कोइलाबास भन्सार लक्ष्यभन्दा बढी राजस्व संकलन

  •   
  •  

अमरराज आचार्य
दाङ, १चैत्र । लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न चुनौती भइराखेको बेला जिल्लाको एकमात्र भन्सार नाका कोइलाबासले वार्षिक लक्ष्यभन्दा दोब्बर बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको लक्ष्यभन्दा दोब्बर बढी राजस्व सङ्कलन गरेको जनाएको हो ।

कार्यालयले चालु आर्थिक वर्षमा २१ लाख ३९ राजस्व उठाउने लक्ष्य लिएको थियो । कार्यालयले फागुन २५ गतेसम्म ५२ लाख ४६ हजार ४ सय ७ रूपैयाँ राजस्व सङ्कलन गरेको कोइलाबास भन्सार कार्यालयका प्रमुख दीपक शर्माले बताए । आर्थिक वर्ष सकिन अझै ४ महिना बाँकी रहेकाले राजस्व थप बढ्नेछ ।

कार्यालयले साउन महिनामा ३ लाख ७९ हजार २ सय ७ रूपैयाँ, भदौ महिनामा ५ लाख ९० हजार १ सय ९१ रूपैयाँ, असोज महिनामा ३ लाख ७० हजार ७ सय, कार्तिक महिनामा ६ लाख ३२ हजार २ सय ५४ रूपैयाँ राजस्व सङ्कलन गरेको छ । मंसिर महिनामा ४ लाख ७३ हजार ८ सय ५९ रूपैयाँ, पुस महिनामा १ लाख ६ हजार ९ सय ५० रूपैयाँ, माघ महिनामा ६ लाख ६७ हजार १ सय ६८ रूपैयाँ र फागुन १ देखि २५ गतेसम्म ६ लाख ४ सय ७ रूपैयाँ राजस्व सङ्कलन भएको प्रमुख शर्माले बताए ।

कोइलाबास नाका सञ्चालनमा आएपछि राजस्व समेत वृद्धि हुँदै गएको हो । नाका खुलेपछि सामग्री आयात, निर्यात तथा नागरिक एवम् सवारी साधनको आवतजावत गर्न थालेपछि राजस्व वृद्धि भएको हो । नेपाल आउने यात्रुले प्रयोग गर्ने सवारी साधनबाट लिने राजस्व धेरै रहेको कार्यालय प्रमुख शर्माले बताए । ‘अस्थायी पैठारीबाट धेरै राजस्व सङ्कलन हुने गरेको छ’, प्रमुख शर्माले भने, ‘जसमा कार, जिप, मोटरसाइकल धेरै छन् ।’ यसैगरेर नागरिकले भारतबाट ल्याउने सामग्रीबाट लिइने राजस्व रहेको छ । कोइलावास नाकाबाट धार्मिक पर्यटकहरू धेरै आउने गरेको भन्सार कार्यालयका प्रमुख शर्माले बताए । शर्माका अनसार भारतबाट कोइलाबाससम्म पहाड हेर्न भनेर आउने गरेको छन् ।

दाङको एक मात्र नाकामा रहेको कोइलाबास भन्सार कार्यालयमा अनलाइन गर्नेे तयारी गरिए पनि यसले सार्थकता पाउनसकेको छैन । जसले गर्दा अहिले भन्सार कार्यालयले लिखित रूपमै काम हुँदै आएकोे छ । नेटको समस्याका कारण अनलाइनबाट काम गर्न नसकेको कोइलाबास भन्सार कार्यालयका प्रमुख शर्माले बताए । गढवाबाट नेटको तार लगिए पनि राम्रोसँग काम नगर्दा समस्या भएको उनले बताए । करिब २८ किलोमिटर टाढाबाट जंगलको बाटो भएर नेटको तार लगिएका कारण विभिन्न समस्या देखिने गरेको उनको भनाइ छ । नेट पु¥याउनका लागि टेकमाइन कम्पनीले प्रयास गरे पनि हालसम्म सफल हुन नसकेको उनको भनाइ छ ।

‘नेट जोडेर काम सुरु गर्न थालिए पनि सिस्टम चल्न नसक्दा अनलाइनमार्फत् बिल काट्ने काम हुन नसकेको हो’, प्रमुख शर्माले भने । अहिले भन्सार कार्यालयले लिखित रूपमै राजस्व काटने गरेको छ । भन्सारबाट अहिले व्यक्तिगत रूपमा घरायसी सामग्री ल्याउने गरेका छन् भने व्यवसायीले पनि थोरै मात्रामा सामान ल्याउने गरेको उनको भनाइ रहेको छ । नाका सञ्चालनमा आए पनि व्यावसायीले पहिले ल्याइरहेको स्थान परिवर्तन गर्न समय लाग्ने बताइएको छ । भन्सारमा क्वारेन्टाइन, विषादी परीक्षणको सुविधा पनि नहुँदा समस्या भएको उनले बताए । परीक्षण बिनाका वस्तु ल्याउन नदिने प्रमुख शर्माले बताए ।

लामो समयको प्रयासपछि दाङको एक मात्र कोइलाबास नाका सञ्चालनमा आएको हो । लामो समयसम्म बन्द रहेको नाका जिल्लाका निजी क्षेत्र तथा सरोकारवालाहरूको प्रयासपछि नाका सञ्चालनमा ल्याइएको थियो । नेपालमा भन्सार भए पनि भारतले कस्टम नहुँदा नाका सञ्चालन हुनसकेको थिएन । साउनको दोस्रो सातापछि भारततर्फ कस्टम स्थापना गरेसँगै नाका सञ्चालनमा आएको थियो । नाका खुलेसँगै अहिले कोइलाबासबाट नै आयात तथा निर्यात समेत सुरु भएको छ । अहिले नेपालबाट अदुवा तथा केही मात्राम तरकारी जाने गरेको बताइएको छ ।

मौसमी तरकारी भारततर्फ जाने गरेको व्यवसायीहरू बताउँछन् । जिल्ला तथा पहाडी जिल्लाबाट यस नाका भएर तरकारी जानथालेको हो । कुनै समयमा देशको दोस्रो चल्तीको भन्सारमा रहेको भन्सार पूर्व पश्चिम राजमार्ग सञ्चालनमा आएसँगै यो भन्सार सुनसान रहेको थियो । भन्सार सुनसान भएसँगै उक्त क्षेत्र खण्डहर भएको थियो । पछिल्लो समय कोइलाबाससम्म बाटो कालोपत्रे भएसँगै चहलपहल बढेको छ ।

नाका सञ्चालनमा आएपछि सामान आयात निर्यातमा सहज हुने जिल्लाका व्यवसायीहरूले बताएका छन् । दाङकोे एकमात्र भारतसँगैको नाका कोइलाबास हो । कोइलाबास नाका सञ्चालन नहुँदा जिल्लाबाट आयात निर्यात गर्दा रूपैडिया, कृष्णनगरको नाका भएर सामग्री ल्याउनु, लैजानुपर्ने बाध्यता थियो । रूपैडिया तथा कृष्णनगर नाका प्रयोग गर्नुपर्दा समयसँगै आर्थिक रूपले पनि बढी खर्च हुने गरेको व्यवसायी बताउँछन् ।