Goraksha

National Daily

बाह्रकुने दहमा सभ्य र व्यवस्थीत रुपमा भव्य मेला लगाउने तयारीमा छौ : अध्यक्ष घर्ती

1 min read

ब्राहकुने दह जिल्लाको धार्मिक एवम् पर्यटकीय क्षेत्रका रुपमा प्रसिद्ध छ । ५५.६५ हेक्टर क्षेत्रफलमा फैलिएको बराह क्षेत्रमा अवस्थित बाह्रकुने दहका छेउमा कान्छा बराह थान रहेको छ । प्राचीन कालदेखि नै स्वच्छ र शुद्ध मनले कान्छा बराह धानमा भाकल गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहेको छ । त्यही जनविश्वासका कारण बराह मन्दिरमा पूजापाठ, भाकल गर्ने तथा भाकल पूरा भएका मानिसहरुले भेडा तथा कुखुराहरुको बलि दिने प्रचलन रहिआएको छ ।

बराह स्थानमा वार्षिक रुपमा करिब ४ हजारको हराहारीमा बलि दिने गरिएको समितिले जनाएको छ । त्यसमा पनि विशेष गरी बलि दिने माघेसंक्रान्तिको अवसरमा धेरै हुन्छ । पहिले सानो प्राकृतिक पोखरी र मन्दिर मात्रै रहेको उक्त स्थानमा २०५४ सालमा पहिलो पटक बराह क्षेत्र संरक्षण तथा सम्बद्र्धन धार्मिक समिति गठन भएपछि उक्त क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका कामहरु हुँदै आएको पाइन्छ । विगतका दुई वर्ष कोरोना भाइरसको त्रासका कारण खुल्ला रुपमा मानिस हिडडुल गर्न नसक्दा पूजापाठ तथा मेला अवलोकन गर्ने दर्शकको संख्यामा कमी भएपनि यसबर्ष त्रास नभएका कारण करिब १ लाख ५० हजार बढी पूजापाठ तथा अवलोकन गर्ने समितिले अनुमान गरेको छ ।

यसै सन्दर्भमा माघेसंक्रान्तिमा लाग्ने मेला र पूजापाठ व्यवस्थापनका लागि कसरी काम भइरहेको छ ? बाह्रकुने दहको विकासका लागि हुँदै गरेको काम किन रोकिएको छ ? दहको समग्र विकासका लागि समितिले थप के गर्ने योजना बनाएको छलगायतका विषयमा गोरक्ष दैनिकको साप्ताहिक सातावार्ताका लागि बराह क्षेत्र संरक्षण तथा सम्बद्र्धन धार्मिक समितिका अध्यक्ष देवबहादुर घर्तीसँग गोरक्षकर्मी लिलाधर वलीले गरेको अन्तर्वार्ताको सार संक्षेप ।

 माघेसंक्रान्तिको अवसरमा बाह्रकुने दहमा प्रत्येक वर्ष मेला लाग्ने गर्दछ, यस वर्ष मन्दिरमा पूजापाठ तथा मेला व्यवस्थापनका लागि कसरी तयारी गरिरहनुभएको छ ?

 माघेसंक्रान्ति नजिकिएसँगै जिल्लाकै प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्रका रूपमा रहेको बाह्रकुने दहमा पनि चहलपह बढेको छ । त्यसैले हामीले मन्दिर क्षेत्रमा सरसफाई गर्नेदेखि मन्दिरमा रँगरोगन, रातको समयमा उज्यालोका लागि बत्ती जडानदेखि मन्दिर अगाडिको पोखरीमा बच्चाहरू खस्ने जोखिम रहेकाले रेलिङ बनाउने काम गरिसकेका छौँ । माघेसंक्रान्ति मात्र होइन, पुस महिनाबाट नै बाह्रकुनेमा तीर्थालु भक्तजनहरूले भेडा र कुखुराको बलि चढाउनेहरूको पनि उत्तिकै भीड लाग्ने गर्दछ ।

बाह्रकुनेका बराह देवता मगर जातिको मात्र नभएर अन्य जातिहरूको पनि पुजनीय देवता हुन् । बाह्रकुने कान्छा बराह थानमा पूजापाठ गर्ने, भेडा र कुखुराको मात्र बलि चढाउने प्रचलन छ । यसैगरी बराह धाममा पूजापाठ तथा मेला अवलोकनका लागि आउने दर्शनार्थीको सहजताका लागि विभिन्न समिति बनाएर तयारीलाई अन्तिम अवस्थामा पु¥याएका छौँ । समितिले आफ्नो जिम्मेवारीअनुसार व्यवस्थापन र समन्वयको काम गरिरहनुभएको छ ।

मेलामा हुने भिडभाडका लागि सुरक्षा, प्रवेश र बाहिर निस्कन सहजताका लागि यातायात, खानेपानी, दुर्घटना हुँदा प्राथमिक उपचारलगायत मन्दिरमा भिडभाड हुन नदिनका लागि स्वयम्सेवक परिचालनका लागि व्यवस्थापनलगायतका काम गरिरहेका छौँ । अबको दुई दिनमा बाँकी काम सबै सक्ने तयारीमा छौँ । मााघे संक्रान्तिको अवसरमा बाह्रकुने दहमा ालाग्ने मेलालाई सभ्य र व्यवस्थीत रुपमा भव्य मेला बनाउने तयारीमा जुटेका छौ ।

 माघीका रूपमा विशेष कार्यक्रम पनि बनाउनुभएको छ ?

 त्यस्तो विशेष कार्यक्रमहरू छैनन् । माघेसंक्रान्तिका दिन नियमित रूपमा हुँदै आएको पूजापाठ र मेला नै हो । विगतमा केही वर्ष राष्ट्रिय स्तरका कलाकार ल्याउने कार्यक्रम पनि हुने गरेका थिए तर यस वर्ष त्यसरी कुनै कार्यक्रम तय भएका छैनन् । माघीको अवसरमा जिल्लाका विभिन्न ठाउँदेखि रोल्पा जिल्लासँगै छिमेकी देश भारतबाट समेत तीर्थालु तथा पर्यटकहरू आउने गर्दा मेलामा भीडभाड हुने गर्दछ । त्यसका लागि यस वर्ष मैदानलाई समेत चौडा बनाउने काम गरेका छौँ । त्यससँगै माघेसंक्रान्तिको अवसरमा मनोरञ्जनका लागि पोखरीका ढुङ्गा, भजनटोलीलगायत बालबालिकाका लागि खेलाउने सामग्री भने नियमित रूपमै हुनेछन् ।

 बाह्रकुने दहको धार्मिक एवम् ऐतिहासिक विशेषता के हो ?

 माघेसंक्रान्ति मात्र होइन, पुस महिनाबाट नै बाह्रकुनेमा तीर्थालु भक्तजनले भेडा र कुखुराको बलि चढाउनका लागि उत्तिकै भिड लाग्ने गर्दछ । बाह्रकुनेका बराह देवता मगर जातिको मात्र नभएर अन्य जातिको पनि पुजनीय देवता हुन् । बाह्रकुने बराह मन्दिरमा भेडा र कुखुराको मात्र बलि चढाउने प्रचलन छ ।

माघेसंक्रान्तिको दिन भाकल चढाउनेहरूको अन्य दिनभन्दा भिड रहन्छ । मगर समुदायका कूलदेवता बराहको थान रहेको छ । यो १२ बराह भाइमध्यका कान्छा बराह हुन् । यहाँ स्वच्छ मनले भाकल गरे पूरा हुन्छ भन्ने जनविश्वास रही आएको छ । त्यही आस्थाका कारण बर्सेनी हजारौँको संख्यामा भक्तजन तथा दर्शनार्थी आउने र पूजापाठ गर्ने, भेडा र कुखुराको बलि दिने प्रचलन रही आएको छ ।

 बाह्रकुने दहको थप आकर्षणका लागि के गर्न आवश्यक देख्नुहुन्छ ?

 ब्राहकुने दह जिल्लाकै धार्मिक एवम् ऐतिहासिक क्षेत्र हो । करिब ६ बिगाह क्षेत्रमा फैलिएको छ । कुनै बेला सानो पोखरी र मन्दिर मात्रै रहेको यो ठाउँमा पछिल्लो समय धेरै विकास निर्माणका कामहरू भएका छन् । केही महत्वपूर्ण कामहरू रोकिएका छन् । रोकिएका कामहरूलाई सबैको सहमतिमा अघि बढाउन आवश्यक छ ।

त्यससँगै दहमा आउने भक्तजन तथा पर्यटकलाई समय बिताउनका लागि यही क्षेत्रभित्र आकर्षक पार्क बनाउन आवश्यक छ । मन्दिर दर्शनसँगै केही समय बिताउँछु भन्नेका लागि उपयुक्त बस्ने ठाउँ पनि होस् भन्ने हो । त्यसका लागि ब्राहकुने दहलाई अन्य यस क्षेत्रका पर्यटकीय क्षेत्रहरूसँग पनि जोडेर विकास गर्न सकिन्छ ।

बाह्रकुने दहलाई पर्यटन प्रबद्र्धन गर्नका लागि डिपिआर पनि बनेर काम पनि सुरु भएको थियो तर त्यो रोकिएको छ । प्रदेश सरकारले तत्कालीन समयमा जिल्ला वन कार्यालयबाट निर्माण गर्न लागेको गुरुयोजनाअनुसार बाह्रकुने दहमा सुन्दर पार्क, ठाउँ–ठाउँमा पिक्निक स्पोर्ट, दहदेखि ज्यामिरेसम्म पैदल यात्राको लागि सिँढी, रेलिङ निर्माणको कामलाई पूरासँगै र थप चौतारा पनि निर्माण गर्न आवश्यक छ ।

त्यसँगै थप आकर्षणका लागि विभिन्न प्रकारका पूmलका विरूवाहरू रोप्न सकिन्छ । मैले मेरो कार्यकालमा जिल्लाकै प्रमुख धार्मिक एवम् पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि जग बसाल्ने काम गर्नका लागि पहल गरिरहेको छु ।

 बाह्रकुने दहलाई पर्यटन प्रबद्र्धन गर्न गुरुयोजना बनाउने कुरा थियो, कहाँ पुग्यो त्यो काम ?

 गुरुयोजनाअनुसार डिपिआर बनाएर बराह क्षेत्रको जिकासको काम सुरु भएको थियो तर डिपिआर बनाउँदा केही कमजोरी भएका कारण समिति र यस क्षेत्रका मानिसको असमति हुँदा काम रोकिएको छ । त्यो काममा सहमति जुटाएर मन्दिरलाई यथास्थानमा राखेर बाँकी कामलाई अघि बढाउनका लागि हामीले पहल गर्नेछौँ । डिपिआर बनाएर निर्माणका काम भएका छन् ।

नयाँ ठाउँमा मोर्डन पार्क, गेट, टिकट घर, मन्दिरका लागि जग्गा तारबार गर्ने काम भएका छन् तर डिपिआरअनुसार मुख्य मन्दिर र नयाँ पोखरी निर्माणका सम्बन्धमा असहमत छ । अहिलेको मन्दिर यथावत राख्दै मन्दिरदेखि दक्षिणतिर नयाँ ठाउँमा पोखरी निर्माण गर्नुपर्छ भन्ने हाम्रो माग छ । पुरानालाई यथावत राखेर नयाँ थप संरचना या आकर्षणका काम गर्न सकिन्छ ।

 बाह्रकुने र ज्यामिरे दहलाई जोडेरसँगै विकासको काम गर्ने भन्ने थियो नि, त्यो कसरी अघि बढ्यो ?

 धार्मिक एवम् पर्यटकीय क्षेत्र बाह्रकुने दह र सीमसार क्षेत्रका रूपमा परिचित ज्यामिरे दहलाई जोड्ने काम भएको छ । यसका लागि थप काम गर्न सकिन्छ । बाह्रकुने दहमा आउने वा यो बाटो भएर धेरै भक्तजन तथा पर्यटकहरू ज्यामिरे दहसम्म पुग्ने गर्नुहुन्छ । त्यसका लागि प्रदेश सरकारले करिब १५ लाख रूपैयाँ खर्च गरेर दहदेखि ज्यामिरे दहसम्म रेलिङसहितको सिँढी निर्माण गरेको छ । जंगलको बीचमा ठूलो पोखरीमा डुङ्गामा शयर गर्न सकिने भएकाले पनि धेरै मानिस ज्यामिरे जाने गर्नुहुन्छ । प्रचारप्रसारसँगै थप पूर्वाधारहरू निर्माण गर्नसके अझै आन्तरिक तथा बाह्य पर्यटकहरू बढाउन सकिन्छ । त्यसले यस क्षेत्रको बिकासका लागि सहयोग पु¥याएको छ ।

 अन्त्यमा केही भन्नु छ ?

 अहिले हामी सबैको ध्यान माघेसंक्रान्तिको अवसरमा बाह्रकुने दह स्थित मन्दिरमा हुने पूजापाठ र मेलालाई व्यवस्थापन गर्नतर्फ छ । त्यसैका लागि मन्दिर क्षेत्रमा सजावटदेखि सुरक्षा, व्यवस्थापनलगायतका काम भइरहेका छन् । मेलाका सन्दर्भमा मेलाको व्यवस्थापन, आगामी योजनासँगै माघेसंक्रान्तिको अवसरमा कुरा राख्ने अबसर दिएकोमा धन्यवाद दिन्छु । माघेसंक्रान्तिको अवसरमा बाह्रकुने दहमा लाग्ने मेला र बराहबाबाको दर्शन गर्न सबै भक्तजनमा पाल्नुहुन सादर अनुरोध पनि गर्दछु ।