Goraksha

National Daily

सरकारमा जाने हतारोमा हुनेहरुप्रति

बिनोद पोख्रेल

२०७७ फागुन २८ गते
बाध्यता पनि गजबकै हुन्छन् । मुकुन्द रिजालले फोन गरेर बुवा बिरामी भएको र घोराही दीपज्योति अस्पतालमा राखेको जानकारी गराए । म स्वास्थ्यको कारणले त्यति हिँड्न सक्दैन । सवारीका साधनहरु पनि दुई पाङ्ग्रेमा अलि हल्लाएको जस्तो महसुस हुन्छ । तीनपाङ्ग्रे मा पनि त्यति सजिलो लागेन । काम त चल्थ्यो । चारपाङ्ग्रे घरमा आजभोलि छैन । जान सकेको थिएन । जाने इच्छा असाध्यै थियो ।

त्यसको कारण मुकुन्द, खेमराज, सुदर्शनहरुसँगको सम्पर्क सायद मुख्यकारण हो । तर उहाँसँगको दुई–चारपल्टको भेटमा उहाँले ममाथि पारेको प्रभाव पनि हो । उहाँप्रति आदर र सकारात्मक सोच बनेको छ मेरो मनमा । त्यसैले एकपटक भेट्ने मन हो । हिजो बिहान शिवरात्रि भएकोले एकदिन मलाई सहयोग गर भन्ने खाले केही त भेटिएला भन्ने विश्वासमा अलि चाँडो मन्दिरमा गएँ । संयोग त हो, मैले त्यस्तो भन्न सक्नेहरुमध्ये कोही पनि आएनन् । अलिबेर बसेको बरु म आफैले अलि धौ माने । यो कुरा ममा मात्रै सीमित रह्यो ।

एकपटक भेट्ने साह्रै इच्छा लागेको थियो । त्यसैले जे होला भनेर दादा (विनित)लाई लिएर साँझको घुमाईको निहुँ पारेर अस्पतालसम्मै सकेसम्म सुस्त–सुस्त पुग्ने सोच बनाएर हिँडे । मलाई मुकुन्दको आवाजले कताकता केही नराम्रो संकेत गरेको थियो । उनले एक प्रकारले आश मारेको जस्तो मलाई लागेको थियो । त्यसकारण पनि यति नजिक भएको बेला अन्तिम भेट नै सही उहाँले हेर्नमात्रै पनि मन लागेको हो ।

दादालाई ट्राफिक पुगेपछि भने । त्यहाँ पुग्दा थकाई त लाग्यो तर पुग्न सकेँ । भेट हुन भने सकेन । सोध्दा नेपालगञ्ज गएको भन्ने सूचना पाएँ । एकछिन अस्पतालकै अगाडि चौतारीमा बसेँ । आफैसँग अलि खिन्न भँ । आजजस्तै हिजो हिम्मत गरेको भए भेट त हुन्थ्योजस्तो लाग्यो । आज बिहानै फेसबुकमा धेरैले उहाँको मृत्युको बारेमा लेखेका समाचार पढेँ । हिजो भेट्न नसकेपछि अब सायद भेट हँदैन भन्ने लागेकै हो । तर पनि बाध्इताले आफूले चाहेको र गर्न सकिने काम गर्न नसकेकोमा पछुतो लाग्यो ।

भेटेको भए घरमा आएर पनि कुरा गर्थेँ होला । भेट्न नसकेकोले आफूले पनि भेट्ने प्रयास गरेको कुरा कसैलाई भनेको छैन र नभन्ने नै निर्णय गरेको छु । दादालाई पनि कसैसँग नभनेस् भनेको छु । थाहा पाए यति धेरै किन हिँडेको भनेर पनि गुनासो नै गर्छन् । हिजो गएको भए हुन्थ्यो भन्ने तर्क पनि गर्न सक्छन् । अझ थकावट आदि मैले जे भोगेँ त्यो थाहा पाउने हो भने त गाली नै गर्न सक्छन् ।

त्यसै सबै कुरा दादालाई पनि भनेको छैन । तर पनि त्यति मात्रमा साथ दिएको दादालाई उले थाहा पाएको जति पनि गोप्य राख्न सहमत गराएको छु । अनि आफ्नो बाध्यताप्रति व्यङ्ग्य गर्दै वा आफैप्रति व्यङ्ग्य गर्दै आफै अलिअलि हाँसेको छु । चाहेर पनि यति नजिक हुँदासमेत भेट्न नसक्ने जीवन बाँचेको छु ।

२०७७ फागुन २९ गते

आज समयअनुसार अलि चाँडो लेख्न थालेको छु । केही विशेष विषय भएर होइन तर केही दिन पहिले मैले नेपालको सन्दर्भमा राजनीतिक विकासक्रमको व्याख्या गरेको थिएँ । हिजोको एउटा समाचारले त्यही प्रसंग सम्झँदा अलिअलि झस्केको छु । समाचार त अपुष्ट नै हो तर कांग्रेस सभापतिले कम्युनिष्टलाई नमिलाएर सरकार बनाउने प्रस्ताव राखे रे ।

पहिलो कुरो न सरकारकै आउँछ । मलाई पुग्लाजस्तो लाग्दैन । दोस्रो कुरा फेरि यो कम्युनिष्ट भन्नेसँगको पूर्वाग्रह देखाउन नपर्ने । संसदीय प्रणालीलाई गाली पनि गर्ने र प्रयोग पनि गर्ने यहाँका कम्युनिष्ट कसरी कम्युनिष्ट हुन सक्छन् । फेरि नेपाली राजनीतिक चरित्रकै आधारमा मैले आफैले देखेको, भोगेको, भन्ने हो भने यहाँ सत्ता सम्भव भयो भने को कससँग नमिलेको छ र ? त्यसकारण यस्ता पूर्वाग्रहपूर्ण शब्दहरुको प्रयोग नभए हुन्थ्योजस्तो लाग्छ ।

मलाई थाहा छ राष्ट्रको नेतृत्व गैरजिम्मेवार भयो भने एकै वर्षमा देश डुब्ून सक्छ । तर मलाई यो पिन थाहा छ कि सत्ताको लागि जे पनि गर्न तयार हुनुहुँदैन । हिजोको समाचारमा मैले यही गन्ध पाए कि अब फेरि जे पनि गर्ने चरित्र हावी हुँदैछ । त्यसको दोष र अपजस व्यक्ति मात्रै होइन दललाई पनि आउँछ । वर्तमान सभापतिमाथि भन्सार छुट गरेर गाडी भित्र्याउने सांसदहरु सामूहिकरुपमा बिरामी भएर विदेश औषधि गराउन जाने, पुरुष सांसदलाई समेत सुत्केरी भत्ताजस्ता कलंकको आरोप छँदैछ ।

अब फेरि अपराधीहरुलाई छोड्ने नागरिकतामा विवादग्रस्त नियम बनाउने जस्ता विकृतिको आरोप लाग्नसक्ने सम्भावना देखिँदैछ । एउटा अर्को अपुष्ट समाचारअनुसार सरकारको नेतृत्व जसपालाई दिने भन्ने पनि सुने । त्यो पनि आवश्यक पर्छ भने अरुले नै गरुन् भनेर केही दिन शान्त र संयमित हुन सके राम्रो हुने थियो । आफ्नै दलभित्र समेत कस–कसलाई सरकारमा पठाउने भन्नेमै सल्लाहसँग निर्णय हुन सक्नेवाला छैन । यो स्थितिमा अरुसँग सम्झौता भनेको धेरै कुरा उनले भनेको मान्नैपर्ने न हो ।

अरुले भनेको मानेर आफू सत्तामा जाने भनेको आफूलाई र दललाई अरु बदनाम गराउने अनि अरु कमजोर बनाउने मात्रै त हो । केही सरकारमा गएकाहरुले आर्थिक फाइदा उठाउँलान् । समयमै भयो भने दुई वर्षपछि हुने निर्वाचनको खर्चको जोहो गर्लान् । त्यसकै लागि सरकारमा जाने हो भने त केही भन्नु छैन नत्र अहिले हतारिनुपर्ने त्यो पनि खास गरेर समर्थन लिन–दिन हतारिनुपर्ने अवस्था छैन ।

व्यक्ति ओलीभन्दा अर्को व्यक्ति र दल वर्तमान सत्ताधारीभन्दा अर्को दल आउँदैमा सबै राम्रो हुन्छ भन्नेमा नेपाली जनतालाई सहमत बनाउन सकिँदैन । जनताले सबैको नाडी छामेका छन् । बरु जनताको यो राजनीतिक निरपेक्षतालाई कम गराउन जनताको प्रभाव बढाउन के गर्नुपर्छ त्यता ध्यान दिँदा राम्रो हुन्थ्योजस्तो लाग्छ ।