राष्ट्रिय धान दिवस : युरिया तिमी किन आएनौ ?

  •   
  •  

खेमराज रिजाल
दाङ, १५ असार । पोहोर साल तोरी छर्दा बचेकी थियौ तिमी, त्यसैले काम चलायौं धानबालीमा, यसपाली तिमीलाई बचाउन सकेनौं । किनकि तिमी फेरि आउँछ्यौ भनेर । आज असार १५ को उत्सव मनाइरहँदा पनि तिमी आइनौ, त्यसैमा मेरो गुनासो ।

तिमीलाई ल्याउने नेताहरु छैनन् भन्नेमा हामीलाई विश्वास छैन, किनकि तिमीलाई ल्याउने घरबेटी प्रचण्ड हुन रे । तर मलाई अहिले तिमी कुन घरबेटीकोमा बसेकी छ््यौ मलाई थाहा छैन । असार १५ आइरहँदा केही किसानहरुले तिमीभन्दा चर्को मूल्यमा लुकिछिपी ल्याए होलान्, तर सबैले लुकिछिपी बाटो तिमीलाई ल्याउन असमर्थ पनि भए ।

आज असार १५ को दिनलाई नेपाल सरकारले राष्ट्रिय धान दिवस भनेको छ । तर तिमीविना हामी कसरी धान दिवस मनाऔं र ? खल्लो भो धान दिवस । मानो फालेर मुरी फलाउने हामी किसानको यस्तै अवस्था भो भने हामी कसरी कृषि प्रधान देश बन्न सकौंला ! तुलसीपुरको अन्जु स्वीट हाउसमा एकजना किसानले भनेको अभिव्यक्ति हो, यो । मैले उनको नाम सोध्न नपाउँदै असार १५ को म्यासेज आएको थियो, तुलसीपुर उपमहानगरपालिकाको ।

असार १५ लाई धान दिवसका रुपमा मनाउने पालिकाको निर्णय भएकाले तुलसीपुर उपमहानगरपालिकाको १ नं. वडामा सहभागिताका लागि । तर मैले यसपालि धान दिवसमा नजाने निधो गरेको छु । किनकि सबैभन्दा बलियो सरकार स्थानीय पालिकालाई भनिएको छ, तर मल ल्याउने सवालमा उनीहरु कहिल्यै संवेदनशील भएनन् । स्थानीय सरकारहरुले ल्याएको बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइएको छ । जुन गलत अभ्यास हो ।

स्थानीय सरकारले गर्ने भनेको त यहाँको समग्र आर्थिक समृद्धिका लागि हो । त्यसका लागि कृषिलाई सुधार्दै लैजानुपर्ने हो । शिक्षकको तलवमा स्थानीय पालिकाले बजेट राख्नुको कुनै अर्थ छैन । स्वास्थ्यमा पनि केन्द्रीय सरकारले गर्ने हो । सडक बनाउने सडक विभागको बजेट आउन सक्छ । साना–तिना सडक बनाउनका लागि प्रदेश सडक होला ।

भौतिक पूर्वाधार कार्यालय होला । तर मल ल्याउने कसले ? ‘फेरि ती किसानले लेखेको पत्रमै जान चाहन्छु । उनको पत्रमा लेखिएको छ, तिमीलाई ल्याउन कुन नेताकहाँ धाउनुपर्छ । कुन दातृ निकाय गुहार्नुपर्छ, त्यो पनि गर्न हामी तयार छौं । तिमी आफै नेपालमै उत्पादित होउ भन्नेमा पनि हामी ७० प्रतिशत किसानको एकै राय होला, तर पनि तिमीलाई किन नेपाल सरकारले यही उत्पादित हुन स्वीकारेन ? त्यसको जवाफ यही पत्रिकामार्फत जानकारी गराउन चाहन्छु’ ।

उनको आग्रहले फेरि मलाई मलमै तान्यो । तुलसीपुरको मल डिपोमा आएको डिएपी सकियो रे । घोराहीको साल्ट ट्रेडिङमा पनि कुनै मल छैन रे । छत पोटास मात्रै । पोटास त युरिया र डिएपी प्रयोग गरिरहँदा माटोको खुकुलोपन र सामान्य किटनाशक दवाइका रुपमा मात्रै प्रयोग गर्ने हो । तर सरकारले युरिया र डिएपी नदिएर पोटासमा खुम्चेको छ । असारे भाकाले युरियालाई तान्न सकेन ।

हलो रोकेर ठिगारे नागिरहँदा ग्वारखोलाका फाटमा युरियाविहीन रोपाइँ चलिरहेको छ । बबईका फाटमा पनि त्यस्तै अवस्था छ । देउखुरीमा पनि जसोतसो मोटरबाट पानी तानेर रोपाइँ गरिरहेका छन् । तर सबैतिर देख्दा रोपाइँमा उत्सव होइन रोदन देखिएको छ । असार १५ मा एउटा खेतमा गीत गाइरहेका थिए, किसानहरुले युरिया हामीले किन पाएनौं ?

मुलुकको आर्थिक समृद्धिको मूल्य आधार भनेको कृषि हो । त्यसपछि पर्यटन । त्यो पनि कृषिसँगै जोडिएको छ । तर पछिल्लो समयमा सरकार यो विषयमा कत्ति पनि संवेदनशील भएको देखिएको छैन । नेपालमा एउटा मल कारखाना खोल्न पनि सकिन्थे । त्यसका लागि सरकारले सकेन भने निजी क्षेत्रलाई आह्वान गरेर सहुलियत दरमा मल कारखानाका आवश्यक सामान ल्याउन पनि सकिन्थ्यो ।

त्यसपछि मल कारखाना नेपालमै खुल्न सक्थ्यो । विद्युतको पनि थुप्रै सम्भावना थियो । मलाई त लाग्छ, नेपालीलाई गरीखान दिने हो भने नेपालमै रसायनिक मलको कारखाना खोले पनि हुन्थ्यो, कारखाना खोल्न सरकारले सामान ल्याउन कर छुट पनि गरे हुन्थ्यो, तर किन सरकार गरिरहेको छैन’ ती किसानले मलाई फेरि भावविह्वल बनायो । किनकि सरकार मलमा गम्भीर छैन रहेछ ।

सरकार समीकरणमा अल्झेको छ, मलमा ध्यान छैन । मकै रोप्ने बेला युरिया दिन्छ, धान रोप्ने बेला मलै छैन । मलविनाको रोपाइँ महोत्सव…। हिलो छ्याप्ने बेला किसानको रोदनले कालोमोसो पनि लगाउन सक्छन् । किनकि सरकारले किसानलाई मल दिएको छैन । स्थानीय सरकारले मलविनाको रोपाइँ जात्रा गरिरहनुको कुनै अर्थ छैन ।

त्यही भनिरहेका छन् किसान । त्यसो त डिएपी केही सहुलियतमा छ रे । युरिया त किसानले भारतीय नाकाबाट ल्याएका छन्, चर्को मूल्यमा । स्थानीय प्रशासनले पनि त्यति निगरानी गरेको छैन । तर महंगो भएकोमा किसानहरु बेचैन छन् । चर्को मूल्यमा ल्याउनुभन्दा निजी क्षेत्रलाई मल आपूर्तिको जिम्मा दिएको भए त हुन्थ्यो नि ?

ती किसानको पत्रमा लेखिएको थियो, मुस्किलले डिएपी आयौ, युरिया किन रोक्यौं, तिमी प्रचण्डको घरबेटी थियौ रे, देउवा निकट थियौ रे, केपीले त तिमीलाई हप्काएका पनि थिए रे, तर तिमी किन आएनौं ? फेरि ती किसानले लेखिरहेका छन् । अरु पत्र पढ्न पाइनँ । असार पन्ध्र अर्थात राष्ट्रिय धान दिवसमा अहिले स्थानीय सरकार प्रमुखहरुले किसानको ताली होइन, गाली खाने छन््, यदि उसका राजनीतिक आफन्त परेनन् भने…।