के बच्चालाई गर्मी हुँदैन ?

  •   
  •  

कुलराज पोख्रेल
बाहिर चरक्क पोल्ने घाम । ३८ डिग्रीसेल्सियस भन्दामाथि तातेको वातावरणले उकुस मुकुस बनाईरहेको छ । घरभित्र बसौँ, रापको तापले निस्सासिनुपर्छ । पंखाको हावाले गर्मी छिचोल्नै सक्दैन । पंखाको मुनी पसिना पुछ्दै बस्नु पर्दाको असहजता मैले मात्रै हैन, सबैले महशुस गरेकै हुनुपर्छ ।

उखरमाउलो गर्मी छिचोल्न मैले अनेकन उपाय अपनाईरहनुपर्छ । बेस्सरी तातेको बाहिरी वातावरणबाट आफुलाई कसरी जोगाउने भनेर सोच्ने मैले मेरो ७ बर्षीय छोराले सहनु परेको गर्मीको पीडालाई भने टुलुटुलु हेरेर बसिरहनु परेको छ । ७÷८ किलो तौलको स्कुल ब्याग बोकेर उ बिहान स्कुल जान्छ । उसको अनुहार पसिनाले पुरै छोपिसकेको हुन्छ । रुमालले उसको अनुहार पुछ्दै स्कुल पठाउनुपर्छ, अनि उसलाई भन्नै पर्छ ‘राम्रोसंग पढ्नु ।

मैले उसको अनुहारबाटै बुझ्छु, मेरो फुच्चे छोरो गर्मी कसरी जलिरहेको छ । उसको हाउभाउबाट बुझ्छु, उसलाई बाहिरी तातोको रापले कसरी सेकिरहेको छ भन्ने । उसको मनोभाव म बुझ्छु, स्कुल बिदा भैदिए हुन्थ्यो भन्ने उसको मनोभाव बोलिरहेको हुन्छ । बाहिरको तापको रापबाट सेकिँदै विद्यालयबाट घर फर्कने छोराका पसिनाले निथ्रुक्क भिजेका पोशाक देखेर टिठ लाग्छ । ओहो कति गर्मी सहेको छोरोले ?

गर्मीले आकुल ब्याकुल भएर विद्यालयबाट फर्किने छोरोले साँच्चै किन गर्मी खाईरहनु परेको होला ? ७÷८ किलो तौलका स्कुल ब्याग बोकेर पसिनासंग नुहाउने यी अबोध बालबालिकाहरुलाई यो उधुम गर्मीमा घरमै आराम गर्न दिन मिल्दैन होला र ? गर्मीले तातेको वातावरणमा कस्तो सिकाई सिक्न सक्छन् बोला साना बालबालिकाहरुले ?

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई गर्मी हुन्छ । उनीहरुले गर्मी बिदा माग्छन् । क्याम्पसले विदा नदिए क्याम्पसमा आन्दोलनै चल्न सक्छ । क्याम्पसमा अध्ययन गर्ने ठुला विद्यार्थीहरुले सहन नसक्ने गर्मी साना अबोध बालबालिकाहरुले कसरी सहि रहेका होलान् ? यसतर्फ ध्यान जानु पर्दैन सम्वन्धीत निकायका रुपमा रहेका विद्यालय,विद्यालयसँग् सम्वन्धीत संघसस्थासँगै स्थानीय सरकारले ?

केही दिनका लागि विद्यालय बन्द हुँदैनमा विद्यार्थीहरु पढाईमा पक्कै कमजोर हुदैनन होला । बालबालिकाहरुलाई गर्मीबाट जोगाउनका लागि प्रयत्न गर्नै पर्ने देखिन्छ । पसिनाले निथ्रुक्क भिजेर घर फर्कने स्कुले बालबालिकाहरुलाई पनि क्याम्पसका विद्यार्थीहरुलाई जस्तै बिदाको सुविधा दिउँन । अबोध बालबालिकाहरु गर्मीको मार सहिरहेका छन् । तर भन्न सक्दैनन् बिदा चाहियो भनेर । गर्मीले थलिएका कलिला शरिरलाई तापको रापबाट जोगाउने आयित्व हामी अभिभावकको हैन ? हो भने किन भन्न सकिरहेका छैनौ कि हाम्रा छोराछोरी गर्मीले सताईए गर्मी बिदा दिनु पर्यो भनेर ।

विद्यालयसंग सरोकार राख्ने विभिन्न निकायहरु पनि बालबालिकाहरुले खेपिरहनु परेको यो गर्मीको मारप्रति गम्भिर बन्नै पर्ने देखिन्छ । कम्तिमा पनि यो गर्मीबाट बचाउनका लागि एक हप्ता वा केहि दिन विद्याय बन्द गरिनुपर्ने आवश्यक्ता अहिले धेरै अभिभावकहरुले महशुस गरेका छन् । साना बालबालिकाहरुलाई गर्मी हुँदैन जसरी विद्यालयको कक्षा कोठामा कोच्नै पर्ने मानसिकता बाट टाढा रहनु पर्ने अहिलेको आवश्यक्ता हो ।

अतः विभिन्न स्थानीय तहमा रहेका शिक्षा शाखाहरुले पनि आफ्नो क्षेत्रमा रहेका विद्यालयमा अध्ययनरत साना बालबालिकाहरुले खेप्नु परेको सास्ती प्रति सदासयता देखाउनै पर्नेछ । अबोधहरुलाई गर्मीको रापमा तताएर शिक्षा दिनुभन्दा उनीहरुलाई अहिले सितलताको खाँचो छ । हैन भने अन्त्यमा मेरो उही प्रश्न सोध्न मन लाग्छ, ‘के बच्चालाई गर्मी हुँदैन ?