जीवन आशा र भरोसाको संगम हो

  •   
  •  

नारायणप्रसाद श्रेष्ठ
जीवनले सधैँ नायकको भूमिकामा आफूलाई प्रदर्शन गरिरहेको हुन्छ । जसले कुनै पनि बेला नयाँ विचार दिनसक्छ । नयाँ कुराको सिर्जना गरी समाज रुपान्तरण गर्न आफूलाई समर्पित गर्दै उज्यालो भविष्य निर्माण गर्न सक्दछ । मानिस स्वयम् विवेकशील प्राणी हो । यसले कुनै पनि क्षणमा नयाँ इतिहास रच्दै अमरत्व प्राप्त गर्न सक्षम हुन्छ । तसर्थ, जीवनको यही सत्यलाई बुझी मानव भएर बाँच्न सिक्नु पर्छ ।

जिन्दगीमा यस्तो भयो, भएन भनी कहिल्यै गुनासो गर्नु हुँदैन । जीवन राँकोको उज्यालो ज्योति हो । यसलाई बाल्न जान्नुपर्छ । बाल्न जाने संसार उज्यालो हुन्छ । निराशा र आत्मग्लानी गरेर होइन, आत्मविश्वासका साथ हौसलाले भरिएको इच्छालाई कर्ममा रुपान्तरण गरी आफ्नो प्रतिभाको उजागर गर्नुपर्छ । जिन्दगीको बारेमा पहिले नै सबै निर्णय गरिहाल्नुभयो भने त्यो अभिशाप हुनसक्छ । जीवन सौभाग्यले प्राप्त भएको हो । यसले कुनै पनि बेला आफूलाई उत्तम नतिजा कर्ममा उतार्न सक्छ । आज नभए भोलि, भोलि नभए पर्सि यसले निश्चिय पनि विजयी हासिल गर्नसक्छ ।

जिन्दगीको सबैभन्दा दुःखद क्षण त्यो हो जसले आफ्नो सपनालाई आफैले सम्हार गरी आफैलाई बिलय बनाउँछ । जिन्दगीमा धेरै दुःख आउनसक्छन् । अप्ठेरो पनि पर्न सक्छ तर त्यो समस्या होइन । त्यो त परिस्थितिले ल्याएको अवस्था मात्र हो । यो समय सापेक्ष बदलिनसक्छ । तर आफ्नो सपना मर्नु भनेको खतरा तिम्त्याउनु हो । तसर्थ, निरन्तर संघर्ष गर्दै आत्मविश्वासका साथ आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ । मिहिनेत र पसिनामा नै सामाजिक उच्च आदर्शता लुकेको हुन्छ । यो सत्यलाई कदापि भुल्नु हुँदैन ।

वर्तमानमा जुन देखावटीपन छ, त्यो केवल स्वार्थभित्र लुटपुटिएको चिन्तन हो । मैले उसलाई केही गरेँ भने मात्र उसले मलाई सहयोग र सद्भाव गर्नसक्छ भनी सोच बढाउनु भनेको स्वार्थी चिन्तन हो र देखावटी चिन्तन हो । वास्तवमा यसले मानिसलाई खुसी बनाउन सक्दैन । मानिसले सधैँ स्वार्थभित्र मात्र कर्म गर्नु भनेको नितान्त कमजोर मानसिकताको उपज हो । वास्तवमा यो सबैभन्दा तुच्छ सोच र चिन्तन पनि हो । त्यसैले केही पाउने अभिलाषा राख्नुभन्दा मेरो उद्देश्य र कर्म सहयोग र सद्भाव हो भनी निःस्वार्थ भाव जागृत गर्दै आत्मविश्वासका साथ आफूलाई प्रस्तुत गर्नु जीवनको उपलब्धि हो ।

जीवनले सही र सत्य गन्तव्य निर्धारण गर्नु हो । यस्तो परिवेशमा जीवनले कुनै पनि बेला नयाँ रचनाको उद्घाटन गर्न सक्छ । तसर्थ, कहिल्यै पनि निराश हुनु हुँदैन । निराशाले आशाको दियो डुबाउन सक्छ । किनकि जीवन आशा र भरोसाको संगम हो । यहाँ हर हमेसा आशा, भरोसा, त्याग, समर्पण र हौसलाले मानिसलाई अगाडि बढ्न उक्साइरहेको हुन्छ । केवल त्यो क्षण र अवसरलाई समात्न जान्नुपर्छ । वर्षापछिको खेती के काम । डुब्न लागेको सूर्यको रोशनीलाई बिहानीको शुभसंकेत भनी कुर्लने मानसिकता भनेको पतनउन्मुख विचार हो ।

तेल सकिएर मर्न लागेको दियोझैँ समयको मूल्यांकन गर्न नसक्नु र परिस्थितिलाई नजान्नु मानवीय कमजोरी हो । तसर्थ, समय र परिस्थिति अनुकूल जीवन र जगतको वास्तविकतालाई बुझेर अगाडि बढ्न जान्नु पर्छ । आज नभए के भयो र ? भोलि त अवश्य हुन्छ भनी आशाको दियो जलाइ संघर्ष गर्दै जानु भनेको जीवनले सफलता प्राप्त गर्नु हो । जीवन मैनबत्तीको प्रकाश होइन, जो जल्दै सकिँदै जान्छ ।

जिन्दगी त सूर्यको त्यो रोशनी हो जसको कर्म र व्यवहारले ऊ चीरस्मरणीय हुँदै संसारलाई उज्यालो गतिमा आकर्षण गरिरहेको हुन्छ । त्यसैले झुठ र अफवाह र स्वार्थले ल्याउने झुठमाथिको झुठलाई बुझ्न सक्नुपर्छ । थोरै झुठले मानिसले फाइदा उठाउन सक्छन् भन्ने गलत मानसिकता राख्नु हुँदैन । आज एक झुठले केही फाइदा अवश्य होला तर त्यसले बढाउने अविश्वास र परिणामले मानिसको जीवनमा निकै भयावह परिस्थिति जन्मनसक्छ ।

जसको मनमा जस्तो प्रभाव परेको हुन्छ त्यस्तै उसको विचार पनि परिस्किृत हुँदै गरेको हुन्छ । चोरको संगत गरे चोर र साधुको संगत गरे साधु हुने सामाजिक दर्पणलाई कहिल्यै भुल्नु हुँदैन । बालापनमा भोगेको र देखेको सत्य जसरी यौवन अवस्था र प्रौढ अवस्थासम्म पनि देखापरिरहेको हुन्छ । त्यसरी नै गलत मानसिकताबाट प्राप्त उपलब्धिले सधैँ नकारात्मक चिन्तनतर्फ मानिसको विचार प्रवाह भइरहेको हुन्छ ।

यो सत्य कहिल्यै भुल्नु हुँदैन । जिन्दगी संघर्ष र सफलताको अर्को रुप पनि हो । तसर्थ कलुषित विचार र द्विविधा हटाइ सामाजिक विकृति स्वरुप देखाएको अनइच्छालाई दृढतापूर्वक सामना गर्नुपर्छ । मन र विचारमा उठ्न खोजेको अस्वाभाविक चिन्तनलाई पन्छाइ विचार, कर्म र व्यवहारमा शुद्धता ल्याउनु पर्छ ।

आमाको माया, बाबुको त्याग र समर्पणले ल्याएको आदर्श र त्यसले पारेको प्रभाव जसरी जीवनको हरेक समय, क्षेत्र र परिवेशमा सकारात्मक प्रवृत्ति उन्मुख भइरहेको हुन्छ, त्यो क्षण त्यो आमाको त्याग र समर्पण हाम्रो जीवनले सधैँ नपाउन पनि सक्छ तर आमाले हाम्रो मनभित्र रोपेको सकारात्मक विज सधैँ हुर्किरहेको सत्य हामीले कहिल्यै भुल्नु हुँदैन । आमाको माया नपाए पनि आफूले आमाको माया अरुलाई कसरी दिन सकिन्छ भन्ने सोच बढाउनु भनेकै जीवनलाई सफल बनाउनु हो ।

समाजमा यदाकदा देखिने कूरितीले जसरी मनको उज्यालोलाई पर्दा लगाउने चेष्टा गरेको हुन्छ त्यो भनेको गलत चिन्तन हो । यसले क्षणिक रुपमा हाम्रो मनमा हलचल नगराउला भन्न सकिन्न । तर पनि यो परीक्षा मलाई पुरस्कृत गर्न आएको चुनौती हो भनी सधैँ सफल हुन्छु र विकृति मेरो विचार होइन भनी समर्पित भइरहनु पर्छ । चोरी गर्नु, ढाँट्नु, छल्नु यो मानवीय स्वभाव होइन, धनी, गरिब यो अभिशाप पनि होइन । यो त समाजमा रहेको कुरितीले देखाएको विकृत चरित्र हो ।

तसर्थ, यसलाई बुझ्न सक्नुपर्छ । तसर्थ यो सत्यलाई बुझी सामाजिक सद्भावमा फेरबदल गर्न सक्नुपर्छ । समाजलाई आदर्शउन्मुख गराउँदै अघि बढ्नु भनेको जीवनले नयाँ इतिहास रच्दै जानु हो । मानवीय धर्म र आदर्श हो । यही आदर्श जीवनको सफलता पनि हो । स्थान विशेष कुरा गर्दै, फेर्दै पिठ पछाडि कुरा काट्दै जाने प्रवृत्ति बढ्नु भनेको स्वार्थ र अहंकारले जकडिनु हो । सबैको लागि घृणित हुनु पनि हो । यस्तो प्रवृत्ति देखाउनु भनेको आफै छटपटीमा पिल्सिनु हो ।

जीवन सधैँ आशा र भरोसामा गतिशील भइरहेको हुन्छ । यो कुन बेला, कहाँ, के कसरी सफलताको चोटीमा पुग्न समाथ्र्य हुन्छ, त्यो कुरा मानवीय चेतनाको अन्तरसत्यभित्र समाहित भएको हुन्छ । यसलाई कसरी प्रदर्शन गर्ने भन्ने मानवीय चेतनामा निर्भर रहेको हुन्छ । त्यसले यो सत्यलाई जीवनको उद्देश्यसँग गाँसेर समाज परिवर्तन मेरो जिम्मेवारी हो, समाजलाई आदर्श गति दिनु मेरो दायित्व पनि हो भन्ने मानसिकता राखी जीवनलाई सफलताको चोटीमा पु¥याउन सक्नु पर्छ ।

अहिलेसम्म जति पनि प्रदूषण देखापरेका छन्, ती सबै मानवीय चरित्रले विलाशीपनलाई आफ्नो उद्देश्यभित्र परिभाषित गरेर व्यवहार गरी देखाएको परिणाम हो । वास्तवमा यस्तो विकृतिको जड स्वयम् मानवीय चेतना हो । आफ्नो आङमा भैँसी हिडेको नदेख्ने, अरुका आङमा जुम्रा हिडेको देख्ने प्रवृत्ति नै सामाजिक विकृति हो । तसर्थ, यसलाई रोक्न सक्ने सामथ्र्य मानवीय चेतनामा राख्न सक्नुपर्छ ।

यसको लागि मनभित्र रहेको त्यो शक्ति जसले सधैँ सकारात्मक भाव जागृत गर्न खोजिरहेको हुन्छ, त्यसलाई चिनेर मानिस स्वयम्ले प्रतिपादन गर्न सक्नुपर्छ । तब मात्र नयाँ परिस्थितिको सिर्जना हुन पुग्छ । समाज आदर्श गति उन्मुख हुनसक्छ । जीवन सौभाग्यले प्राप्त भएको हो । सौभाग्य प्राप्ति नै जीवनको उद्देश्य हो भनी आफूलाई प्रस्तुत गरौँ, समयले यही खोजिरहेको छ ।