खाँचो पुस्तान्तरणको

  •   
  •  

भुवन पोख्रेल
सत्तामा पुगेपछि किन मान्छे त्यही चुम्बक चेप्टिए जसरी टाँसिइरहन खोज्छ ? सत्तामा पुग्न मरिहत्ते गर्ने र पुगेपछि सितिमिति पद छाड्न नचाहने, कुर्सीमोह प्रायः नेपालका नेतृत्ववर्गमा देखिन्छ । सत्तामा पुग्न र टिकिरहन नेतृत्ववर्गले आफ्नो आदर्श, सिद्धान्त र नैतिकतालाई कुल्चेर अघि बढ्छन् । कुनै पनि मठको योगी मठाधीश जसरी सत्तामा बसिरहन नेतृत्ववर्गका लाग शोभनीय देखिँदैन ।

नेतृत्ववर्ग जुका जसरी सत्तामा पुगेर चुसिरहने र म भएन भने देश चल्दैन भन्ने अहंकार कसरी जाग्छ होला ? शरीर बुढ्यौलीसँगै गल्दै जान्छ, मस्तिष्कले नयाँ उर्जा र सिर्जनशील काम गर्न छाड्छ, दिमागमा नयाँ योजना बन्न सक्दैन । तैपनि पद, पैसा र प्रतिष्ठाको भोक भने मर्दैन । शक्रिमा रहिरहने लालसा घट्दैन । जनताले मनपराउँदैनन् भन्ने पनि थाहा छ, बढ्दो जनघृणालाई लत्याएर चुनावी मैदानमा उत्रिनु हुँदैन । जित्न सकिँदैन, चुनाव भन्ने थाहा हुँदाहुँदै पनि किन होकिन्छन् त ?

स्वच्छाले नेतृत्वबाट अवकास ल्याएर क्षमताअनुसारको अन्य पेसा सम्हाल्ने कुनै नेता उदाहरण बन्नुपरेको छ, नेपालमा । जीवनको उत्तरार्धमा पनि शक्ति र सत्ताका लागि गरिएको संघर्षले पदलोलुपता देखिन्छ । जनआकांक्षाको सम्बोधन गर्न नसकेको नेतृत्ववर्ग चुनावको पूर्वसन्ध्यामा अत्तालिएको छ । जनमत अहिले विकल्प खोजिरहेको छ तर सत्ताले समय, समाज र राजनीतिलाई यथास्थितिमा राखिरहन चाहन्छन् । यही परिवर्तन र यथास्थितिबीचको द्वन्द्वबीच अन्य वैकल्पिक शक्ति संघर्षरत छन् ।

राजनीतिलाई व्यवसाय बनाउनु हुँदैन । नेताहरुले आफ्नो सत्ता उत्ताराधिकारीलाई सुम्पने नजिर बसाल्न सकेका छैनन् । हरेक शासकका श्रीपेच ढल्काएरै आर्यघाट पुग्ने सोच हुन्छ । कमै राजाले मात्र राजगद्दी आफ्ना उत्तराधिकारीलाई सुम्पेको इतिहास साक्षी छ । राष्ट्रपति बिलक्लिन्टन, बाराक ओबामा, एपिजे, अब्दुल कलाम समय सकिएपछि पहिलेकै पेसामा फर्किए । कैयौँ राजनीतिज्ञ लेखक, कूटनीतिक सल्लाहकार बने । नेपालमा भने एकपटक राजनीतिमा होमिएको व्यक्ति आफ्नो पेसा, व्यवसायमा फर्केको पाइँदैन । बरु आसेपासे, अपमानित भएर पनि सिंहदरबार वरिपरि झिँगा रिँगिरहेझैँ झुम्मिरहेको हुन्छ ।

क्षमता नभए पनि एकपटक कुनै स्तरको सत्तामा पुगेपछि उक्त व्यक्तिले राजनीतिलाई व्यवसाय बनाउन थाल्छ । सत्ता गुमेपछि मान, प्रतिष्ठा, पद पनि गुम्छ, सुविधा हराउँछ, पुराना भ्रष्टाचार गरेका फाइल खुल्नसक्छन् भन्ने डरले त्राहीमाम भइ असुरक्षाो कारणले यो सत्ताको चाबी सितिमिति अरुलाई सुम्पन चाहन्न र मान्छेमा झनै सत्तामा मोह बढ्छ । भ्रष्टाचार गर्ने अधिकारपत्र राजनीतिलाई सोच्न थालेपछि सत्ता गुम्नेबित्तिकै लाइसेन्स खोसिने भयो ।

अन्यत्रको घटनाले उनीहरुलाई झस्काइरहन्छन् । दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाले सत्ता हस्तान्तरणको राम्रो नजिर त बसाले, भ्रष्ट श्रीमतीसँग पारपाचुके पनि गरे तर उनकै सहयात्री पूर्व राष्ट्रपति ज्याकोव जुमा भने भ्रष्टाचारी भएर जेल चलान भए । फ्रन्सेली पूर्वराष्ट्रपति निकोला सर्कोजी भ्रष्टाचारी नै बने । पेरुका भिज्कारा मार्टिनलाई १० वर्ष सार्वजनिक पदको प्रतिबन्ध लगाइयो ।

अहिले नेतृत्ववर्गको भ्रष्ट चरित्रका कारण चुनावको सांघारमा स्वतन्त्र उम्मेदवारीको मूलधारका पार्टी दबाबमा छन् । छटपटिएका जनता र कार्यकर्ताले बसाइ नसरुन्, अन्तरघात नगरुन् भनी नेतृत्ववर्गमा चिन्ता छाएको छ । नेतृत्ववर्गका लागि ठूलो चुनौती भनेकै नेता र कार्यकर्ताको महत्वाकांक्षा व्यवस्थापन गर्नु हो । राजनीतिमा परिवर्तनका खातिर थुप्रै आन्दोलन भए तर परिवर्तन संस्थागत बन्न सकेन । मुलुकमा नीति बदलियो तर नेताहरुको नियत बदलिएन । नेतृत्व फेरियो तर नेतृत्ववर्गको प्रवृत्ति फेरिएन । व्यवस्था बदलिए पनि शासकका पुरानै अनुहार सत्तामा दोहोरिएका छन् । नेतृत्ववर्गको सत्तालिप्साका कारण भूइँमान्छेले लोकतन्त्र र गणतन्त्रको अनुभूति गर्न पाएनन् ।

जनताले परिवर्तनको आशाको किरण भेटाउन सकेनन् । राणाकालमा जनताले १०४ वर्ष अन्याय, शोषण, दमन, उत्पीडन र चरम निरंकुशता भोगे । पञ्चायतकालमा पनि त्यस्तै अवस्थाको सामना गर्न पुगे । अहिले नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भइरहँदा पनि जनताले अन्याय, अत्याचार, गरिबी, पछौटेपन र चरम निरंकुशता भोग्न विवश हुनुलाई विडम्बनापूर्ण नियति ठान्नु पर्दछ । लोकतन्त्र, गणतन्त्र आएपछि यसबाट मुक्त हुने चाह राखेका जनताले अहिले पनि गरिबी, अभाव, बेरोजगारी र बेथिति भोग्नुप¥यो ।

नेताहरु दलगत र व्यक्तिगत स्वार्थमा लिप्त भए । जनताका पिरमर्का र गुनासो कहिल्यै सुनेन । जनताका आकांक्षा र आशाप्रति कहिल्यै गम्भीर बनेन अर्थात्जनउत्तरदायी बन्न सकेनन् । फलस्वरुप राजनीतिक दल र दलका नेताप्रति जनतामा वितृष्णा बढ्दै गयो । तैपनि जनताले नेताहरु केही बदलिन्छन् कि भन्ने आशा राखी चुनावमा अमूल्य भोट हालिरहे । नेतृत्ववर्गलाई जनताले पटक–पटक आशावादी बनेर चुनाव जिताए पनि बदलामा जनताले महँगी, बेरोजगारी, गरिबी बहुमूल्य उपहारको रुपमा पाए ।

नेताहरु नबदलिएकै कारण जनतामा आक्रोश र निराशा व्याप्त भयो । नेतृत्ववर्गको द्वैतचरित्रका कारण जनसरोकारका मुद्दाहरु सधैँ ओझेलमा पर्न पुगेका हुन् । लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएका कारण नेतृत्ववर्गप्रतिको जनआस्था घटेको हो । अहिलेको मुलुकको राजनीतिक परिदृश्यलाई नियाल्ने हो भने मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा भएसँगै उनै पुराना अनुहार सत्तामा पुग्ने जमर्को गर्दै सल्बलाइरहेका छन् । जनतालाई दुःख, हैरानी, कुशासन, भ्रष्टाचारलाई प्रश्रय दिएका नेताहरु सत्ता र शक्तिमा पुग्ने सपना देख्न थालिसकेका छन् ।

राजनीतिबाट सन्यास लिएर बृद्धभत्ता खाएर बस्नुपर्ने नेताहरुको सत्तालोलुप प्रवृत्तिका कारण देश र जनताको भविष्य अन्धकारतर्फ धकेलिने प्रायः निश्चित छ । अब चुनावको पूर्वसन्ध्यामा हामी जनता सचेत हुने बेला आएको छ । अबको चुनावमा यथास्थितिवादी भ्रष्ट प्रवृत्तिलाई निरन्तरता दिने कि राज्य सञ्चालनमा नयाँ, जोस, उमंग बोकेर ाएको प्रवृत्तिलाई अवसर दिएर परिवर्तन खोज्ने ? निर्णय गर्ने बेला हाम्रो आएको छ । हाम्रो एक दिनको गलत निर्णयले पाँच वर्षसम्म हामीलाई पश्चाताप नहोस् । राजनीतिक नेतृत्ववर्ग नै देशको समस्या वा बोझ बन्न पुगेको छ । उक्त बोझलाई पत्तासाफ गर्ने भनेकै चुनाव हो । चुनाव यस्तो हतियार हो जसले हामी भ्रष्ट नेतृत्वलाई पाखा लगाउन सक्छ र नेता बन्न कुनै गुण नभएका नेतृत्वलाई बढारेर पाखा लगाइदिन्छ ।

हामी जनताले नेताहरुको नियति बदलिएला भनेर पटक–पटक विश्वास गरेर चुनाव जिताएर सत्तामा पठायौँ तर नेतृत्ववर्ग कहिल्यै फेरिएन । हामीले पटक–पटक निराशा मात्र भोग्नु प¥यो । जनताले लामो प्रतीक्षा गरिरह्यौ, नेताहरुको सोच र कार्यशैली कहिल्यै बदलिएन । नेता र नेतृत्व नबदलिए पनि हामी त अब बदलिन सक्छौँ नि । नेतृत्ववर्गलाई सदाका लागि बिदा गरेर उच्च नैतिक छवि, बौद्धिक क्षमता भएका नेता छनोट गर्न पछि नपरौँ ।

कुनै पूर्वाग्रह नराखी कुपात्रलाई पाखा लगाइ योग्य, सक्षम, क्षमतावान, उर्जावान युवालाई आफ्नो जनप्रतिनिधि छनोट गर्न सक्यौँ भने समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न सक्छौँ । असल जनप्रतिनिधि छनोट गर्ने जिम्मेवारी जनताका काँधमा आएको छ र यो निकै चुनौतीपूर्ण छ । असल जनप्रतिनिधि छनोट गर्न नसक्दाको परिणाम हामीले धेरैचोटि भोगिसक्यौँ ।

हामी जनता कुनै डर, त्रास, प्रलोभन, धाकधम्कीमा नपरी स्वविवेकले आफ्ना कुशल, योग्य, क्षमतावान्, जुझारु, नेतृत्व छनोट गर्न सक्यौँ भने अर्को पाँच वर्ष हामी पछुताउनु पर्दैन । जनता अब पटक–पटक भ्रष्ट नेतृत्वबाट आशा राख्न सक्दैनन् । जनताको धीरताको बाँध टुटिसकेको छ । हाम्रा नेतृत्ववर्ग सर्वसाधारणसँग घुलमिल र कहिल्यै एकाकार हुन सकेनन् । जनताका छोराछोरी जनताबाट नै टाढा पुग्नुलाई विडम्बना ठान्नुपर्छ ।

जनताले जिताएर पठाएका जनप्रतिनिधि सत्तामा पुगेपछि जनताकै पेटमा छुरा चलाएपछि कसरी जनप्रिय बन्न पुग्लान् र ? अहिले यन्द्रजात्राको परिदृश्य हेर्ने हो भने बालेन गाडीबाट ओर्लिएर सर्वसाधारणको भिडमा पैदल हिड्दा जनताको आत पनि छोयो । स्वतःस्फूर्त जनताको मुखबाट बालेन बालेन भन्ने स्वर गुञ्जियो । उनीहरुले युवा मेयरप्रतिको जुन प्रेम र लोकप्रियता दर्शाए यसबाट मुलुकका अन्य पदाधिकारीले पनि पाठ सिक्नु जरुरी छ । बालेनको उपस्थिति मुलुकमा नयाँ राजनीतिक नेतृत्वको पदार्पण भइरहेको सन्देश पनि हो ।

अहिलेको राजनीतिक नेतृत्व हिजो सर्वसाधारणकै घरआँगनबाट आटोपिठो र ढिडो खाएर हुर्किएको होइन र ? नेताहरुलाई सर्वसाधारणले आश्रय दिएर, प्रशासनको आँखा छलेर बचाएका छन् । आफ्नै भान्साको खाना खुवाएर पालेको विगतलाई यति सजिलै कसरी बिर्सन सकिन्छ खोइ, सत्ता आरोहणपछि । आज ती नेतृत्ववर्गले आफ्नो विगत बिर्सिसकेका छन् । दलहरुले आर्यघाट नपुगुञ्जेलसम्म सत्ता नछाड्ने प्रवृत्तिको अन्त्य गरी नेतृत्व हस्तान्तरण गर्न ढिला भइसकेको छ ।

दलहरुले आगामी निर्वाचनमा प्रभावशाली उम्मेदवार दिन नसक्ने हो भने बालेन प्रवृत्ति वैकल्पिक शक्तिको पमा नउदाउला भन्न सकिँदैन । यस्तो परिणाम आउनु दलहरुका लागि पक्कै सखद होइन । स्थानीय तहको निर्वाचनबाट नै परिवर्तनका संकेत देखापर्न थालिसकेका छन् । दलहरुप्रति असन्तुष्टिका परिणाम स्वरुप बालेन प्रवृत्ति मौलाएका छन् । दलहरुप्रतिको असन्तुष्टिका परिणाम स्वतन्त्र उम्मेदवार वैकल्पिक राजनीतिक शक्ति उदाइरहेका छन् । विभिन्न स्वतन्त्र व्यक्तिले प्रयास गरिरहेका छन् ।

अहिले नयाँ पिढीसँग धेरै आफ्नो बारेमा आम नागरिकको मनोभाव कस्तो छ ? सामाजिक सञ्जालका प्रतित्रिया हेरेर आत्मसमीक्षा र विश्लेषण गर्ने क्षमता छ । सूचना तथा सञ्चारका कारण मान्छे हिजोभन्दा आज बढी जान्ने भइसकेका छन् । आम जनतामा आज छटपटी छ । यही मुलुकमा आफ्नो भविष्य त वर्वाद भयो अब सन्ततीको भविष्य कसरी सुनिश्चित गर्ने भन्ने चिन्ता छ ।

अब मुलुकको बागडोर बाहरुले होइन छोराहरुले सम्हाल्नुपर्ने बेला आएको छ । बालेन पुस्तालाई देशको जिम्मेवारी सुम्पने परिस्थिति आइसकेको छ । अबको चुनावमा दलका नेताहरुले युवा अनुहारलाई उम्मेदवार बनाउनुपर्छ । जनतामा देखिएको परिवर्तनको चाहनालाई आत्मसात गरेर नेतृत्व चयन गर्दा पुस्तान्तरणको खाँचो छ । मख्य दलका नेताहरु अब लठ्ठी टेकेर उम्मेदवारी दर्ता गर्न सुहाउँदैन, आफ्नो विकल्पमा सक्षम, उर्जाशील, जुझारु युवा पुस्तालाई उभ्याउनसक्ने हो भने जनता निराश हुने छैनन् र जनआकांक्षाको कदर हुनेछ । जनताले मुलुकमा परिवर्तनका लागि वैकल्पिक शक्तिको खोजी गरिरहेका छन् ।