calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

राप्ती प्रादेशिक अस्पतालमा अब सुपरस्पेशलिस्ट सेवा : निमित्त मेसु अर्याल

तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारीमा विगत दुई महिनादेखि हाडजोर्नी विशेषज्ञ डा. ओम अर्याल छन् । उनी मेसु भएसँगै अस्पतालमा बिरामीहरुको पनि चहलपहल बढिरहेको बताइएको छ । आफूले अस्पतालमा नेतृत्व सम्हालेदेखि धेरै व्यवस्थापकीय सुधार भएको बताउने निमित्त मेसु अर्यालले अस्पतालमा स्तरीय स्वास्थ्य सेवाको प्रतिबद्धता व्यक्त गरेका छन् ।

अब राप्ती प्रादेशिक अस्पतालमा स्तरीय उपचार सेवा मात्र होइन, केही विधामा सुपरस्पेशलिस्ट सेवा समेत सञ्चालन गर्ने सोचमा छन् । मुटु तथा न्यूरो र युरो सेवा समेत उपलब्ध गराउन अस्पताल व्यवस्थापन खटिरहेको छ । दैनिक ३ सयको हाराहारीमा बिरामीहरु उपचारका लागि आउने गरेका छन्् । तैपनि अस्पताललाई अझै रिफर सेण्टरका रुपमा हेर्ने प्रवृत्ति छ । विशेषज्ञ भएरै पनि विशेष गरी बच्चाहरुको उपचारमा पेड्रियाटिक वार्ड एनआइसियु कक्ष तथा अन्य बिरामीका लागि आइसियु मेसिन जडान भएर पनि सञ्चालनमा आउन सकेको छैनन् । यिनै जनगुनासामा केन्द्रित रहेर अस्पतालका मेसु डा ओम अर्यालसँग गोरक्षकर्मी खेमराज रिजालले गरेका कुराकानीको सांर संक्षेप ।
 स्वागत छ तपाईंलाई, गोरक्षको सातावार्तामा ।

 अस्पतालका विषयमा समसामयिक जानकारी राख्ने अवसर दिनुभएकोमा तपाईं अनि तपाईंको लोकप्रिय गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई हृदयतः धन्यवाद ।

 राप्ती प्रादेशिक अस्पतालकोे हालको बिरामीको संख्या, बेडलगायत जनशक्तिका विषयममा समग्र जानकारी गराइदिनुस् न ?

 हाल राप्ती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सक मात्र कम्तिमा १९ रहेका छन् । त्यसमा दुई जना रेडियोलोजिस्ट, प्रसुति रोग विशेषज्ञ ३ जना, फिजिसियन ३ जना, हाडजोर्नी तथा नशारोग विशेषज्ञ २ जना, दाँत उपचार विशेषज्ञ ३ जना, नाक, कान, घाँटी रोग विशेषज्ञ १ जना, यौन तथा छाला रोग विशेषज्ञ २ जना, बाल रोग विशेषज्ञ २ जना तथा एनेस्थेसिया विशेषज्ञ १ जना छन् भने ६ जना मेडिकल अफिसर कार्यरत छन् ।

चौबीसै घण्टा आकस्मिक सेवामा मेडिकल अफिसर उपलब्ध छन् । यसैगरी प्रसुति सेवा पनि चौबीसैघण्टा उपलब्ध छ । अस्पतालको इन–डोर सेवाका लागि स्वीकृत बेड संख्या ५० उल्लेख भए पनि हामीले बिरामीको सेवालाइ मध्यनजर गरी जम्मा १ सय ७ बेड पु¥याएका छौँ । आइसियु सेवा सञ्चालन हुन नसके पनि हामीले एचडियु बेडहरू सञ्चालनमा ल्याएका छौँ । अक्सिजन र मोनिटर सुविधायुक्त बेडमा उपचार गर्दा बिरामीलाई पनि जनरल बेडभन्दा निकै सहज हुन्छ ।

आवश्यक मात्रामा स्टाफ नर्स र पारामेडिकल स्टाफ समेत व्यवस्थापन भइसकेकाले सेवामा केही सहजता आएको हामीले पाएका छौँ तर पनि हामीलाई मेडिकल अफिसर अपुग छन् । नर्सिङ स्टाफ पनि थप्नु पर्नेछ । यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका मन्त्रालयहरूमा पनि पहल भइरहेको छ । यी सबै दरबन्दी र भौतिक पूर्वाधार पर्याप्त भएमा चाँडै हामीले आइसियु, एनआइसियु र पेड्रियाटिक वार्ड चलाउने अन्तिम तयारीमा छौँ ।

अस्पतालमा निर्माण सम्पन्न भइसकेको भवन हामीलाई हस्तान्तरण भएमा बच्चाको भिन्नै वार्ड सञ्चालनमा ल्याउने सोचमा छौँ । बिरामीको फ्लो पनि दैनिक ३ सयको हाराहारीमा रहेको यहाँलाई अवगत गराउन चाहन्छु । साथै हाम्रो अस्पतालमा मृगौलाका बिरामीहरूका लागि हेमो–डायलायसिस सेवा पनि निःशुल्क रूपमा सञ्चालनमा आएको यही पत्रिकामार्फत समस्त पाठकवर्गलाई जानकारी गराउन चाहन्छु । प्रयोगशालाको पनि हामीले स्तर वृद्धि गरिसकेका छौँ । आधुनिक मेसिनद्वारा प्रयोगशालामा परीक्षण भइरहेको छ भने लेजर प्रविधिबाट शल्यक्रियाको समेत हामीले सेवा सुरु गरिसकेका छौँ ।

 हेमो–डायलायसिस सेवा उपलब्ध हुन सकेन भनेर यस क्षेत्रका धेरै बिरामीहरू घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही तथा भैरहवा र नेपालगञ्ज मेडिकल कलेजसम्म धाउन बाध्य छन् भन्ने गुनासो छ नि ?

 हामीकहाँ अहिले उपलब्ध हेमा– डायलायसिस मेसिन ५ वटा हुन्, त्यसमा पनि एउटा मेसिन बिग्रिएको छ । मेसिनको अभावका कारण हामीले यहाँ आएका सबै बिरामीलाई सेवा दिन नसकेको यथार्थ हो । केही समय पहिले थप ८ वटा डायलायसिस मेसिन आएको हो तर स्पेश अभावका कारण सञ्चालनमा ल्याउन सकिएको छैन ।

सञ्चालन हुन नसकेका कारण आएका मेसिनमध्ये ३ वटा मेसिन मन्त्रालयको लिखित आग्रहमा नेपालजञ्ज मेडिकल कलेजमा उपलब्ध गराएका छौँ । त्यो पछि फिर्ता गर्ने शर्तमा पठाइएको हो । भौतिक पूर्वाधार निर्माण हुनासाथ ती सबै मेसिन सञ्चालनमा आएमा डायलायसिस सेवा चाहिने बिरामीलाई फर्काउनु पर्नेछैन । भौतिक पूर्वाधारका निर्माणमा बजेट विनियोजनका लागि संघीय मन्त्रालय तथा प्रदेश सरकारसँग निरन्तर पहल भइरहेको पनि छ ।

 अनि प्रसुती सेवामा चौबीसैघण्टा चिकित्सक नपाउने र नर्सहरूले सोझै रिफर गर्ने गुनासो पनि व्यापक सुनिन्छ ?

 रिफर नहुने भनेका कुनै पनि स्वास्थ्य संस्था हुँदैनन् । राजधानीका वीर र टिचिङ अस्पतालबाट पनि बिरामी रिफर हुन्छन् । अर्को कुरा के हो भने बिरामीका अभिभावकहरूले ग्यारेन्टी र वारेन्टी खोज्ने चलन पनि यहाँ व्यापक छ ।

स्वास्थ्य सेवामा ग्यारेन्टी र वारेन्टी भन्ने केही पनि हुँदैन । राप्ती प्रादेशिक अस्पतालमा चौबीसैघण्टा विशेषज्ञ चिकित्सक सहितको शल्यक्रिया सेवा समेत उपलब्ध भइरहेको सबैलाई जानकारी गराउन चाहन्छु । डाक्टर नभएर रिफर भएको होइन, कहिलेकाहीँ बच्चाको तौल निकै कम हुने र नवजात शिशुलाई एनआइसियु सेवा पनि चाहिन सक्ने भएकाले त्यस्ता केशहरू रिफर हुन सक्छन् । जनरल केश रिफर गर्नुपर्ने अवस्था छैन ।

 अर्को व्यवस्थापकीय कुरातर्फ लागौँ । अस्पतालमा उत्पादित फोहर जहिल्यै कुलामा फाल्ने र त्यो संक्रमित वस्तु जनताका खेतबारीमा पुग्ने गुनासो छ । फोहर व्यवस्थापनको केही नयाँ र वैज्ञानिक अभ्यास सुरु गर्नुभएको छ ?

 हो, हामीले फोहर व्यवस्थापनमा पछिल्लो समयमा निकै सुधार गरेका छौँ । हाम्रा हरेक वार्डहरूमा गल्ने फोहर र नगलने फोहरका लागि रातो र हरियो बाल्टिनहरू छन् । सिरिञ्ज र ग्लास राख्ने भिन्नै व्यवस्थापन छ । फोहर प्रशोधन च्याम्बर पनि भर्खरै दातृ निकायको सहयोगमा स्थापित भइसकेको छ । फोहर प्रशोधन मेसिनमा संक्रमित हुनसक्ने फोहरलाई प्रशोधन गरेपछि मात्रै नगरपालिकाको गाडमी हालिदिने गरेका छौँ ।

सीसा र सिरिञ्ज भिन्नै राखेका छौँ । प्लास्टिकका बोत्तल भिन्नै राखेका छौँ । बिक्ने वस्तुलाई प्रशोधन गरेर बेच्ने छौँ । नबिक्नेलाई भिन्नै इनार बनाएर सुरक्षित रूपमा विसर्जन गर्ने गरी आधुनिक प्रविधिबाट फोहर व्यवस्थापन एक महिना अघिदेखि नै थालेको जानकारी गराउन चाहन्छु । तपाईं सबै नागरिक अस्पतालमै आएर हेर्न सक्नुहुन्छ, अस्पतालले उत्पादन गरेका फोहर नागरिकका खेतमा पुग्ने अवस्थाको अन्त्य भइसकेको छ ।

 अन्त्यमा आम सेवाग्राहीलाई केही भन्नु छ ?

 सबैभन्दा पहिले त अस्पतालको समग्र विषयमा आम सेवाग्राही एवमु नागरीकलाई जानकारी गराउने अवसर दिनुभएकोमा गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाइ विशेष धन्यवाद दिन चाहन्छु । अस्पताल सबैको साझा थलो हो । यसको समग्र विकासका लागि यहाँका नागरिक दल, जनप्रतिनिधिज्यूहरू, सांसदज्यूहरू, उद्योगी व्यवसायीहरू, पत्रकार अधिकारकर्मी सबैको साथ र सहयोगको आवश्यकता हुन्छ । अस्पताल व्यवस्थापन एक्लैले अस्पतालको समग्र विकास सम्भव छैन । अस्पतालमा हाल उपलब्ध स्वास्थ्य सेवालाई थप स्तरीय र प्रभावकारी बनाएर आम नागरीरूलाइ स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल व्यवस्थापन सधैँ तत्पर रहन्छ ।

यसमा सञ्चार माध्यमहरूको सकारात्मक आलोचना पनि हामीले अपेक्षा गरेका छौँ । अस्पतालमा नराम्रो काम भइरहेको छ र बिरामीहरू सेवाबाट सन्तुष्ट हुनसकेका छैनन् भने त्यसमा पनि हामीलाई खबरदारी गर्न र सच्चिने अवसर दिन पनि सम्पूर्ण सञ्चार माध्यमहरूलाई आग्रह गर्न चाहन्छु । धन्यवाद ।