Goraksha

National Daily

मातृभाषाबाट पढाइ भएसँगै विद्यार्थीलाई बोल्न सहज

1 min read

अञ्जना चौधरी
दाङ, १५ भदौ । (सोजाक चियी गिजी हिमा ग्यम्याहाक्नी । चियी उहीँ सरुमारानी गाउँपालिक वडा नं ६ बुडीचौर । डबाक चिदाङ घोराहीगा साआन । चियी डबाक २० बस अनि) ।

केही वर्ष पहिलेसम्म आफ्नो मातृभाषा छुट्टै छ भन्ने कुराको जानकारी समेत नपाएकी हिमा कुसुन्डा अहिले भने कुसुन्डा भाषाबाटै यसरी आफ्नो परिचय दिने गर्छिन् । उनले आफ्नो परिचय मात्र नभएर आप्mनो मातृभाषाबाट सामान्य सम्वाद समेत गर्छिन् ।

प्युठानको सरुमारानी गाउँपालिका वडा नं. ६ की हिमा पढाइको सिलसिलामा दाङको घोराहीमा बस्दै आएकी छिन् । भाषा आयोगले लोप हुने अवस्थामा रहेको कुसुन्डा भाषा पुस्तान्तरण गर्न दाङमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसमा हिमाको नाम पनि समेटियो । उनी कक्षामा सहभागी भएर अहिले मातृभाषामा बोल्न, दोहोरो सम्वाद गर्न थालेकी हुन् । उनी भन्छिन्, ‘मैले सिकेको भाषा अहिले आफ्नै अभिभावकलाई पनि सिकाउँदै आएको छु ।’

आफुभन्दा सानी बहिनीले घरमा आएको समयमा आफूहरूलाई कुसुन्डा भाषा सिकाउँदा अत्यन्त गर्व महसुस हुने गरेको हिमाका दाई सुरेश कुसुन्डा बताउँछन् । ‘स्कुल बिदाको समयमा घरमा आएर बहिनीले हामीलाई घरपरिवारमा बोलिने सामान्य नमस्कार (सोजाक), खाउ (काजीतमा) लगायतका शब्द उच्चारण गर्न सिकाउँछिन्, मलाई त कुसुन्डा भाषा अरु सिक्न पाए हुन्थ्यो जस्तो लाग्छ’, सुरेशले बताए ।

दाङमा भाषा आयोले कुसुन्डा भाषा पुस्तान्तरण गर्ने उद्देश्यले २०७५ सालदेखि कुसुन्डा भाषाको पढाइ सञ्चालन गरेको थियो । सुरुको वर्ष कुसुन्डा भाषाका जानकार ज्ञानीमाया सेन कुसुन्डाको लमही घरमा कुसुन्डा भाषाको पढाइ भएको थियो । त्यसको एक वर्षमा ज्ञानीमायाको निधन भयो । उनको निधनसँगै कोरोना भाइरसका कारण एक वर्षको पढाइ रोकियो । त्यसपछि दोस्रो, तेस्रो र चौथो वर्ष महेन्द्र माध्यमिक विद्यालय धर्नामा पढाइ सञ्चालन गरिएको कुसुुन्डा भाषाका शिक्षक उदय आलेले बताए ।

भाषा आयोगले कुसुन्डा भाषाका विषयमा जानकारी नै नभएका बालबालिकालाई भाषा पुस्तान्तरण गर्न कुसुन्डा मातृभाषा कक्षा सञ्चालन गरेको बताउँदै आलेले चार चरणको कक्षा सञ्चालन भइसकेपछि विद्यार्थी कुसुन्डा भाषा बोल्न सक्ने भएको बताए । उनले भने, ‘अहिले विद्यार्थीहरू कुसुन्डा भाषाबाटै आफ्नो परिचय दिन सक्ने, प्रश्नोत्तर गर्न सक्ने भएका छन् ।’

लोप हुने अवस्थामा रहेका भाषा पुस्तान्तरण गर्ने उद्देश्यले सञ्चालन गरिएको कक्षामा भाषा आयोग र उदय आलले मिलेर पाठ्यक्रम तयार गरेका थिए । पाठ्यपुस्तक प्रकाशण भने भएको छैन । दोस्रो र तेस्रो चरणको पाठ्य सामग्रीको खाका बनाएर त्यही अनुसार कक्षा सञ्चालन गरेको आलेको भनाइ छ ।

‘चौथो चरणको पाठ्य सामग्रीमा दैनिक जीवनमा प्रयोग हुने, नाता सम्बन्ध, जनावर, बालीनाली, बोटविरुवालाई कुसुन्डा भाषामा के भन्छन् ? भन्ने शब्दहरू समेटिएको छ’, उनले भने, ‘विद्यार्थीलाई बोल्न सहज हुने खालको व्याकरणलाई जोड दिएर पठनपाठन हुँदै आएको छ, यसमा कथा, कविता, निबन्ध, सम्वादका नमुना पनि तयार गरिएको छ ।’ चार वर्षको अवधिमा कुसुन्डा बाहेक गैरकुसुन्डाका चार जना विद्यार्थी पनि कक्षामा सहभागी भएका थिए । उनीहरू पनि कुसुन्डा भाषा बोल्न, लेख्न सक्ने भएको उनको भनाइ छ ।

थारु भाषा बोल्ने विद्यार्थीलाई लेख्न सकस

देउखुरीका उमेश चौधरी कक्षा १ देखि शंकर माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका छन् । अहिले उनी कक्षा १२ मा अध्ययन गरिरहेका छन् । विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भएपछि उनको विद्यालयमा स्थानीय पुस्तक थारु भाषामा छापियो । उनी कक्षा ३ देखि थारु भाषाको किताब पढ्न सुरु गरे तर विद्यालयमा थारु भाषाको पढाइ सुरु भएसँगै लेख्न असहज भएको बताउँछन् ।

‘थारु भाषाको किताब पढ्न सजिलो भए पनि थारु भाषामा लेख्न निकै कठिन छ’, उनले भने, ‘नेपाली भाषा पढिरहेको मान्छेलाई थारु भाषाको किताब पढ्ने र लेख्ने क्रममा धेरै अलमलमा पर्छौँ ।’ सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत भगमणि चौधरीको समस्या पनि उस्तै छ ।

थारु भाषाको किताब शिक्षकले पढाएको राम्रोसँग बुझे पनि थारु भाषामा लेख्न धेरै समस्या हुने गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘आफ्नै मातृभाषाको पाठ्यपुस्तक पढ्न पाउँदा खुसी छौँ तर सुरुदेखि नेपाली भाषा लेख्ने बानी परेर थारु भाषामा पढ्न भन्दा लेख्न अप्ठेरो लाग्छ ।’

शंकर माध्यामिक विद्यालयमा २०६० सालदेखि थारु भाषाको पढाइ हुँदै आएको छ । थारु भाषामा पढाइ भए पनि विगत २ वर्षदेखि त्यसलाई नेपालीमा अनुवाद गरेर पढाउन थालिएको प्रधानाध्यापक सुवर्णमान चौधरीले जानकारी दिए । विद्यालयमा थारु भाषा बोल्ने ९० प्रतिशत विद्यार्थी अध्ययनरत छन् ।

शिक्षा ऐनमा पनि ६० प्रतिशत विद्यार्थी एउटै भाषाको बोल्ने बाहुल्यता भएको खण्डमा उसकै भाषामा पढाइ हुने भनिएको छ तर विद्यालयमा अन्य समुदायका विद्यार्थी पनि अध्ययन गर्ने भएकाले त्यसलाई एकरूपता गराउन पालिका, वडा कार्यालयको समन्वयमा २ वर्षदेखि थारु भाषाको पढाइ नेपालीमा पनि अनुवाद गरेर पढाउँदै आएको प्रअ चौधरीको भनाइ छ ।

राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विकले पनि धेरैजसो विद्यार्थीले थारु भाषा पढ्न सहज भए पनि लेख्न कठिन भएको गुनासो गरेपछि थारु भाषालाई नेपालीमा अनुवाद गरेर बढाउन थालिएको बताए । थारु समुदायको बालबालिका उक्त विद्यालयमा धेरै पढ्ने भएकाले केही नबुझेको कुरा थारुबाट समेत बुझाइने गरेको उनको भनाइ छ ।

घोराहीमा पनि थारुभाषाको पढाइ हुँदै

दाङकै घोराही उपमहानगरपालिकाले पनि एउटा विद्यालयमा थारु भाषाको पढाइ सञ्चान गर्ने तयारीमा छ । पहिलो चरणमा घोराही उपमहानगरपालिका वडा नम्बर ३ बेलुवामा रहेको रात्री प्राथमिक विद्यालयमा थारु भाषाको पढाइ सुरु गर्न थालेको हो । अहिले थारु भाषाको किताब (हमार थारु भाषा) विद्यालयमा आइसकेको शिक्षक लक्ष्मीमान चौधरीले बताए ।

‘कक्षा १मा पढाइ हुने उक्त विषय तत्काल सुरु गर्ने तयारी गरेका छौँ’, शिक्षक चौधरीले भने, ‘पढाइ सुरु गर्नुभन्दा पहिले विद्यार्थीलाई किताब वितरण गरेका छौँ, किताबमा विद्यार्थीको स्तर हेरेर सरल थारु भाषा, चित्रहरू, समावेश गरिएकाले त्यो हेरेर विद्यार्थी खुसी पनि भएका छन् ।’ अहिले कक्षा १ को मात्रै पाठ्य पुस्तक बनाएको र प्रत्येक वर्ष अन्य कक्षामा पनि थारु भाषाको किताब पढाइ हुने उनको भनाइ छ । मातृभाषाबाट पढाइ भएसँगै विद्यार्थीलाई बोल्न सहज हुने र छिटो बुझ्ने शिक्षक चौधरीले बताए ।

घोराही उपमहानगरपालिका शिक्षा शाखा प्रमुख नारायणप्रसाद पौडेल सानै उमेरदेखि बालबालिकाले आफ्नै मातृभाषामा अध्ययन गर्दा सहज होस् भन्ने उदेश्यले रात्री प्राथमिक विद्यालयमा थारु भाषाको पढाइ सुरु गरेको बताए । ‘बालबालिका आमाबुवा अथवा घरका अन्य सदस्यबाट आफ्नो मातृभाषा बोल्न सिकेका हुन्छन्’, पौडेलले भने, ‘त्यही भाषाबाट विद्यालयमा पनि पढ्न सिकाउँदा बुझ्न अझ बढी सहज हुन्छ ।’

बालबालिकालाई बढाउनु भन्दा पनि सिकाउनु ठुलो कुरा रहेको बताउँदै उनले मातृ भाषाबाट सिकाउँदा राम्रो हुने भएकाले सानो कक्षादेखि मातृ भाषाको पढाइ सुरु गरेको बताए । मातृभाषाको पाठ्क्रम निर्माण र पाठ्यपुस्तक छपाइको लागि उपमहानगरपालिकाले २ लाख रूपैयाँ छुट्याएको उनले जानकारी दिए ।

नमुनाको लागि एउटा विद्यालयमा थारुभाषा

घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले नमुनाको लागि अहिले एउटा विद्यालयमा मात्रै थारु भाषाको पढाइ सुरु गर्न लागेको बताउँछन् । ‘सबै विद्यालयमा मातृभाषा सुरु गरेर कार्यान्वयन नहुनुभन्दा एउटा विद्यालयमा परीक्षणका लागि सुरु गर्दै छौँ’, उनले भने, ‘यो थारु भाषाले अरु विद्यार्थीलाई पारेको प्रभाव हेरेर अन्य विद्यालयमा पनि सुरु गर्ने योजना छ ।’ यो वर्ष कक्षा १ मा मात्रै थारु भाषाको पढाइ भए पनि छिट्टै कक्षा ५ सम्म मातृभाषा पढाउने लक्ष्य रहेको उनकोे भनाइ छ ।

मातृभाषाको उपलब्धिको सीमा नै नरहेको उनले बताए । बालबालिकाले मातृ भाषामा पढ्न पाउने हक रहेको बताउँदै’, उनले भने, ‘जन्मेदेखि बोल्ने, बुझ्ने बाच्नको लागि प्रयोग गर्ने भाषा भनेकै मातृभाषा हो, त्यही भाषामा अध्ययन गर्न पाए त्यसले छिटो सिक्नुका साथै सही तरिकाले बुझ्न सक्छन् ।’

अरु भाषामा पढ्दा विद्यार्थी कमजोर हुने सम्भावना बढी हुने र दाङमा थारु भाषा बोल्ने विद्यार्थी धेरै भएकाले मातृभाषा विद्यार्थीको सिकाइको पहिलो आधार भएको महसुस गरेर घोराही उपमहानगरपालिकाले मातृभाषाको पढाइ अगाडि बढाएको नगर प्रमुख चौधरीले बताए ।

गैरथारु समुदायका बालबालिकाले पनि थारु भाषा सिकेमा उनीहरूको जीवनमा राम्रो हुने उनको भनाइ छ । अहिले थारु भाषाबाहेक उपमहानगरपालिकाले कुसुन्डा भाषा, मगर भाषा संरक्षण गर्न विगतदेखि नै काम गर्दै आएको नगर प्रमुख चौधरीले जानकारी दिए ।