुपर्छ । संगै महंगो ब्याजरदरलाई तल झारेर व्यवसायिक क्षेत्रको चुनौती कम गर्ने वातावरण निर्माण हुनुपर्छ ।

तपाई नेतृत्वमा आए, यसमा कसरी सहजता आउँछ त ?

पक्कै पनि राज्य वा राज्यका संयन्त्रसंगको समन्वय यसा लागि अति आवश्यक रहन्छ । करमा कसरी सहुलियत प्रदान गर्न सकिन्छ भनेर राज्य वा राज्यका निकायहरुसंगको समन्वयकारी भूमिका मैले निर्वाह गर्ने छु । उद्योग वाणिज्य संघको साझा संस्था उद्योग वाणिज्य महासंघसंग समन्वय गरेर जिल्लामा व्यवसायिहरुले भोग्नु परिरहेका समस्या समाधानका निम्ती अभियान थालनीको प्कृया प्रारम्भ गर्न सकिन्छ ।

यसैगरि महंगो ब्याजदरलाई कसरी तल झार्न सकिन्छ भन्ने सन्दर्भमा पनि आवश्यक निकायहरुसंग प्रभावकारी रुपमा समन्वय गर्ने छु । समग्रमा अहिले व्यवसायिक क्षेत्रमा देखिएका चुनौती र यो चुनौतीका कारण व्यवसायिक साथीहरुले भोग्नु परेका समस्याहरुको निराकरणका लागि मेरो पहिलो कार्यभार हुने छ । व्यवसायिक क्षेत्रमा आवद्ध साथीहरुलाई कसरी व्यवसायीक क्षेत्रमै टिकाई राख्ने बिषय नै मेरा लागि प्रमुख बिषय हिँजोका दिनमा बन्दै आयो, अबको मेरो भूमिका पनि यसमै केन्द्रीत हुने छ ।

तपाईले जित्ने आधारहरु के के हुन् ?

मैले अघि पनि भनेँ म व्यवसायिक क्षेत्रमा देखिएका चुनौती समाधानका लागि हिँजो देखि भूमिका निर्वाह गर्दै आएको व्यक्ति हुँ । म हिँजोका दिनमा पनि व्यवसायिक साथीहरुसंग निकटस्थ रहेर काम गर्दै आएँ र अहिले पनि व्यवसायिक क्षेत्रका व्यक्तिहरुसंगको समन्वय निकटस्थ छ । यसर्थ एउटा कुरा के हो भने म व्यवसायिक क्षेत्रमा आवद्ध साथीहरुसंगको सम्बन्धबाट कहिल्यै टाढा रहेन ।
मलाई साथीहरुले गर्नु भएको सहयोग जहिल्यै मेरा लागि अतुलनीय रहँदै आयो ।

त्यहि सहयोग, त्यहि प्रेम, त्यहि सद्भावले मलाई उद्योग वाणिज्य संघमा निर्वाचित गर्ने छ , म यसमा बिश्वस्त छु । फेरी अर्को कुरा मलाई व्यवसायिक क्षेत्रमा आवद्ध साथीहरुले सक्षम , काम गर्न सक्ने व्यक्तिका रुपमा हेर्दै आउनु भएको छ । यसले केहि गर्न सक्छ है भन्ने आम व्यवसायिहरुको म प्रतिको आशा मेरो जीतको अर्को आधार हो । र मूलतः अहिले देखिएका विद्यामान समस्यालाई समाधान गर्न सक्ने ल्याकत राख्ने व्यक्तिका रुपमा मलाई व्यवसायिक क्षेत्रमा लाग्नु भएका साथीहरुले बुझ्नु भएको छ ।

र म यि समस्या समाधानका लागि लड्ने प्रण पनि गर्दछु । समग्र व्यवसायिक क्षेत्र र व्यवसायि साथीहरुको मनोभावलाई बुझेर यो क्षेत्रमा देखिएका चुनौती समाधानका लागि लड्न सक्ने मेरो ल्याकत र आम व्यवसायि साथीहरुले म प्रति गर्नु भएको आशा र बिश्वास नै मेरो जीतको आधार हो ।