नेपाली सभ्यता र चिनारीलाई जीवन्त राखौँ

  •   
  •  

नारायणप्रसाद श्रेष्ठ
नेपाल शान्त र प्रकृतिक मनोरम छटाले भरिएको सुन्दर संसार हो । यहाँका हिमशिखर, झरना, खोला, नदी, नाला, पहाड, उर्वराभूमि, तराई आफैमा विशिष्ट पहिचान बोकेर बसेका छन् । प्रत्येक नेपाली दाजुभाइ दिदीबहिनीहरु आफैमा स्वाभिमान भएर स्वतन्त्र रुपले बाँच र बचाउने संकल्पका साथ आफूलाई प्रदर्शन गरी बाँचेका छन् । कोही कसैको वर्गशत्रु छैनन् । हामी सबै रचनाकारको एउटै वंशका मानव हौँ ।

मानव–मानवबीचको सुमधुर सम्बन्ध हाम्रै आचरण र व्यवहार हो । हाम्रै पवित्र आचरण र व्यवहारले हाम्रो संस्कृति र संस्कार परिस्कृत हुँदै आएको छ । आपसी सहयोग र सद्भाव हाम्रो प्राचीन आदर्शभित्र लुकेको सभ्यता हो । यहाँका हरेक नेपाली नेपाल आमाका सुयोग्य सपुत भएर बाँच्न चाहन्छन् । हाम्रो उद्देश्य सुन्दर र शान्त नेपाल हो । यहाँ स्थित हरेक प्राकृतिक सम्पदा र विशिष्ट आचरण शान्तिको उद्गम स्थल मानिन्छ । प्रकृतिको वरदान भएर रहेको नेपालको अस्तित्व आफैमा विशिष्ट पहिचान बोकेर विश्व सामू परिचित छ । साच्चिकै भन्ने हो भने नेपाल विदेशी मित्रहरुको आँखामा भूस्वर्ग भएर पर्यटकको आकर्षक केन्द्र बनेर विश्वसामू चिनिएको छ ।

नेपालको गरिमा आफैमा आचरण र इमानदार भएर विश्वमानचित्रमा पाइन्छ । यसरी भावनाको पवित्र गंगा बगाउँदै आफ्नो अस्तित्व कायम गरेर युगौँदेखि अविछिन्न र अविचलित भएर विश्वसामू गर्वका साथ नेपाल अघि बढेको छ । ऋषिमुनिको तपोक्षेत्र, देवताले बास गरेको पुण्य भूमि, नेपालका हामी नेपाली आशलाग्दो भविष्य बनेर विश्वसामू उदाइरहेका छौँ । सानो भएर पनि सबैको आँखाको नानी भइ पहिचान दिएका छौँ । नेपालको गौरवमय इतिहास कोर्दै स्वतन्त्र अस्तित्व कायम गरेर स्वाभिमानी नेपाली भएर यसको गरिमा बढाएका छौँ । पहिचान दिन कहीँकतै छुटेका छैनौँ ।

यसरी आफ्नै बुद्धि र विवेकले मल–जल दिइ हुर्काइ बढाएको स्वतन्त्र र अविभाज्य नेपालको स्वाभिमानमा २१औँ शताब्दीको हवाला दिँदै विकास र समृद्धिको नारा दिइ वर्तमान नेपालको राजनीतिक परिदृश्यले यसको अस्तित्वमाथि धमिरा लगाउन खोजिएको हो कि जस्तो देखिएको छ । राजनीतिमा देखिएको व्यक्तिवादी चरित्र र अहंकारयुक्त राजनीतिक सोचले यसको विशिष्टतामाथि आँच पु¥याउन विभिन्न हतकण्डा गरिँदै छ । कहिले के, कहिले केको नाममा विदेशीको गुलाम बन्ने चरित्र चरितार्थ हुँदैछ । सोझा र निःस्वार्थ सेवामा समर्पित नेपाली आचरणको गलत फाइदा उठाइ नेतृत्वले यसको गरिमामा आँच पु¥याउन खोजेको देखिँदैछ ।

काग कराउँछ पिणा सुक्छ भन्ने उखानझैँ जति नै कराए वा उफ्रिए पनि नेतृत्वले जनताको आवाज सुनिरहेको अवस्था छैन । विदेशी घुसपैठ बढाइ देशको अस्तित्वमाथि खेलवाड गरिँदैछ । सञ्चार र सूचनाले साँघुरिएको विश्वजगतको व्यवहार र उसको भावि उद्देश्यलाई नबुझी क्षणिक लोभ र मोहमा फस्दै विदेशी घुसपैठ बढाइँदैछ । नैतिकताबिनाको राजनीतिक चरित्र प्रदर्शन गरी आफू र सिंगो नेपाललाई बदनाम गराउनेतर्फ नीतिज्ञको ध्यानकेन्द्रित भइरहेको देखिन्छ । म नै सबै हुँ, अरु त केही पनि जान्दैनन् भनी अहंकारयुक्त राजनीतिक घमण्डले राष्ट्रिय स्वार्थभन्दा व्यक्तिवादी सोच हाबी भइरहेको छ ।

विवेकलाई पैसामा सौदा गर्दै सत्ता, महत्ता प्राप्त गर्ने होडबाजीमा अहिले पनि उनै राजनीतिक व्यक्तिको भागदौड बढिरहेको छ । बनावटी सिद्धान्तभित्र आफूलाई योग्य र इमानदार नेतृत्वकर्ताको रुपमा प्रस्तुत गर्ने जमर्को गरिँदैछ । राजनीति अवसर हो । योग्य र इमानदार कार्यकर्ताको जमात हो भन्ने कुरा बिर्सिएर पद र प्रतिष्ठाभित्र आजीवन रमाउने चेष्टा हरेक क्षेत्रमा बढ्दै छ । म पछि मेरो उत्तराधिकारी सक्षम हुनुपर्छ, उसले अवसर पाउनुपर्छ भन्ने सोच कमजोर बनेको छ । पद र मर्यादालाई समेत वास्ता नगरी निहित स्वार्थभित्र राष्ट्रिय अस्मितासँग खेलवाड गर्ने राजनीतिक चरित्र वर्तमानमा सल्बलाइरहेको छ । बाहिर–बाहिर निको होइजा, भित्र–भित्र कोइजा यस्तै उखान चरित्रतार्थ हुने गरी राजनीतिज्ञले आफूलाई प्रस्तुत गरिरहेका छन् ।

सुन्दर, शान्त, विशाल वटवृक्षको छहारीमा रहेर विश्वमानचित्रमा भूस्वर्ग मानिएको नेपाल र नेपालीको चाहना शान्ति र सद्भाव मानिन्छ । यसरी सदियौँदेखि स्वतन्त्र रहेर दुःख, कष्ट सही आर्जेको अस्तित्वमाथि नेताहरु आफै धावा बोलिरहेका छन् । नारी अस्मिता बचाउने नाममा आफ्नै आमाको छातीमा (नेपाल भूमि) टेक्ने दुःसाहस प्रदर्शन गरिरहेका छन् । मानव हृदयभित्र रहेको पवित्रता विरुद्ध गलत स्वभावकालाई काखी च्यापी राष्ट्रिय अस्मितामाथि आँच पु¥याउने कार्य नेताले गर्दै आएको देखिन्छ ।

आपसी विश्वासको संकटले आफ्नो आङमा जुम्रा नदेख्ने अरुलाई औँला ठड्याउने प्रवृत्तिले भ्रष्टाचार मौलाइरहेको छ । एकअर्कालाई दोषारोपण गर्दै भ्रष्ट र भ्रष्टाचारी स्वयम् नाङ्गिँदै छन् । आफ्नो लागि वकिल अरुको लागि न्यायाधीश बनेर प्रस्तुत हुने कार्य भइरहेको छ । गुटको राजनीतिभित्र सिङ्गो मुलुकलाई धकेलिँदै छ । व्यक्तिगत स्वार्थले नेताहरु स्वयम् पतीत हुँदैछन् ।

प्राकृतिक स्रोत र साधनले सम्पन्न भएर पनि आफ्नो स्वामित्व ग्रहण गर्न अरुको निर्देशन पालन गर्ने अवस्था जन्माइँदै छ । एसियाकै जलस्रोतको धनी मानिएको हाम्रो जलस्रोतमाथि के–के न गर्छौँ भन्दै सम्झौता गरेर अरुको दास बन्नुपर्ने अवस्था अहिले नेपालीमाथि परेको छ । नदीनालामात्र होइन प्राकृतिक सम्पदा र खानीतर्फ विश्वको आँखा गढेको थाहा हुँदाहुँदै पनि उनीहरुकै कुटिल चालभित्र नेताहरु आकर्षित भइरहेको देखिन्छ ।

कर्म नै जीवन हो, सत्यतामा आधरित कर्म नै विश्वासको धरातल मजबुत बनाउने उत्तम विकल्प हो भनी युगौँदेखि विश्वसामू इमानदार भएर प्रस्तुत भएको नेपालको गरिमामा आँच पुग्ने गरी नेतृत्वले पैसा र शक्ति प्राप्तिको मोहमा अहिले आफ्नो आदर्शलाई छताछुल्ल बनाइरहेका छन् । राजनीति जनताको सेवक भएर गरेका छौँ र गर्नेछौँ भनी झुठो आश्वासन दिइ जनता झुक्याउने जुन चरित्र नेताबाट भइरहेको छ, यसले नेपाली मनमा चिन्ताको अनुभूति बढाउँदै छ । म नै सत्ताधारी हुँ भन्ने इमानदारीको घाँटी निमोठिँदैछ ।

राजनीतिमा छिट्की हान्ने परम्परा त हिजो पनि थियो, आज पनि हुनु अस्वाभाविक मानिँदैन । तर आचरण र नैतिकता नै गुमाएर आफ्नो जिम्मेवारी बोध गर्न नजान्नेले देशको लागि केही गर्छु भनी पटक–पटक जनता झुक्याउनु कति उपयुक्त ? यति मात्र होइन लज्जा र जिम्मेवारीबोध गर्न नसक्ने तर नीतिगत तहमा पुगी नेतृत्व गर्छु भन्ने र एकाधिकारवादी चिन्तन बोकेका नेताको पुच्छर भएर ल्याप्चे लगाउने हाम्रा प्रतिनिधि देख्दा नेपाली मन कति दुख्छ होला ? के यो कुरा राजनीतिज्ञले नबुझेका हुन् र ? तसर्थ स्वर्गसस्तो प्राकृतिक स्रोतको धनी भएर पनि सूनको थालीमा भीक्षा माग्नुपर्ने नेपालीको अवस्था कहिलेसम्म रहने हो ?

नेपालको धरती नेपाल र नेपालीको हो । पिँध नभएको लोटाझैँ जतापनि ढल्कने चरित्र अवसरवादी नीति हो । त्यसैले सम्यमता र धीरता हाम्रो आदर्श हो । नेपाल र नेपाली अस्तित्व हाम्रो स्वाभिमान हो भनी अब सबै जुर्मुराउनुपर्ने छ । सही र स्पष्ट नीति अहिलेको आवश्यकता हो । त्यसैले युवा राष्ट्रका कर्णधार हुन्, योग्यता र पहिचानमा आधारित एवम् अनुशासित जीवन यिनैबाट प्राप्त हुनसक्छ भन्ने बलियो आधार तयार गर्न अब लाग्नुपर्ने भएको छ ।

विचार र दृढतामा अटल रही राष्ट्र र राष्ट्रियताप्रति चिन्तनशील हुनुपरेको छ । झुकेर होइन डटेर सामना गर्ने नेपाली आचरणलाई समाहित गरी निष्पक्षतापूवर्क कोहीकसैको मोलमोलाइचा र लोभमा नफसी आफ्नो पुरानो सभ्यता र चिनारीलाई जीवन्त राख्दै अघि बढ्न अब सबैले संकल्प गर्नुपरेको छ । समयले यही खोजिहरेको छ ।