calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

अर्गानिक उत्पादन नीति कार्यक्रममा जोड, बजेटमा बेवास्ता

बिमला घर्ती
दाङ,२ चैत । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममा रासायनिक विषादी घटाउने कार्यक्रमलाई प्राथमिकता दिएको थियो । रसायनहरूको प्रयोगबाट माटो तथा पानीमा परेको असर र अन्य वातावरणीय समस्यालाई घटाउने कुरा गरेको थियो । त्यसका लागि किसानलाई प्राविधिक ज्ञान दिई प्राङ्गारिक मल तथा प्राङ्गारिक विषादी प्रयोगमा जोड दिने समेत भनेको छ तर त्यसका लागि बजेट भने छुट्याएन । २०७९÷०८० को बजेट कार्यक्रममा कृषि अनुदानका लागि ९४ लाख ९० हजार बजेट छ ।

कृषि यान्त्रिकीकरण, बिउ वितरण, कृषकलाई खेतीमा सहायता गर्ने, कृषि एप बनाउने कार्यक्रम राखिएका छन् । हाटबजार, कृषक परिचयपत्र वितरण गर्नका लागि पालिकाको एक करोड १२ लाख ४० हजार र संघ सरकारबाट ७१ लाख अनुदान गरी एक करोड ८३ लाख ४० हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । तर रासायनिक विषादी न्यूनीकरण कार्यक्रमका लागि भनेर प्रष्ट बजेट उल्लेख छैन ।

घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले अर्गानिक उत्पादनलाई प्राथमिकता राखेको बताए । व्यावसायिक तरकारी खेती हुने क्षेत्रमा जोखिम बढी छ । रोग किराहरू लाग्छन्, विषादी नहाले खेती सखाप हुन्छ, किसानहरूलाई बाध्यता छ । अहिले यस बिषयमा नगरले केही काम गरेको छैन् । तर छिट्टै अर्गानिक उत्पादनमा जोड दिइने चौधरीले बताए । नगर प्रमुखको योजनाअनुसार प्राङ्गारिक मल उत्पादन कार्यक्रम ल्याइनेछ । प्राङ्गारिक विषादी प्रयोग गरिनेछ ।

निम, बकाईनो, रिठ्ठो, तितेपाती, असुरो, तुलसी, सुर्ति जस्ता वनस्पतिबाट प्रांगारिक विषादी बनाउन सकिन्छ । ‘अहिले उपभोक्ताहरू स्वस्थभन्दा पनि सस्तो खोज्छन् । उपभोक्ता तयार छैनन्, उत्पादन गरेर बजारमा लैजाँदा कसले किन्ने भन्ने समस्या हुन्छ’, उनले भने, ‘चालु वर्ष उपभोक्ता र उत्पादन गर्ने कृषकहरूलाई सचेत बनाउँछौँ र अर्गानिक उत्पादनका लागि तयार गर्छौँ ।’

तुलसीपुर उपमहानगरपालिकाले पनि आर्थिक वर्ष २०७९÷०८० को नीति कार्यक्रममा प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्ने उल्लेख गरेको छ । तर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले अहिले अर्गानिक उत्पादनको कार्यक्रम नभएको बताए । अहिले तुलसीपुरमा जैविक मल बनाउने योजना छ । तर प्रष्ट रूपमा देखिने कार्यक्रम छैनन् । आउने बर्षहरूमा नीति कार्यक्रममा समाबेश गर्ने र बजेट विनियोजन गरिने उनले बताए ।

लमही नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा कृषिलाई प्राथमिकता दिदै २ करोड बजेट विनियोजन गरेको छ । बगरखेती कार्यक्रम, कृषि औजार तथा उपकरण वितरण र विकासका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको हो । नीति कार्यक्रममा अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन, गुणस्तरीय प्राङ्गारिक मल उत्पादन कार्यक्रमलाई जोड दिइने उल्लेख थियो । गल्ने फोहोर र जैविक बस्तु प्रयोग गरि कम्पोष्ट मलको उत्पादन गरि विक्रि वितरणको व्यवस्था मिलाइने भनिएको थियो । तर यि बिषयमा बजेट विनियोजन गरिएको छैन् । लमही नगरपालिका प्रमुख जोगराज चौधरीले अहिले यि कार्यक्रमहरू पालिकामा नभएको बताए । ‘अहिले अरु कार्यक्रमहरूलाई प्राथमिकता दिनुप¥यो, त्यसैले नीति कार्यक्रममा समावेश भए अनुसारको काम गर्न पाएनौ’, उनले भने ।

राप्ती गाउँपालिका बाली तथा तरकारी उत्पादनको हिसाबले उर्वर ठाउँ हो । आर्थिक वर्ष २०७९÷०८० नीति कार्यक्रममा प्राङ्गारिक खेतीसँगै खेर गइरहेको जग्गाको सदुपयोग गरी कृषि क्षेत्रको विस्तार गरिने, अर्गानिक खेतीमा जोड दिइ विषादीमुक्त क्षेत्र बनाइने योजना समावेश छ । चालु आर्थिक वर्षमा कृषिका लागि १ करोड ६६ लाख ७० हजार बजेट व्यवस्था गरिएको छ तर नीति कार्यक्रममा समावेश गरिएअनुसार अर्गानिक उत्पादनको लागि बजेटको व्यवस्था गरेको छैन् । प्राङ्गारिकखेती कार्यक्रमलाई नीति कार्यक्रममा मात्र सीमित बनाएको छ । कृषकमा चेतना जगाउने, खेतीका लागि सहयोग गर्ने, वाली निरीक्षण गर्ने, अनुदान दिने कार्यक्रमलाई जोड दिएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले व्यावसायिक तरकारी उत्पादन क्षेत्रमा धेरै विषादी प्रयोग हुने बताए । ‘विषादीको असरका वारेमा किसानहरूलाई सचेत बनाउँदैछौँ । यसलाई बिस्तारै अभियानका रूपमा लैजाने छौँ’, उनले भने, ‘अर्गानिक उत्पादन कसरी गर्न सकिन्छ भन्ने बारेमा किसानसँग छलफल भइरहेको छ ।’

के भन्छन् कृषकहरू ?

घोराही उपमहानगरपालिका वडा नं. १२ की ४९ वर्षीया भीमा घर्ती तरकारी खेती गर्ने कृषक हुन् । उनी २० वर्ष यता मौसमी तथा बेमौसमी तरकारी खेती गरिरहेकी छिन् । तरकारी खेती सुरु गर्नेबेलामा तरकारीमा विषादी हाल्नुपर्दैनथ्यो । तरकारी सप्रिएर उत्पादन हुन्थ्यो तर अहिले तरकारीमा विषादी नहाल्दा फल्दैनन् । गोलभेडा रोप्दादेखि टिप्दासम्म थरि–थरिका विषादी हाल्नुपर्छ । उनी घोराहीका एग्रोभेटबाट विषादी किनेर ल्याउँछिन् र हाल्छिन् । कति मात्रामा कसरी तरकारीमा हाल्ने भन्ने एग्रोभेट सञ्चालकले दिएको जानकारी बाहेक अरु तालिम लिएकी छैनिन् । अनुमानको भरमा विषादी छर्कने गरेको उनले बताइन् ।

घोराही १६ का महेश पौडेल सीजन अनुसारका तरकारी खेती गर्छन् । १५ वर्ष यता उनले व्यावसायिक तरकारी खेती गरेका हुन् । बारीमा रासायनिक मल र तरकारीमा विषादी अनिवार्य भएको उनी बताउछन् । अहिले प्रांगारिक मल उत्पादन हुँदैन । रासायनिक मल प्रयोग गर्न थालेदेखि विषादी हाल्नुपर्छ । विषादी नहाले तरकारी राम्रो नफल्ने उनले बताए ।

घोराही उपमहानगरपालिका वडा नं. १८ मसिना गोलभेडा (टमाटर) उत्पादनको पकेट क्षेत्र हो । यहाँका सबैले टमाटर (गोलभेडा) खेती गर्छन् । टमाटर खेतीबाटै यहाँका कृषकहरूको आम्दानी बढेको छ । उत्पादन भएको गोलभेडा काठमाडौँ, नेपालगञ्ज, बुटवल जान्छ । घोराही उपमहानगरपालिका कृषि शाखा प्रमुख चोपनारायण खनाल किसानहरूले तालिम नपाएकाले उनीहरू विना जानकारी विषादी प्रयोग गर्ने बताउछन् । अहिले कृषकहरूलाई अर्गानिक तरकारी उत्पादनको लागि आग्रह गर्ने बाहेकको औपचारिक कार्यक्रम नभएको उनी बताउँछन् । विषादी प्रयोग गरिएको तरकारी खाँदा स्वास्थ्यमा असर गर्ने र दीर्घ रोग लाग्ने हुँदा विषादी प्रयोगलाई घटाउन आवश्यक भएको उनले बताए । यसका लागि केन्द्र सरकारदेखि नै कार्यक्रम तयार गर्नुपर्ने उनी बताउँछन् ।

घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित तरकारी बजार केन्द्रमा अर्गानिक तरकारी स्टल राखिएको थियो । तरकारी उत्पादन गर्दा प्राङ्गारिक मल महँगो भएकाले तरकारीको उत्पादन लागत महँगो भयो । तरकारीलाई महँगो भएको भन्दै स्थानीयले भारतीय बजारबाट आउने तरकारी किन्न थाले । मण्डीमा ८० प्रतिशत तरकारी भारतीय बजारबाट आउने व्यवसायी गुलाम रसुल बताउँछन् । यहाँ बाह्रैमास तरकारी उत्पादन हुँदैन । भारतीय बजारबाट तरकारी ल्याउनुपर्ने बाध्यता छ, जुन तरकारीहरू विषादीले भरिएका हुन्छन् ।

तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख धनराज गौतमले व्यावसायिक कृषि खेतीमा विषादी प्रयोगको विकल्प नभएको बताए । ‘तरकारीमा रोग किराहरू लाग्छन्, त्यसको लागि विषादी हाल्नुपर्ने बाध्यता छ’, उनले भने । घरको आवश्यकता पुरा गर्नका लागि मात्र गरिने परम्परागत खेतीमा विषादी नहालेको बताए । अहिले तुलसीपुर क्षेत्रमा आवश्यकताका आधारमा विषादी प्रयोग नभएको प्रमुख गौतमले बताए । विषादी प्रयोगलाई न्यूनीकरण गर्न नसके पनि ठिक मात्रामा प्रयोगका लागि सचेत बनाएको बताए । विषादी राखेको निश्चित समयमा मात्र बजारमा तरकारी पठाउने, विषादी हाल्दा सुरक्षित र ठिक मात्रामा हाल्न सिकाएको बताए ।

देउखुरीकी सीता चौधरी व्यावसायिक तरकारी खेतीमा विषादीको प्रयोग अनिवार्य भएको बताउँछिन् । उनी भन्छिन्, ‘हामी मात्र होइन खेती गर्ने सबै कृषकले बाली तथा तरकारीमा विषादी प्रयोग नगरे उत्पादन हँुदैन, सबैले प्रयोग गर्छन् ।’ गोलभेडाको सीजनमा रोप्दा बारीमा रासायनिक मल हाल्न सुरु गरिन्छ । पछि फुलाउने, फलाउने, लागेको फल टिकाउनेदेखि पकाउनेसम्मका काममा विषादी हाल्नुपर्छ । उनकाअनुसार अझ चिसो मौसममा त हरेक तरकारीमा किरा लाग्ने समस्या हुन्छ । यसको रोकथामका लागि पनि विषादी हाल्नुपर्छ । उनी भन्छिन्, ‘कतिपय किसानहरूले आज गोलभेडा पाक्ने विषादी छर्किएर एक÷दुई दिनमै बेच्नका लागि बजारमा लैजान्छन् ।’

लमही नगरपालिका कृषि शाखा नायव प्राविधिक सहायक गंगा चौधरीले विषादी प्रयोगको अवस्था भयावह भएको बताइन् । कृषि शाखामा आउने कृषकहरूलाई ठिक मात्रामा विषादी हाल्न सुझाव दिने गरिएको छ । किसान कृषि शाखामा नआउने भएकाले पनि सचेत बनाउन नसकिएको उनले बताइन् । ‘हामीले सचेत बनाउने कार्यक्रमसम्म गर्न सकेका छैनौँ’, उनले भनिन् ।

दाङमा ६९ हजार ९ सय ५० हेक्टर खेतीयोग्य जमिनमध्ये ६५ हजार ९ सय ८० हेक्टर जमिनमा खेती गरिन्छ । घोराही र तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकामा तरकारी खेती हुन्छ । कृषि ज्ञान केन्द्र दाङकाअनुसार पछिल्लो समयमा व्यावसायिक तरकारी खेती बढेपछि विषादी प्रयोग बढेको छ ।

ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले वर्षेनी १० प्रतिशतका दरले विषादी प्रयोग बढेको बताए । यहाँका किसानहरूले एग्रोभेटबाट विषादी किन्ने र आफूखुसी अव्यवस्थित प्रयोग गरेका छन् । न त सबै एग्रोभेटलाई व्यवस्थित गर्न सकिएको छ, न त किसानलाई । अहिले जस्तो स्थिति सधैँ भए केही वर्षमा भयावहको अवस्था आउने उनी बताउँछन् । आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लामा ५ हजार ८ ३६ किलो धुलो विषादी खपत भएको छ । ८ हजार २ सय ३७ लिटर झोल र १ हजार ३ सय ८२ दाना विषादी खपत भएको हो ।

विषादीले मानव स्वास्थ्य जोखिममा

कृषि ज्ञान केन्द्र दाङका बाली संरक्षण विज्ञ रुद्रमणि पौडेलले विषादी मानिसको स्वास्थ्य जोखिममा पार्ने बताउँछन् । यहाँ विषादी मापन प्रयोगशाला छैन । यसले गर्दा पनि कति विषादी प्रयोग भइरहेको छ भनेर थाहा पाउन सकिएको छैन । यहाँका कतिपय कृषकहरूले तालिम लिएर उचित तरिकाले विषादी प्रयोग गरेका छन् । कतिपय किसानले भने हचुवाको भरमा विषादी हालिरहेका छन् ।

आज विषादी हालेका तरकारीहरू भोलि बजारमा आउँछन् । विज्ञ पौडेलकाअनुसार विषादीयुक्त तरकारी खानापछि शरीरमा विषादी पुगेर बोसोका रूपमा जम्मा भएर बस्छ । उनी भन्छन्, ‘रातो, नीलो, पहेँलो, हरियो रँगको विषादीमा पहिले हरियो रँगको विषादी बारीमा हाल्नुपर्ने हुन्छ तर यहाँ ठीक उल्टो रातो रँगको विषादी पहिले हाल्ने गरिन्छ ।’ उनकाअनुसार विषादीले टाउको दुख्ने, थकाइ लाग्ने, शरीर काप्ने, पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, रिँगटा लाग्नेजस्ता तत्कालीन असरहरू गर्छ ।

माटो स्वस्थ नहुँदा विषादी प्रयोग बाध्यता

माटो स्वस्थ भए र प्राङ्गारिक मलको प्रयोग भए बालीमा रोग किरा लाग्दैनन्, विषादी हाल्नु पर्दैन । माटो स्वस्थ छैन भने रासायनिक मल हाल्नुपर्छ । रासायनिक मलको प्रयोगले माटोको उमारशक्ति कमजोर बनाएको छ । माटो परीक्षणबिना खेती गर्नाले र असन्तुलित रूपमा रासायनिक मलको प्रयोग गर्नाले माटोको उर्वराशक्तिमा ह्रास हुँदै गएको कृषि विज्ञ बताउँछन् । रासायनिक मलको असन्तुलित प्रयोगले नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा माटोमा कम हुने र उत्पादनमा ह्रास आउने गरेको कृषि ज्ञान केन्द्र घोराहीका कृषि अधिकृत देवा महरा बताउँछिन् ।

तत्कालीन जिल्ला कृषि विकास कार्यालय हुँदा २०५७ सालमा दाङमा माटो परीक्षणका लागि मिनी ल्याव स्थापना भएको थियो । त्यसमा माटो विज्ञको दरबन्दी रहेको थियो तर संघीयता लागू भएपछि कर्मचारी समायोजनका क्रममा माटो विज्ञको दरबन्दी नै कटौती गरियो । माटो परीक्षण घट्यो । महराकाअनुसार पहिले सो कार्यालयमा माटो विज्ञको व्यवस्था हुँदा वार्षिक करिव १२ सयसम्मको

माटो परीक्षण हुने गरेको थियो तर अहिले वार्षिक १ सय ५० वटासम्म नमुना माटो परीक्षण हुन्छ । ‘अहिले पनि माटो परीक्षण गरेर कृषि व्यवसाय गर्नुपर्छ भन्ने ज्ञान किसानमा छैन’, उनले भनिन्, ‘जसले गर्दा धेरै किसानहरूको बालीमा समस्या देखिने गरेको छ ।’ माटो परीक्षणका क्रममा रासायनिक मलको प्रयोगका कारण नाइट्रोजन, फस्फोरस र पोटासलगायतका तत्वमा ह्रास भएको देखिने कृषि अधिकृत महराले बताइन् ।
् ।