Goraksha

National Daily

विक्रीमा कमि भएसँगै संकटमा जाँतो तथा सिलौटा बनाउने पेसा

1 min read

लिलाधर वली
दाङ, ३० फागुन । रोल्पा जिल्ला सुनछहारी गाउँपालिका–५ जैमाकस्ला थनावाङ निवासी ३९ वर्षीया जस्मान विष्टको पुख्र्यौैली पेसा हो, जाँतो र सिलौटा बनाउने । घर नजिकैको पहाडमा रहेको ढुङ्गाखानीबाट ढुङ्गा निकाल्ने र त्यसलाई कुँदेर चिटिक्क परेको पिठो पिस्नलाई जाँतो र भान्सामा अचार तथा अन्य परिकार पिस्नलाई सिलौटा बनाउने गर्छन् ।

तिनै सिलौटा र जाँतो बिक्री गरेर भएको आम्दानीबाट उनले घरव्यवहार चलाउने गरेका थिए तर पहिलेको तुलनामा पछिल्लो समय जाँतो तथा सिलौटाको विक्री भने घट्दै गएको छ । पिठो पिस्नका लागि गाउँ–गाउँमा मीलहरू स्थापना भएको र अचार पिस्नका लागि मिक्सर भित्रिएसँगै चाँकी (जाँतो) तथा सिलौटाको विक्रीमा कमी भएको उनी बताउँछन् ।

‘पहिले गाउँघरमा पिठो जाँतोमा पिस्ने गरिन्थ्यो, अँचार सिलौटामा लोराले पिस्ने गरिन्थ्यो र व्यापार हुन्थ्यो’, जस्मान भन्छन्, ‘अहिले गाउँ–गाउँमा पिठो पिस्नलाई मील र प्रायः सबैका घरमा अँचार पिस्नलाई विदेशी मेसिन छ, त्यै भएर व्यापार घट्दै गएको छ ।’ सिलौटा तथा जाँतोको विक्री घट्दै गए पनि आपूmहरू परम्परात सीपको संरक्षण गर्नुका साथै थोरै भए पनि आम्दानी हुन्छ कि भनेर पुख्र्याैली पेसा गर्दै आएको बताउँछन् ।

‘गाउँमा सामान्य खेती गर्छौँ, व्यावसायिक खेती गर्नलाई पैसा छैन’, उनले भने, ‘परम्परागत खेतीले परिवार धान्न मुस्किल हुन्छ, त्यसैले पुख्र्यौली पेसा पनि गर्दै आएका छौँ ।’ पुख्र्याैली पेसाका रूपमा रहेको सिलौटा तथा जाँतो बनाउने काम ढुङ्गाखानीमा गर्नुपर्ने भएकाले जोखिमपूर्ण भए पनि सामान्य लगानीमा गर्न सकिने भएकाले आपूmहरूले पेसा छोड्न नसकेको उनी बताउँछन् ।

‘ठूलो व्यापार व्यवसाय गर्ने पैसा छैन’, उनले भने, ‘सामान्य लगानीमै चाँकी र सिलौटा बनाउन सकिने र त्यसलाई विक्री गर्दा पैसा कमाउन सकिने भएकाले पुख्र्र्याैली काम गरिराछौँ ।’ ढुङ्गाबाट सामग्री बनाएर विक्री गरेवाफत् थनावाङ टोल विकास समितिलाई प्रतिपिस दुई सय रूपैयाँ दिने गर्दछन् ।

जाँतो तथा सिलौटाहरू परम्परागत उपकरणहरू छिना, घन, झब्बल, हाते घन, साबेताको सहायताल बनाउने गरेको जस्मान बताउँछन् । केही वर्ष अघिसम्म खानीबाटै दैनिक रूपमा ३÷४ चाँकी तथा सिलौटाहरू विक्री हुने गरे पनि पछिल्लो समय वर्षभरिमा ५० देखि ६० पिस मात्रै विक्री हुने गरेका छन् । पिठो पिस्न तथा अँचार बनाउन नयाँ–नयाँ प्रविधिको विकास भएसँगै सिलौटा तथा जाँतोको व्यवसायमा कमी आएको ४८ वर्षीय अर्का स्थानीय जितबहादुर बिष्ट बताउँछन् ।

‘पहिले जाँतो र सिलौटाको लागि हामीलाई अडर आउँथ्यो, अडरअनुसार विभिन्न साइजका चाँकी र सिलौटा बनाएर विक्री गथ्यौँ’, विष्टले भने, ‘धेरै विक्री गर्दा आम्दानी पनि राम्रो हुन्थ्यो तर अहिले विक्री नै हुन छोड्यो ।’ उनकाअनुसार सिलौटा प्रतिपिस १५ सय र चाँकी प्रतिपिस ४५ सय रूपैयाँका दरले विक्री हुने गर्दछन् । एउटा चाँकी तयार गर्न चारदेखि पाँच दिन र सिलौटा बनाउन दुईदेखि तीन दिनसम्म लाग्ने गरेको तर मिहिनेतअनुसारको मूल्य भने नभएको विष्ट बताउँछन् ।

‘ढुङ्गाखानीमा गएर पहिले चट्टान फोडेर ढुङ्गा निकाल्ने र त्यसलाई कुँदेर सिलौटा तथा चाँकी बनाउनुपर्छ । यो जोखिमको काम पनि हो’, उनले भने, ‘सिलौटा तथा चाँकी बनाउँदा श्रम पनि धेरै लाग्छ तर श्रमअनुसारको न मूल्य पाइन्छ, न त बजार नै छ ।’ उनकाअनुसार चाँकी तथा सिलौटामा पिसेको पिठो तथा अचारको स्वाद मन पराउने कतिपयले अहिले पनि माग गर्ने गरेको बताउँछन् ।

रोल्पाको जैमाकस्ला भन्ने ठाउँमा सिलौटा तथा जाँतो बनाउनका लागि प्रशस्तै ढुङ्गा भए पनि बजारको अभावसँगै मिहिनेतअनुसारको मूल्य नहुँदा परम्परागत सामग्रीसँगै आपूmहरूको पेसा नै हराउने अवस्था आएको उनले बताए । खानीबाट विक्री हुन छोडेपछि पछिल्लो समय आपूmहरूले गाडीमा राखेर रोल्पाका विभिन्न ठाउँदेखि दाङसम्म आउने गरेको उनले बताए । खानीबाट ढुङ्गा निकाल्नेदेखि बनाउँदासम्म करिब ६÷७ दिन लाग्ने गर्दछ ।

सुरुमा गाउँमा १५÷१६ घरपरिवार नै आबद्ध रहेको भए पनि पछिल्लो समय जाँतो तथा सिलौटाहरू विक्रीमा कमी आएसँगै अहिले ५÷६ घरपरिवारका मानिसहरू आबद्ध रहेको जैमाकस्लाका स्थानीय भागीराम विष्ट बताउँछन् । कुनै समय चाँकी तथा सिलौटाका लागि रोल्पादेखि दाङसम्म नै चर्चित ठाउँ जैमाकस्ला थनावाङ भए पनि पछिल्लो पेसा नै संकटमा परेको भागीराम बताउँछन् ।