डायरी : चारलेन, साम्पाङ र बालेन
खेमराज रिजाल
दाङ, ११ भदौ । ‘आज केही समाचार छैनन् ?’ सहकर्मी लीलाधर वलीले भनिरहेको सम्झना छ । दिउँसो एकैछिन् कार्यालय छिर्दा समाचारको खडेरी लीलाले बताइरहँदा मेरो डायरीमा अनगिन्ति समाचार छन् । कुनै समाचारलाई लेख्न समय जुर्नु पर्छ त कुनै समाचार लेखेर पनि राज्यले कानमा तेल हालेर बस्छ । कुनै समाचार स्रोतले नलेख्न पनि आग्रह गर्छन् भने नलेख्न आग्रह गरिएका समाचार पनि थुप्रै छन् ।
तर अहिलेको दाङ जिल्लाको मुख्य समाचार चारलेन सडकको हो । धरानको समाचार हर्क साम्पाङको अनि राजधानीको समाचार काठमाडौं उपमहानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)को हो । उनलाई तेली साह भन्छन्, यसैले सरकारलाई पेलेर तेल निकालिरहेका छन् । अवैध अतिक्रमण हटाइरहेका छन् । सम्भवतः उनको पाँचवर्षे कार्यकालको पहिलो वर्ष अतिक्रमण भत्काएर राजधानीलाई सुन्दर बनाउने हुनेछ । दोस्रो वर्ष उनले पुनःनिर्माणको अभियानमा लाग्ने छन् ।
जहाँ जे आवश्यक छ त्यहाँ त्यहीको व्यवसाय बालेनको प्रण हो । उनको प्रण उपमहानगरपालिकाको वार्षिक क्लालेण्डरमै छ । बोल्दैनन्, बालेन गर्छन्, त्यसैले त पूरै दुनिया बालेनको बिरुद्ध औँला उठाउन सकेको छैन । राप्रपाको अनाधिकृत रूपमा निर्माण गरिएको कार्यालयमा डोजर लगाएर भत्काउने अभियानमा राप्रपाका केही नेताले विरोध गरेको बाहेक बालेनको विरोध छैन । यसले के देखाउँछ भने मुलुकले राजधानीमा मात्रै होइन ७७ जिल्लामै बालेन जस्तै नेतृत्व खोजिरहेको छ ।
त्यसो त धरानमा स्वतन्त्रबाट निर्वाचित भएका हर्क साम्पाङको पनि कम्ति चर्चा भएन । बालेन बोलेनन्, हर्का बोलिरहे, नाचिरहे अनि गीत गाइरहे । गीत गाउँदै गर्दा उनले गोरुको मासु खान पनि नगरबासीलाइ निर्देश गरे । मन्दिरको गेट नजिकै चर्च बनाउन स्वीकृति दिए । धार्मिक स्वतन्त्रताभन्दा पनि क्रिश्चियानिटीको ठाडो हस्तक्षेपलाई उनले अङ्गीकार गरे । त्यसैले धरान केही दिनदेखि अशान्त छ । त्यसको कारण त्यहीँकै मेयर हर्क साम्पाङ । सायद बालेन फेरि उदाउलान्, हर्कको यो पहिलो र अन्तिम जनप्रतिनिधिको भूमिकाको अवसर हो । जनप्रतिनिधि हुनुको अर्थ उनले बुझेनन्, धरान जस्तो स्थानमा मेयर बनेका उनले राष्ट्रिय राजनीति बुझेनन्, नेपाली जनताको मर्म बुझेनन् ।
नेपालको संविधानले धर्म निरपेक्षतालाई स्वीकार गरेको छ । सबै धर्मावलम्बिलाई आफ्नो संस्कार र संस्कृतिमा कुनै अवरोध गरेको छैन । नेपालमा ८५ प्रतिशत हिन्दु धर्मावलम्बि हुँदा पनि धर्म निरपेक्षतालाई संविधानले अङ्गीकार गरिरहेको अवस्थामा धार्मिक अतिवाद सुरु भएको छ, जुन हर्कले सुरुआत गरे । बहुसङ्ख्यक नेपालीको मानमर्दन गरे अनि गोरुको मासुलाई प्रोत्साहन गरे ।
हिन्दु मन्दिरको नजिकै चर्च बनाउन स्वीकृति दिए । साम्पाङ धर्मगुरु मात्रै भएको भए त्यो निर्णय र त्यो अभियान सार्थक र सामान्य हुन्थ्यो तर हर्क स्थानीय सरकारका प्रमुख हुन् । नेपाली जनताका प्रतिनिधि हुन् न कि उनी क्रिश्चियनका धर्मगुरु होइनन् । यही कारण धरान केही दिन तनावग्रस्त बन्यो । एउटा नगर प्रमुखको अभिव्यक्तिका कारण नगर यति दिनसम्म आगोमा जल्ने अवस्था आउँछ भने त्यो कहिल्यै फेरि जनप्रतिनिधि बन्न सक्दैन ।
अन्तका कुरा छाडौँ । चारलेन सडकले यहाँका एक जना होनहार नेतालाई बगायो । उनको राजनीतिक यात्रामा ब्रेक लगायो । छोरा ठेकेदार बाउ जनप्रतिनिधि । त्यसमा पनि बाउको भूमिका छोरालाई ठेक्का दिलाउनुमै केन्द्रित रह्यो । यही अभियानमा साथ दिए तत्कालीन मुख्यमन्त्रीले पनि । ठेक्का जोगाउन माधव खेमाका ती नेताले ओली खेमा रोजे । फेरि प्रदेश सभा सदस्यका उम्मेदवार बने तर हारको प्रमुख कारण थियो, चारलेन ।
चारलेनका नाममा सडक भत्काउन सुरु भएयता दुई दर्जन बढीले यही सडकमा दुर्घटना परेर ज्यान गएका छन् । चारलेन बनाउने भनिएको सडक अहिले सिङ्गल लेन पनि मुस्किलले चलेको छ । चारलेनको पहिलेको ठेक्का रद्द भएको छ । नयाँ ठेक्काका लागि फेरि डिपिआर सुरु भएको छ तर यस अघि ठेक्का सम्झौता भएको भनिएको खाल्टा पुर्ने काम भने अझै सुरु भएको छैन । साउन पहिलो सातादेखि काम सुरु हुने र असोज मसान्तसम्म साविकको सडकलाई ज्युँका त्युँ बनाउने भनिएको थियो ।
तर ठेकेदार खोइ ? यहाँका राजनेता कहाँ छन् ? सडक विभागले ठेक्का लगायो तर काम लगाउन किन सकेन ? यी प्रश्न अनुत्तरित छन् । किनकि यो मुलुकलाई ठेकेदारले चलाइरहेका छन् । ठेकेदारले नेताको मुखमा बुझो लगाइदिन्छन् । ठेकेदारले विषयगत कार्यालयलाई अनाधिकृत कमिशन दिन्छन् अनि ठेकेदारले जे गरे पनि भयो ।
ठेकेदारविरुद्ध कसैले आवाज उठाउने अवस्था छैन । किनकि ठेकेदारलाई कारबाही गर्ने नैतिक हैसियत सरकार र सरकारी कार्यालयसँग छैन । त्यही कारण घोराही–तुलसीपुर यातायात सेवाले यहाँको प्रशासनको हैसियत सुझाएको छ ।यहाँका राजनेताको हैसियत सुझाएको छ अनि विषयगत कार्यालयको हैसियत सुझाएको छ । समाचार त धेरै लेखिएका छन् तर समाचारको कुनै रेस्पोन्स भएको छैन । किनकि मुलुक आफ्नै रफ्तारमा चलिरहेको छ । मुलुकलाई समाचारको रेस्पोन्स गर्ने फुर्सद छैन । किनकि समाचारको रेस्पोन्समा कुनै आर्थिक लाभ छैन ।