मेरो खुशी : विदेशी भूमिमा प्राप्त त्यो स्वर्ण …

खेलप्रतिको निरन्तरको मिहिनेत, लगाव र प्रशिक्षण लिइरहेका सन्तोष बुढा मगर छोटो समयमै राम्रो सफलता प्राप्त गर्ने आइटिएफ तेक्वान्दोका आशा लाग्दा युवा खेलाडी हुन् । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ६ बचेनी निवासी १६ वर्षीय मगरले चार वर्षको अवधिमा करिब दुई दर्जन बढी मेडल जित्न सफल भएका छन् ।
जिल्ला स्तरीयदेखि अन्तर्राष्ट्रियस्तरका प्रतियोगितासम्म खेलेका मगरले भर्खरै भारतको हैदराबादमा सम्पन्न सातौँ दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियन–२०२३ मा स्वर्ण पदक जित्दाको क्षण आफ्नो जीवनको सबैभन्दा ठुलो खुसीको क्षण भएको बताउँछन् । मगरले उक्त प्रतियोगितामा एक स्वर्णसहित तीन पदक प्राप्त गरेका थिए । १५ देखि २० वर्ष उमेर समूहमा प्रतिस्पर्धा गरेका मगरले पहिलो पटक अन्तर्राष्ट्रिय भूमिमा स्वर्ण पदक जित्दाको क्षण आफू धेरै खुसीको भएको बताउँछन् ।
‘चार वर्षको अवधिमा डेढ दर्जन बढी प्रतियोगितामा सहभागी भएँ, तीमध्येका धेरै प्रतियोगितामा स्वर्ण पदक जित्न पनि सफल भएको छुँ’, खेलाडी मगरले भने, ‘खेलमा प्रतिस्पर्धा गरेर पदक जित्दा खुसी नलाग्ने कुरै भएन तर त्यसमध्येमा मलाई सबैभन्दा धेरै खुसी लागेको क्षण भनेको भर्खरै भारतको हैदराबादमा सम्पन्न भएको साताँै दक्षिण एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्दाको क्षण हो, जुन क्षण मेरो लक्ष्य देशका लागि पदक जित्नु थियो, त्यो लक्ष्य पूरा गर्न सफल हुँदा धेरै खुसी लागेको थियो ।’
प्रतियोगितामा सुरुमा बंगलादेश, अफ्गानस्तान र भारतका खेलाडीसँग प्रतिस्पर्धा गरेका मगरले तीनै देशका खेलाडीलाई हराउँदै एकल फाइटमा स्वर्ण, एकल प्याटनमा रजत र ग्रुप फाइटमा कास्य पदक प्राप्त गर्न सफल भएका थिए । पहिलो पटक देशभन्दा बाहिर प्राप्त गरेको सफलताले उनलाई चिनाउने काम मात्रै गरेन आफ्नै जन्मभूमि, बंगलाचुलीमा पहिलो पटक सबैभन्दा ठुलो पुरस्कारले सम्मानित हुने अवसर समेत प्राप्त गरेको उनी बताउँछन् ।
‘खेल क्षेत्रमा लागेपछि जिल्ला, प्रदेश र राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागी हुने र पदक पनि जित्दै आएको थिएँ तर कसैको नजर पर्न सकेको थिएन’, खेलाडी मगरले भने, ‘यस पटकको प्रतियोगिताले मलाई पदक मात्रै दिलाएन, आफ्नै ठाउँमा खेलमा राम्रो गरेको भनेर सम्मानित हुने अवसर समेत प्राप्त गरायो । जुन क्षण मेरो अर्को खुसीको क्षण हो ।’ खेलकुद क्षेत्रमा लागेर केही छैन भन्नेका लागि यो राम्रो सकारात्मक सन्देश समेत हो । स्वर्ण पदक विजेता मगरलाई बंगलाचुली गाउँपालिकाले नगद ५० हजार रूपैयाँसहित एक कार्यक्रमको आयोजना गरेर सम्मानित गरेको थियो ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण सन्तोषका बुवा रोजगारीका क्रममा भारत काम गर्न जाने गरेका थिए । त्यही क्रममा उनका बुवाले भारतमा तेक्वादो, बक्सिङलगायतका खेल सिकेका थिए । सोही क्रममा उनी घर फर्किँदा खेल सिक्दा लगाउने कपडा पनि ल्याएर आएका रहेछन् ।
सधैँ टिभी वा मोबाइलमा हेर्ने गरेका सेता कपडा लगाएर खेल्ने खेलाडी घरमै बुवाले ल्याएर आएपछि उनलाई खेल क्षेत्रमा अघि बढ्न प्रेरित गरेको उनी बताउँछन् । खेल सिक्न र खेल्ने रहर भए पनि भौगोलिक विकटताका कारण उनले बंगलाचुलीमा बस्दासम्म खेल सिक्ने अवसर प्राप्त गरेका थिएनन् तर उच्च शिक्षा अध्ययनका लागि घोराही झरेसँगै उनलाई खेल सिक्ने अवसर समेत प्राप्त भएको उनी बताउँछन् ।
‘टिभी तथा मोबाइलमा खेलेको हेर्ने गरे पनि नजिकबाट देख्ने अवसर प्राप्त गरेको थिएनँ’, उनले भने, ‘बुवाले घरमै खेलाडीले लगाउने कपडा ल्याएपछि झन मलाई खेल क्षेत्रमा अघि बढ्न प्रेरित गरेको हो, त्यही कपडाले मलाई अघि बढ्न हौसला प्रदान समेत गरेको जस्तो लाग्छ ।’ आत्मसुरक्षासम्बन्धी खेल क्षेत्रमा अघि बढ्न रुचि भए पनि बंगलाचुलीमा खेल सिकाउने ठाउँ र प्रशिक्षक नहुँदा उनले सिक्न पाएका थिएनन् । पढ्नका लागि घोराही झरेसँगै तेक्वान्दो खेल सिक्ने समेत अवसर प्राप्त गरेको उनी बताउँछन् ।
गाउँमा हुँदा टिभी तथा मोबाइलमा भिडियो हेरेर कसरी किक, बक्सिङ हान्ने भनेर हेरेर सिक्ने गरेका मगरलाई घोराही झरेपछि दाङ आइटिएफ तेक्वादो सङ्घका अध्यक्ष समेत रहेका प्रशिक्षक भीमबहादुर थापासँग नजिक हुने अवसर प्राप्त गरे । थापासँग भरतपुरमै खेलसम्बन्धी प्रशिक्षण लिन थालेपछि मगरले छोटो समयमै राम्रो क्षमता विकाससँगै विभिन्न प्रतियोगितामा पदक समेत जित्न थालेको बताउँछन् ।
आइटिएफ तेक्वान्दो खेलका माध्यमबाट ‘द वल्र्ड च्याम्पियन’मा सहभागी भएर पदक जित्ने महत्वाकाङ्क्षी लक्ष्यका साथ अघि बढिरहेका खेलाडी मगरले जिल्लामा फुटवल, क्रिकेटलगायतका खेलका लागि राज्यले लगानी गर्ने भए पनि हरेक व्यक्तिको आत्म सुरक्षाका लागि जोडिएका इनडोर खेलको विकासका लागि ध्यान दिन नसकेको बताउँछन् ।
क्रिकेट, फुटबल, भलिबललगायतका खेल जस्तै इनडोर खेलको विकासका लागि पनि स्थानीय सरकारले ध्यान दिन आफूजस्ता युवा खेलाडीले खेलका माध्यमबाट जिल्लाको नामसँगै पदक भित्राउन सकिने क्षमता रहेको उनको भनाइ छ तर यस्ता खेललाई सरकारले हेर्न नसकेको उनी बताउँछन् ।भरतपुर आइटिएफ तेक्वान्दो डोजाङमा आबद्ध भएर विगत चार वर्षदेखि आइटिएफ तेक्वान्दोमा भविष्य खोजिरहेका मगरले गत वर्ष गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आइटिएफ तेक्वान्दोतर्फ कास्य पदक जितेका थिए ।
जिल्ला हुँदै लुम्बिनी प्रदेशबाट छनोटमा परेर प्रतियोगितामा सहभागी भएका खेलाडी मगरले पहिलो पटक सरकारले आयोजना गरेको प्रतियोगितामा सहभागी बनेर पदक जित्दाको त्यो क्षणलाई पनि खुसीको क्षणका रूपमा लिने गर्दछन् । सानै उमेरमा खेल क्षेत्रमा लागेका मगरले आत्मसुरक्षाका लागि समेत हरेक युवा तथा युवतीका लागि तेक्वान्दो खेल आवश्यक रहेको बताउँछन् । २०६४ साल साउनको ९ गते बंगलाचुली गाउँपालिका वडा नं. ६ को बचेनीमा बुवा नेमबहादुर बुढा मगर र आमा भुमरी बुढा मगरको कोखबाट माइलो सन्तानका रूपमा जन्म लिएका थिए । उनका एक दाजु र एक बहिनी छन् ।
बंगलाचुली गाउँपालिकामा रहेको हिलटप बोर्डिङ स्कुलमा नर्सरीदेखि १ कक्षासम्म अध्ययन गरेका उनले कक्षा ५ सम्म वडा नं. ६ कै दाङबाङमा रहेको निम्न माध्यामिक विद्यालयमा अध्ययन गरेका थिए । उक्त विद्यालयबाट ५ कक्षा पासपछि घोराही उपमहानगरपालिका वडा नं. १५ अन्तर्गत पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालय भरतपुरमा अध्ययन गरेका थापाले एसइई भने गत वर्ष रुकुमको सितल माध्यमिक विद्यालय चौरजहारीबाट गरेका थिए । पद्मोदय नमुना माध्यामिक विद्यालयमै शिक्षा सङ्काय लिएर ११ कक्षामा अध्ययनरत छन् ।
प्रस्तुती : लीलाधर वली