Goraksha

National Daily

स्वदेशी उत्पादनलाई विश्वास गरौ : व्यवसायी श्रेष्ठ (अन्तर्वार्ता)

1 min read

पछिल्लो समयमा स्वदेशमा उत्पादन गर्ने उद्योगहरुको संख्या बढ्दै गएको छ । विभिन्न समस्याहरु भोग्दै स्वदेशी उद्योगहरु सञ्चालनमा भइराखेका छन् । उद्योग स्थापनाको लागि राज्यले महत्वपूर्ण भूमिका हुन्छ । लगानीको वातावरण निर्माण गर्ने काम पनि राज्यको हो तर त्यो वातावरण अझै बन्न सकेको छैन ।

राज्यको तर्फबाट स्वदेशी उद्योगहरुलाई प्रोत्साहनको त्यस्तो आकर्षक प्याकेज पनि दिन सकेको छैन । त्यसकारण राज्यको यस प्रकारको प्रवृत्ति परिवर्तन हुन त्यतिकै आवश्यक छ । अहिले पनि धेरै युवाहरु बेरोजगार छन् । उनीहरु काम खोज्दै देश छोड्न बाध्य छन् । तिनलाई स्वेदशमै रोक्नका लागि उद्योगहरु स्थापना गरेर रोजगार दिन सकिन्छ । यसमा पनि राज्यले ध्यान दिन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका वडा नं १८ अम्बापुरमामा रहेको डाइनामिक फुड्स प्रालिले पनि बिस्कुट उत्पादन गर्दै आएको छ ।

उद्योगहरुले उत्पादन गर्दै आएको विस्कुट देशको पूर्वदेखि पश्चिमसम्म नै पुग्ने गरेको छ । उद्योगले उत्पादन गरेको बिस्कुटको माग समेत बढ्दै गएको छ । बिस्कुट उद्योग सञ्चालनमा के–कस्ता सम्भावना तथा चुनौतीहरु छन् ? ती विषयमा केन्द्रित भएर गोरक्षकर्मी अमरराज आचार्यले उद्योगका डाइरेक्टर रमेश श्रेष्ठसँग गरेको कुराकानीको सार संक्षेप ।

 गोरक्षको सातावार्तामा यहाँलाई स्वागत छ ?

 धन्यवाद यहाँ र गोरक्षपत्रिकालाई यो विचार राख्ने अवसर प्रदान गरेकोमा ।

 उद्योगको अवस्था कस्तो रहेको छ ?

 हरेक क्षेत्रमा समस्याहरू रहेका छन् । उद्योग क्षेत्र पनि त्यसबाट अछुतो रहेको छैन । विभिन्न समस्या रहँदारहँदै पनि उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता छ । जसले गर्दा उद्योगहरूको विकास हुन समेत सकेको छैन । हामीले उत्पादन गरेको विस्कुट विक्रीमा भने कुनै समस्या छैन ।

उत्पादन भएको बिस्कुट पूर्वी नेपालदेखि पश्चिम नेपालसम्म पुग्ने गरेको छ । हामीले नाफा भन्दा पनि वस्तुको गुणस्तरमा ध्यान दिएका छौँ । त्यसैले यसको प्रयोग गरेकाले खोजी गर्नुहुन्छ । यसैको कारणले पनि होला विक्री नहुने समस्या हामीले उत्पादन गरेका बिस्कुटको छैन ।

 उद्योग सञ्चालन गर्दा के कस्ता समस्या भोग्नु परेको छ ?

 उद्योग सञ्चालनका लागि विद्युतको समस्या रहेको छ । विद्युतको अनियमितता, लो–भोल्टेजले गर्दा धेरै समस्या हुने गरेको छ । बत्ती आउने–जाने गर्दा मेसिन बिग्रिने गरेका छन् । त्यसले पनि नोक्सानी व्यहोर्नुपरेको छ । विद्युत नहुँदा जेनेरेटरको प्रयोग गर्नुपर्ने बाध्यता छ । जेनेरेटर प्रयोग गरेर उत्पादन गर्दा लागत मूल्य वृद्धि हुन्छ । जसले गर्दा बाहिरबाट आउने वस्तुसँग प्रतिस्पर्धा गर्न सकिँदैन ।

उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ समेत बाहिरबाट ल्याउनु पर्दा समस्या हुने गरेको छ । उद्योगको मेसिनमा प्रयोग हुने सामग्री समेत जिल्लामा पाइँदैन । बाहिर गएर ल्याउनु पर्दछ । जसले सानो सामग्रीका लागि समेत धेरै रकम र समय खर्च गर्नुपर्ने बाध्यता रहेको छ । उद्योगका लागि आवश्यक पर्ने जग्गा समेत सहज रूपमा प्राप्त गर्नसक्ने अवस्था छैन । जसले गर्दा उद्योगहरू स्थापना हुन समेत सकेका छैनन् ।

 उद्योगका लागि आवश्यक पर्ने जनशक्तिको अवस्था कस्तो छ ?

 उद्योगका लागि जनशक्तिको पनि समस्याको रूपमा नै रहेको छ । उद्योगमा दक्ष जनशक्तिको अभाव त्यस्तै छ । अदक्ष कामदारबाट काम गराउनुपर्ने बाध्यता रहेको छ । यसरी काम गर्न आउनेहरू पनि लामो समयसम्म नटिक्ने समस्या छ । आउने–जाने चलिरहन्छ । कहिले धेरै हुन्छन्, कहिले थोरै हुन्छन् ।

हामीले भनेअनुसार काम र कामदार समेत पाउनसकेका छैनौँ । अहिले पनि धेरै बेरोजगारको समस्या छ । हामीले भने कामदार पाउन बडा समस्या छ । कामदारमा काम गर्ने इच्छाशक्ति भएको पनि देखिँदैन । दैनिक ८ घण्टा काम गर्नुपर्दछ भन्ने छैन । विदेशमा गएर जे काम पनि गर्न तयार हुने तर आफनै ठाउँमा काम गर्न नमान्ने प्रवृत्तिका कारण यस्तो समस्या भएको हो । स्वदेशमै केही गर्नु पर्दछ भन्ने सोचको विकास हुन अत्यन्त जरुरी छ ।

 नेपाली उद्योगलाई हेर्ने राज्यको दृष्टिकोण कस्तो पाउनुभएको छ ?

 राज्यले स्वदेशी उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने हो तर त्यस प्रकारको अवस्था छैन । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न राज्यले निित ल्याउनु पर्दछ । जसले गर्दा स्वदेशी उद्योगहरूको विकासमा सहयोग पुग्नेछ । अहिले पनि धेरै नागरिकले स्वदेशी वस्तु प्रयोग गरेको पाइँदैन् ।

स्वदेशमा पनि गुणस्तरीय वस्तु उत्पादन भए पनि विश्वास नगर्दा प्रयोग हुन नसकेको हो । यसलाई परिवर्तन गर्न जरुरी छ । सरकारले नागरिकलाई विश्वास गर्ने वातावरण सिर्जना गर्नु पर्दछ र स्वदेशी उद्योग सञ्चालनको लागि लगानीको वातावरण निर्माण गर्ने मुख्य काम सरकारको हो ।

 स्वदेशी उद्योगको विकासका लागि राज्यले के गर्न आवश्यक छ ?

 राज्यले स्वदेशी उद्योगको विकासका लागि स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति ल्याउनु पर्दछ । उद्योग स्थापनाका लागि छुट्टै औद्योगिक क्षेत्र बनाउनु पर्दछ । अहिलेसम्म जिल्लामा औद्योगिक क्षेत्र निर्माण हुनसकेको छैन । जुन बस्ती स्तरभन्दा टाढा रहोस् । औद्योगिक क्षेत्रमा सडक सुविधा, नियमित विद्युतको व्यवस्था, पानीको सुविधा पु¥याउनु पर्दछ ।

औद्योगिक क्षेत्र स्थापना भएमा उद्योगहरू स्थापनाका लागि सहज हुन्छ । उनीले आफैले जग्गा किन्नु पर्दैन । उद्योग स्थापना गर्नका लागि आफैले जग्गा किन्नु पर्दा उद्योगमा लगाउने रकम नै सकिने गर्दछ । उद्योगी बन्न चाहनेहरूलाई सरकारले सहज र सहुलियतमा ऋणको व्यवस्था गरिनु पर्दछ । अहिले लगानी गर्नका लागि सहज रूपमा ऋण पाउने अवस्था समेत छैन ।

यसले गर्दा धेरै उद्योगी तथा व्यवसायीहरूलाई समस्या भोग्नुपरेको छ । यसतर्फ सरकारले ध्यान दिनु पर्दछ । अहिले स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले समेत उद्योगी तथा व्यवसायीहरूलाई सहयोग गरेको पाइँदैन ।

 अन्त्यमा केही छ कि ?

 हामीले सञ्चालन गरेको उद्योगको बारेमा कुरा राख्न दिनुभएकोमा तपाईँ र गोरक्ष पत्रिका परिवारलाई धन्यावाद दिन चाहन्छु । हामी परनिर्भर होइन, आत्मनिर्भर हुन आवश्यक छ । नेपालमा धेरै सम्भावनाहरू छन् । ती सम्भावनाहरूको सदुपयोग गरेर अगाडि बढ्न आवश्यक छ । देशलाई आत्मनिर्भर बनाउन सबै मिलेर अगाडि बढ्नु पर्दछ । यसका लागि आफैले केही गर्नु पर्दछ भन्ने र अगाडि बढ्न सक्नुपर्दछ ।

नेपाली धेरै छाडा छौँ । अनुशासित हुन जरुरी रहेको छ । काम गर्न चाहेमा धेरै अवसर समेत यही छन् तर हामी रोजगारका लागि विदेशिने गरेका छौँ । विदेशमा गएर जस्तो काम गर्न पनि तयार हुन्छौँ तर नेपालमा काम गर्न लाज मान्छौँ । यस प्रकारको प्रवृत्ति हटाउनु पर्दछ । राज्यले उद्यमशीलतामा जोडिनका लागि प्रोत्साहन गर्नुपर्दछ । जसले गर्दा स्वदेशी उद्योगहरूलाई अगाडि बढाउन सहयोग मिल्दछ । उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण, बजार व्यवस्थापनमा सहयोग गरिदिनु पर्दछ ।

विदेशमा उद्योगबाट उत्पादन भएका वस्तुसँग प्रतिस्पर्धा गर्न नेपाली उद्योगलाई समस्या छ । यसैगरेर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु पर्दछ । अहिले पनि स्वदेशी वस्तुलाई विश्वास गर्ने वातावरण सिर्जना हुनसकेको छैन । यसतर्फ राज्यले ध्यान दिनुपर्दछ । यस क्षेत्रमा आउन चाहनेहरूलाई आप्mनो क्षेत्रबाट सहयोग रहन्छ ।