आकाशले जल दिएन, सरकारले मल दिएन

  •   
  •  

खेमराज रिजाल÷कृषि डायरी

दुधरास,९ असार । ग्वारखोलाका फाँटमा रोपाइ चलिरहँदा तुलसीपुर उपमहानगरपालिका–दुधरासका मधु घिमिरे भुतभुताइरहेका थिए, दुधरासको डेरीमा । ‘मेरो दुइ हजार रूपैयाँ त्यसै खेर जाने हो, तयार भएको व्याड रोप्न एक गेडा मल पाइएन’, सधैँ रोमान्टिक देखिने मधुको स्वर यसपालि साच्चै मलिन थियो ।

अघिल्लो सालसम्म जसोतसो कृषि सामग्रीहरूका हाकिमलाई भनसुन गरेर काम चलाउँदै आएका घिमिरेलाई हाकिमहरूले पनि मलको कुनै विकल्प दिन सकेनन् । घिमिरे आफै मल गोदाम पनि पुगे तर त्यहाँ एक बोरा युरिया पनि स्टक देखेनन् । उनले चारकिलो हाइब्रिड प्रतिकिलो पाँच सय रूपैयाँमा किनेर व्याड तयार गरेका छन् । व्याडमा त जसोतसो तोरीको पिनाको जोहो गरेर हुर्काए तर खेतभरि पुग्ने पिना कहाँ पाउने भन्ने उनलाई चिन्ता छ ।

मधुसँगै दुधरास डेरीमा मलको रोदन पोख्ने धेरै थिए । डेरीका साहु एउटा कृषि सहकारीका सञ्चालक पनि हुन् । उनैले मल ल्याएर तोकिएको क्षेत्रमा पु¥याउँथे । त्यसैले उनको डेरीमा अचेल दुधको भन्दा बढी मलको चर्चा हुने गरेको छ । सरकारले असार पन्ध्रसम्म युरिया पनि आइपुग्छ, त्यसका लागि भारत सरकारसँग कूटनीतिक पहल पनि भइरहेको छ भनेर भनिरहेको छ । तर, त्यो दिन आउन अब करिब ६ दिन मात्र बाँकी छ । मल विक्री गर्ने कृषि सामग्रीका अधिकारीहरूले अहिलेसम्म नेपालमै मल आइ नसकेकाले असारभरि रासायनिक मल आउने कुनै सम्भावना नरहेको कृषि सहकारीलाई बताउँदै आएका छन् ।

ग्वारखोला फाँटमा मुस्किलले खेती हिलाम्मे बनाएर एक–दुइ गहरा रोप्न थालेका छन् । ‘अस्ति चारोवटा गहरा रोप्या हो, आज दुईवटालाई पानी पुग्ला, सरकारले मल दिएन, आकाशले पानी दिएन’, मलिन स्वरमा बोलिरहेका थिए, ती ठिँगारे ।

ग्वारखोला फाँट भन्ने बित्तकै तिल्की धानको स्मरण जोकोहीलाई हुन्छ । अर्थात, गनारी खेत भन्छन् ग्वारका फाँटलाई तर अचेल ग्वारमा तिल्की होइन, बिन्देश्वरी र सिम्ठारो पनि हराइसकेको छ । हाइब्रिड धानले प्राथमिकता पाएको छ । गनारी पनि हराएको छ, ग्वारखोलैभरि नदीजन्य पदार्थ उत्खनन् गर्दा खोला पूरै भासिएको छ । ग्वारखोलामा बाँध भएको धेरै सिंचाइकुलाका बाँधमा पनी नै सुकिसकेको छ । अर्थात, गनारी खेत अचेल चिरा–चिरा परेका छन् । सक्रिय मनसुन नभित्रिँदै किसानले ढुक्कसँग ब्याड रोप्न पनि पाउने छैनन् ।

असार पन्ध्र आउन अब एक साता बाँकी छ । मानो फालेर मुरी फलाउने आशामा रहेका किसानलाई असार पन्ध्रले कति धेरै उत्साह र उर्जा दिन्थ्यो तर न मौसमले साथ दिएको छ न रासायनिक मलले साथ दिएको छ । यी किसानका रोदनलाई सम्बोधन गर्ने खालका नीति तथा कार्यक्रम पनि ल्याएनन्, स्थानीय सरकारहरूले । प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि आफ्नो प्रदेशमा कम्तिमा एउटा रासायनिक मल कारखाना खोल्ने नीति हुनुपथ्र्यो, त्यो भएन । संघीय सरकारले पनि रासायनिक मलको विकल्पमा नेपालमै उद्योग खोल्ने कुनै नीति ल्याउन सकेन् । किसानहरू वेचैन छन् ।

‘अब यी खेतहरू गनारी खेत रहेनन्, केही वर्षपछि सायद गिट्टी, बालुवा फल्ने छन्, यी खेतहरूमा, प्लटिङका कारण’, ग्वारखोलाका खेतधनी प्रदीप गौतमले भने । जहिल्यै असार पन्ध्रसम्म खेत हरिया भइसक्थे तर केही वर्ष ग्वार फाँट पनि आकाशे खेतीका रूपमा परिणत हुन थालेको गौतमको भनाइ थियो । गौतमको भनाइमा ग्वारखोलाबाट धेरै बस्तीलाई सिंचाइ पुग्ने भएकाले अनियन्त्रित रूपमा उत्खनन् रोक्न स्थानीय सरकारले गम्भीरतापूर्वक पहल गर्नुपर्ने पनि उनको अभिव्यक्ति थियो ।

त्यसो त स्थानीय सरकारले ग्वारखोलाबाट नदीजन्य पदार्थ उत्खनन्लाई कहिल्यै व्यवस्थित गर्न सकेन । जहिल्यै अवैध उत्खनन्को शिकार बन्यो, ग्वारखोला । त्यही कारण खोला भासिँदै गयो । अन्ततः ग्वारखोलाको पक्की पुलमुनि एक थोपा पनि पानी छैन, असारको दोस्रो सातासम्म पनि ।
‘अब मेरो पहिलो मिशन भनेकै ग्वारखोलामा अवैध उत्खनन् रोक्ने र किसानलाई मार पर्ने गरी, पानी सुक्ने गरी उत्खनन् हुन दिने छैन’, तुलसीपुर उपमहानगरपालिका–१६ का वडाध्यक्ष शिवानन्द डाँगीले भने ।

त्यसो त उनले जननिर्वाचित भएर कार्यभार सम्हालेको दुइ साता नपुग्दै ग्वारखोलामा अवैध उत्खनन्को काममा संलग्न ठेकेदारलाई काम रोकाउन समेत सफल भएको बताए । उनको भनाइमा तुलसीपुर उपमहानगरपालिका–१६ जिल्लाकै सबैभन्दा बढी खेतीयोग्य उर्वर भूमि हो तर ग्वारखोलामा भइरहेको उत्खनन्का कारण सो क्षेत्र अहिले उजाड बन्न थालेको छ ।