Goraksha

National Daily

कथा : नासो  

गुरुप्रसाद शर्मा रेग्मी
सरिकोटका हरिप्रसाद बाजे सरकारको मुखिया पदमा जागिर खाएका थिए । उनी मुखिया बाजेको नामले नै चर्चित भएकाले उनको बेलाउने नाम नै मुखिया बाजे रहेको थियो । पढेलेखेको र जागिर पनि खाएकाले दाजुभाइभन्दा उनको घरगृहस्थिको स्तरीयता बढ्दै गएको थियो । उनको विवाह पनि घरघराना र सुशील कन्या लक्ष्मीसँग भएकाले घरमा लक्ष्मीको बास भए जस्तो थियो ।
लक्ष्मीले समयमा छोरालाई जन्म दिएर मुखिया बाजेको काखमा मेरो नासो भनेर राखिदिएपछि मुखिया बाजेले खुसी र आनन्द बाँड्न घरमा आउने गाउँले, इष्टमित्र सबैलाई दिल खोलेर सम्मान र सन्तुष्ट पारेका थिए । मुखिया बाजेको छोरा ताराप्रसाद भर्खर १२ वर्षको भएको थियो । लक्ष्मीलाई एकाएक आएको नयाँ रोगले समातेर थला मात्र पारेन पर्याप्त औषधी उपचार गर्दा पनि केही लागेन । सबैलाई रुवाउँदै यस धरतीबाट नै जानुप¥यो । घरको बत्ती नै बुतेकाले घर अँध्यारो भएको थियो । मुखिया बाजेको आमा भएकीले चुकाको आगो बुत्न पाएन । जसरी–तसरी मुखियाबाजेका आफ्ना छोराले घरगृहस्थि चलाएका थिए ।
गाउँघरका इष्टमित्रसँग साथीले गृहस्थि चलाउन विवाह गर्नुपर्छ भनेर चारै तिरबाट दबाब आइरहेको थियो । उमेरले डाँडो नकाटेको र सम्पन्नता भएकाले मुखियाबाजेलाई कन्या केटी दिन पनि तयार नै थिए तर मुखियाबाजेको एउटै भनाइ थियो । यो छोरा लक्ष्मीले मलाई दिएको नासो हो । यसैको सहारामा म बस्छु । अर्को विवाह गर्दैन सबैलाई जवाफ दिएका थिए । मुखियाबाजेले जागिर खाने र आमाले चुलाको आगो बालिदिने गरेर छोरा ताराप्रसादलाई पढाएर, लेखाएर दक्ष र योग्य बनाउने उद्देश्यमा सङ्कल्पित भएका थिए ।
मुखियाबाजे आफ्नो सङ्कल्प पूरा गर्न सफल भए । छोरा इन्जिनिएर भएर सरकारी जागिर खान लागेको थियो । बावुछोरा दुवै जागिर खाने भएकाले छोराको विवाहको लागि कुरा आउन थाल्यो । मुखियाबाजेकी आमाको पनि स्वर्गबास भएकाले चुलोमा आगो बाल्ने एउटी सहायिका राखेर काम चलाउन परेको थियो । त्यसैले छोराको विवाह गर्नु हतार भएकाले छोरासँग सरसल्लाह गरी केटाकेटीको भेट गर्ने व्यवस्था मिलाइदिएका थिए । त्यसैले विवाह पनि भयो । घरमा बुहारी भित्रिएदेखि नयाँ रौनक आउन थाल्यो । बुहारी सीता आमा र श्रीमतीको प्रतीक बनेर घरगृहस्थिमा रमेको र सबैलाई रमाएको देख्दा मुखियाबाजेका बावुछोरा नै आनन्दित हुन गएका थिए ।
उमेरको वृद्धले जागिरबाट अवकाश लिनप¥यो । घरमा बस्नुप¥यो । घरमा बसेपछि छोराबुहारीलाई अर्ति, उपदेश दिने आफ्नो अनुभव र अनुभूतिलाई सुनाउने प्रवृत्ति र प्रकृति बुहारीहरुको लागि बोझ जस्तो अनुभव हुन थालेपछि बुहारीको व्यवहारमा टीकाटिप्पणी गरेका थिएनन् । दैव नै प्रतिकूल भएपछि कसको के लाग्छ भनेर कुनै प्रतिक्रिया देखाएका थिएनन् ।
एकदिन साँझ मुखियाबाजेले बुहारी खै मलाई औषधी खानलाई दुध दिएको । बुवा औषधी त पानीले खाए पनि हुन्छ । कहीँ आउन जान पर्दैन । घरमै बसिरहनु हुन्छ । किन दुध खानुप¥यो । बाथरुमबाट निस्कन लागेको छोराले बावुलाई भनेको यो कुरा सुन्यो । केही प्रतिक्रिया देखाएन । अर्को दिन पुनः बाथरुमबाट निस्कन लागेको थियो । भात खान लागेका बुवाले दही माग्दा आज घरमा दही छैन भनेको सुन्यो । आफू भात खान जाँदा कटौराभरि दहि दिएको देख्दा आक्रोशित भएर दही नै नखाएर हिडेको देख्दा आज बुढालाई के भयो भनेर सोच्न थाली ।
कसैलाई केही थाहा नै नदिएर सबै व्यवस्था गरेर एकदिन बावुलाई भन्यो । बाबा राम्रा लुगा लगाएर तयार भएर बस्नुस् भनेर आफू पनि तयार हुन गयो । बावु, मलाई कहाँ लग्न लागेको हो भन्दा अदालत लग्न लागेको छु । कि अदालत जानुप¥यो । आज मैले तपाईँको विवाह गराइ दिन लागेको छु बावु तैले यो के भन्दै छस् ? तँ मेरी लक्ष्मीको नासो भएकाले आजसम्म विवाह गरिन अहिले यो बुढेसकालमा विवाह गराइदिएर सौतेनी आमा ल्याउन खोजेको छस् ? भोलि परिवारको स्थिति के होला ? अरुले के भन्लान् ?
बुवा ! मैले तपाईँको विवाह गराइदिन लागेको पनि छैन । मैले सौतेनी आमा ल्याउन लागेको पनि छैन । यो त तपाईको लागि दुध र दहीको व्यवस्था गरिदिएको हँु । आफ्ना देवता स्वयम् सासुससुरालाई उपेक्षा गर्ने र अपमान गर्ने बुहारीहरुको लागि सशक्त पाठ मात्र हो । अदालतमा बावुको विवाह गराइदिए माला लगाएका बुवा र नयाँ आमालाई लिएर घरमा गयो । घरमा गएर श्रीमतीलाई भन्यो । सीता यो घर बा को हो । बाले विवाह गर्नुभएको छ । त्यसैले अब हामी यहाँ बस्न सक्दैनौँ, मैले डेरा खोजेर तयार पारेको छु ।
तिमीले आफ्नो सामानहरु प्याक गर अहिले नै जाने हो भनेपछि यो के गर्नुभयो बुवा ! भनेर बुहारीले सोधेपछि, बुवा बोल्नुभन्दा पहिले छोरोले भन्यो जुन बावुले आफ्नो पूरै जीवन मेरो लागि अर्पण गर्नुभयो । लक्ष्मीको नासो नै मेरो आश भनेर अर्को विवाह गर्नुभएन । पढाइ, लेखाइ, उच्च पदमा पु¥याएर मेरो जीवन नै सुखद् बनाइ दिनुभयो । यतिबेला पनि आफ्नै सम्पत्ति र पेन्सनमा बस्न सक्नुहुन्छ । त्यस्तो व्यक्तिलाई बुहारीको दुध र दहीको लागि कटु वचन बोल्ने अधिकार हुँदैन । बावुआमा जस्ता जिउँदा देवताहरुको उपेक्षा र अपमान गर्दा के देख्नु र भोग्नु पर्दोरहेछ ?
अहिले बावुआमालाई जेजस्तो व्यवहार गर्दछ, उपेक्षा र अपमान गर्दछ, त्यो सबै कुरा छोराछोरीले देखिरहेका हुन्छन् । भोलि तिनले आफूलाई त्यही व्यवहार गर्दा कस्तो होला ? भन्ने नजीर देखाउन यो नाटक गर्नुपरेको हो । मैले मेरो गल्ती स्वीर्काछु, आज मलाई मेरो श्रीमान्ले नयाँ जन्म दिनुभएको छ । आफूले जस्तो कर्म ग¥यो त्यही आफूलाई फर्किन्छ भन्ने तीतो–सत्य हो । त्यसैले कसैको पनि बावुआमाको सेवा, सम्मान गर्ने हो भने भोलि त्यही पाउन सकिन्छ भन्ने कुरा कसैले पनि बिर्सनु हुँदैन ।