लोग्ने–स्वास्नीको त्यो गहिरो सम्बन्ध…
विनोद पोख्रेल
२०७७ फागुन ४ गते
आज वसन्त पञ्चमी । सरस्वती पूजा । पहिलेको चिनारी सरस्वती पूजा नै हो । बिहानै नुहाएर आफ्नो विद्यालयमा जाँदा आफैलाई केही विशेष गरेको जस्तो लाग्थ्यो । शिक्षकहरुले प्रक्रियाअनुसार सरस्वती पूजा गर्ने अनि विद्यार्थीलाई आफ्नो घरबाट चढाउन भनेर ल्याएको फूल, प्रसाद, धुप, चन्दन, अक्षता चढाउन दिने । घरबाट पूजा सामान लिएर आउनेहरुमा प्रायःजसो केटीहरु नै हुन्थे ।
हामीले कसैसँग अलिकति फूल मागेर नै काम चलाउँथ्यौँ । विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने दिन भएकाले विद्यार्थी हुँदासम्मलाई यो दिन अलि बढी महत्वको नै लाग्थ्यो । शिक्षण पेशामा हुँदा व्यवस्थापन गर्नुपर्ने भएकोले पनि बढी महत्वको नै लाग्यो । सामान्य जीवन बिताउँदा वसन्त पञ्चमीको रुपमा पनि महत्व दिन थालियो । तर कारण भने तर्कसहित दिन आज पनि सक्दैन सायद । कतिले आजकै दिनदेखि वसन्त ऋतुको सुरुवात हुने तर्क गर्छन् ।
कतिले पहिले–पहिले आजकै दिनदेखि फागु खेल्न सुरु गर्थे भन्ने पनि सुनेको छु । कतिलार्य बर्षातको सुरुवात हुने दिनको रुपमा पनि व्याख्या गरेको सुनेको छु । आजको दिन हल्का पानी परे वा बादल मात्रै लागे पनि आउँदो बर्षा राम्रो हुने विश्वास राखेको पनि पाएको छु । विभिन्न विश्वासका साथ यो दिनलाई सम्झने गरिन्छ । मेरो झ्यालबाट हेर्दा किशोर किशोरीहरुको हुल मन्दिर जाने वा मन्दिरबाट फर्किने देखिने गर्छ ।
मन्दिरमा आज विद्यार्थीहरुकै अलि बढी उपस्थिति हुन्छ । अझै पनि बालबालिकालाई औपचारिकरुपमा पढाई सुरु गराउँदा यो दिन पर्खने चलन छ । धेरैसम्म त कतै न कतै विद्यालयहरुमा हुने कार्यक्रमहरुमा हुने कार्यक्रमहरुमा जाने गर्थे, बोलाउँथे पनि । अब बोलाउने चलन कम भएको छ । म त्यसभित्र पर्दैन । कतिपल्ट बोलाउँदा पनि नगएर पनि यो परम्परा छुटेको हुनसक्छ ।
तैपनि थोरै भए पनि किताब पढ्ने, किताबलाई ढोग्ने र मन्दिरसम्म पुग्ने गर्थे । यस वर्ष यो पनि हिम्मत छैन । आफ्नै अक्षरलाई ढोगेर चित्त बुझाउँला भन्ने सोचेको छु । आज दुई कुराले अलि भावुक बनायो । नुहाएर मन्दिर जाने हिम्मतसमेत जुटाउन सकेन । यो एउटा कुरा हो । अर्को कुरा यही दिनकै वरिपरि हो यो दिनमा त हैन, मैले कविता लेखेको । जीवनको प्रथम प्रयासका पहिला केही लाइनह…
हे ! पुस्तक देवी
तिमीले मलाई ग¥यौ मलाई
सम्झिरहेछु सधै तिमीलाई…
अरु याद पनि छैन । कतै लेखेर राखेको पनि छैन । करिब त्यतिबेलाको कापीको दुई पेज लेखेको हुँ । अब पुरानै वा गरिरहेकै काम गर्न नसकेर हार्ने परिवेशमा नयाँ कुराको के महत्वाकांक्षा राख्नु ? यतिसम्म लेख्दैछु भन्नाले कलम चलाउन सक्दैछु भनेर चित्त बुझाउने हो । मनमा आदर गर्ने भावना हुँदाहुँदै पनि यस्ता रमाइला सांस्कृतिक परम्परा चलिरहनुपर्छ भन्ने धारणा राख्दा राख्दै पनि परिवेशले टाढा हुन बाध्य बनाउने रैछ । यो पनि एउटा रमाइलो अनुभव नै हो ।
२०७७ फागुन ५ गते
हिजोको दिन नसोचेको रुपमा बित्यो । बिहानै अकल्पनीय रुपमा वनहरि केशव आयो । मलाई पनि उनीहरुलाई भेट्न मन थियो । असाध्यै खुसी लाग्यो । उसले बरखी बारेको देखेर भने मामा (गदाधर पौडेल) लाई सम्झे । नमिठो लाग्यो । उहाँ आफ्नोपन थियो । आफू बिरामी भएकाले उहाँको पहिलो बिरामीको बेला भेट्न पनि सकेन । भाइहरु किरियाकर्ममा हुँदा जान पनि सकेन । तेह्रा्रैं दिनमा पनि जान सकेन ।
अहिलेसम्म पनि जान सकेको छैन । घोराही जान नसकेकोले अन्तका के कुरा गर्नु ? ऊ गएको केही छिनपछि शिव लम्साल आए, सन्तोष सुवेदीलाई लिएर । ऊ पनि भेट्न नै आएको थियो । एकछिन ऊसँग पनि रमाइलै बित्यो । आजभोलि छोराहरु कोही घरमा नभए अलि सुनो वा छटपटी लाग्ने गरेको उनीहरुकी आमाले भनेर हो कि विक्रम लगभग यतै छ । त्यत्तिले पनि सुनो हुन दिँदैन । अहिले खाना खाएर स्कुल पुग्ने हो । ऊ आफ्नो तयारीमा होला ।
म अझै कोठाबाटै निस्केको छैन । हिजो दिउँसो पनि एक्लै वा श्रीमतीसँग मात्रै बिताउनु परेन । आज भने त्यति व्यक्तिहरुसँग भेट नहुन सक्छ । तर हिजोको सम्झनाले मात्रै पनि केही समय त कट्न सक्छ । आज बिहानै नुहाएर यत्तिले मात्रै पनि फूर्तिलोजस्तो लाग्छ । मानिस सायद भौतिकरुपले भन्दा पनि मानसिकरुपले बढी पीडित हुन्छ । यस्तो आफ्ना वा अरुका सानातिना गतिविधिहरुले पनि आनन्द लिन वा पीडा, तनाव आदि कम गर्न सक्छन् । म बिरामी भएको करिब ६ महिना भयो ।
समय सम्झँदा पनि मन झस्किने भैसक्यो । यो अवधिमा बिहानै र आफूले मात्रै नुहाएको सायद यो पहिलो हो । यत्ति सम्झेर पनि केही फूर्ती वा सन्तुष्टिको अनुभव हुने रहेछ । कहाँ मजस्तो परिवेशमा पनि नुहाउने मान्छे, हप्तौँ ननुहाएर पनि बसेँ । अब कम्तीमा दुई दिन नुहाउन थालेको छु । गर्मी पनि बढ्दैछ । फेरि सधै नुहाउन सक्ने त हुन्छ होला । यत्ति विश्वासले पनि केही हलुंगो अनुभव हुन्छ । मैले माथि कतै लेखेँ सायद ।
एकदिन त अघिल्लो दिनको सम्झनाले पनि केही सजिलोसँग कट्छ । लोग्ने स्वास्नीको सम्बन्ध नै गजबको हुनेरैछ । अझ भनौ यो सम्बन्धबारे पूर्ण अध्ययन भएकै छैन कि ? अथवा यो हुनै सक्दैन कि ? अथवा यसलाई भन्न वा लेख्न सकिँदैन कि ? अरुसँग यस्ता कुरा गरेर दिन बिताउन गाह्रै हुन्छ तर हिजो श्रीमतीले मबाट केही फुर्सद पाइन् । म अरुसँग ब्यालिएँ । त्यही कुरा आजको लागि गफको विषय बन्न सक्छ ।
मैले अरुसँग के कुरा गरेँ । उनले के काम गरिन् ? कसैसँग भेट भएको भए के कुरा गरिन् ? त्यही सबै सुनाएर पनि केही समय कटाउन सकिन्छ । वास्तवमा दुवै पात्र एकअर्काका मिल्दा साथी र सहयोगी पनि जस्तो लाग्छ । मेरो मात्रै कुरा गर्ने हो भने त म पर्खिबसेको नै हुन्छ, त्यस्ता कुराको लागि । तर त्यस्ता कुरा गर्न पनि मन मात्रैले हुने रैनछ । फुर्सद र परिवेश दुवै चाहिने रैछ । भनौँ अहिले न उनलाई फुर्सद छ न मलाई नै । बिहान त म पनि केही न केही गरेर कटाउन सक्ने भएको छु ।