Goraksha

National Daily

‘चराले पनि आफ्नो गुड बनाएको हुन्छ’

हामी लामो समयसम्मको अभ्यासपछि तुलसीपुर महोत्सवको अन्तिम तयारीमा जुटिरहेका छौँ । तुलसीपुरमा व्यापारिक महोत्सव लगाउनका लागि स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकाबाट सिफारिस लिनेदेखि जिल्ला प्रशासन कार्यालयबाट मेला सञ्चालनका लागि अनुमति पनि लिइसकेका छौँ । यसबीचमा हामीले धेरै व्यापारिक प्रतिष्ठानलगायत बालउद्यान निर्माणका लागि आधिकारिक रूपमा सम्झौता समेत गरेर सामान समेत झारिसकेका छौँ । यसबीचमा हाम्रो कम्तिमा पनि १५÷१६ लाख रूपैयाँ खर्च भइसकेको छ ।

आज हामीले महोत्सव स्थल सफाईको काम समेत सम्पन्न गरिसकेका छौँ । तुलसीपुर च्याम्बर अफ कमर्समा आबद्ध व्यवसायीहरू, ईलाका प्रहरी कार्यालय तुलसीपुरका सुरक्षाकर्मीहरू, तुलसीपुर स्थित सशस्त्र प्रहरी बेस क्याम्पका सुरक्षाकर्मीहरू तथा तुलसीपुर स्थित १९ नम्बर बाहिनीका सैनिक अधिकारीहरूको सहयोगले महोत्सव स्थल सरसफाईको काम सम्पन्न भइसकेको मैले आम सञ्चारकर्मीहरू माझ जानकारी गराउन चाहन्छु ।

विश्व समुदाय विश्वव्याधिका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण जर्जर अवस्थामा पुगेर विस्तारै अर्थतन्त्र चलायमान हुँदैछ । कोरोना भाइरसको संक्रमण मत्थर भएको अवस्थामा विश्वका विकसित तथा विकासशील मुलुकहरूमा पनि आर्थिक गतिविधिहरू चलायमान हुनथालेका छन् । यसै दौरानमा नेपालमा पनि अघिल्ला दिनहरूमा भन्दा कोरोना भाइरसको संक्रमणको दर अत्यन्तै न्यून भएको अवस्थामा व्यावसायिक गतिविधिहरू चलायमान भइरहेका छन् ।

सुस्ताएको अर्थतन्त्रलाई व्यँुझाउन र उकास्न होटल व्यवसाय, पर्यटन, उद्योग व्यापारलगायत मेला महोत्सव सबै चलायमान हुनुपर्दछ भन्ने आम व्यवसायीहरूको मान्यता पनि हो । नेपाल च्याम्वर अफ कमर्श पनि विभिन्न क्षेत्रका व्यवसायीहरूको हकहितको लागि स्थापित भएको संस्था भएकाले तुलसीपुर च्याम्बर अफ कमर्शले पनि तुलसीपुरमा यो वर्ष व्यापारिक एवं पर्यटन महोत्सव आयोजना गर्ने अन्तिम तयारीमा छौँ ।

चराले पनि आफ्नो गुँड बनाएर बसेको हुन्छ तर हामी यति धेरै कारोबार गर्ने व्यवसायीहरूको छाता संगठनको एउटा आफ्नै भवन पनि छैन । त्यसैले यहाँको व्यावसायिक समृद्धि एवं यहाँको व्यवसायिक प्रबद्र्धनसँगै महोत्सवमा बचेको पैसाले हामी व्यवसायीहरूको छाता संगठन तुलसीपुर च्याम्बर अफ कमर्शको आफ्नै भवन निर्माण गर्ने एवं केही हिस्सा शिक्षा स्वास्थ्यलगायत सामाजिक काममा पनि लगाउने जमर्को गरिरहेका छौँ । हाम्रो यो महान अभियानमा तपाईंहरू सञ्चारकर्मीलगायत आम व्यवसायी, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकायलगायत स्थानीय सरकारको पनि साथ र सहयोगको अपेक्षा गर्दछु ।

महोत्सवकै दौरानमा हामीले कम्तिमा पनि दुई सयभन्दा बढी व्यापारिक स्टलहरू राख्ने छौँ । यहाँका व्यवसायीहरूलाई बाहिरकालाई भन्दा ५० प्रतिशत कम शुल्कमा स्टल उपलब्ध गराइने पनि म यहाँहरू समक्ष प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । साथै कृषिजन्य स्टलहरू निःशुल्क रूपमा उपलब्ध गराइने छन् । स्थानीय उत्पादनलाई बढावा दिँदै यहाँका पर्यटकीय स्थलहरूको चिनारीलगायतका विषयमा पनि महोत्सव केन्द्रित हुने पनि यहाँहरूमार्फत् आम जिल्लाबासीलाई जानकारी गराउन चाहन्छु ।

यही आउँदो पुस १ गतेदेखि १२ गतेसम्म आयोजना हुने व्यापारिक महोत्सवमा यहाँको संस्कृतिलाई पनि उजागर गरिने पनि स्मरण गराउन चाहन्छु । पश्चिम दाङको कालीमाटीदेखि सल्यान जिल्लाको कपुरकोटबाट समेत विभिन्न सांस्कृतिक झाँकीहरू मेलाको उद्घाटनका दिन प्रदर्शन गरिनेछ भने मेला महोत्सवमा स्थानीय कलाकारहरूलाई विशेष प्राथमिकता दिइने पनि हामीले योजना बनाएका छौँ ।

हामी मेलाको अन्तिम तयारी भइरहँदा केही नकारात्मक टीकाटिप्पणीहरू पनि आइरहेका छन् । यहीँकै व्यवसायीहरूले आयोजना गरेको महोत्सवमा तुलसीपुर उद्योग वाणिज्य संघबाटै केही विरोध भइरहेको छ । जुन हामीले सोचेका पनि थिएनौँ । फेन्सी व्यवसायीका नाममा विरोध हुनु अवश्य पनि न्यायसम्मत होइन । मेला महोत्सवमा सहयोगको आग्रह सहित हामी चार÷चार पटक तुलसीपुर उद्योग वाणिज्य संघसँग पनि छलफलका लागि नबसेका होइनौँ, तैपनि विरोधका आवाजहरू आइरहेका छन् ।

यसलाई हामीले स्वाभाविक रूपमा लिएका पनि छौँ । म यहाँहरूमार्फत् तुलसीपुर उद्योग वाणिज्य संघलाई पनि आश्वस्त पार्न चाहन्छु कि अब हामीले पालो तुलसीपुर उद्योग वाणिज्य संघलाई नै सुम्पिइसकेका छौँ । तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरिसकेपछि मात्र हामीले फेरि अर्को महोत्सव आयोजना गर्नेछौँ भन्ने पनि आश्वस्त पार्न चाहन्छु । त्यसैले यो ऐतिहासिक महोत्सवमा हामीले तुलसीपुर उद्योग वाणिज्य संघको पनि साथ र सहयोगको अपेक्षा गरेका छौँ ।

जहाँसम्म फेरि नयाँ भेरियन्टको चर्चा छ, त्यसमा हामी आम व्यवसायीहरू पनि अत्यन्त गम्भीर छौँ । मुलुकमा ठूला राजनीतिक दलहरूका महाधिवेशनहरू कुम्भ मेलाका रूपमा सम्पन्न भइरहँदा व्यापारीहरूले व्यावसायिक जमघट गर्नु हुँदैन भन्नु मूर्खता मात्र हो । हामी राजनीतिक पार्टीका कार्यक्रम भन्दा थप सभ्य र जिम्मेवार भएर मेला महोत्सव सम्पन्न गर्ने छौँ । प्रवेशद्वारमै अनिवार्य रूपमा मास्क र सेनिटाइजरको व्यवस्थापन गरिने छ ।

ज्वरो नाप्न गन थर्मामिटर उपयोग गरिनेछ । यदि मुलुकभर संक्रमण व्यापक हुनथाल्यो र महोत्सव बन्द गर्न सरकारले आग्रह गरेको अवस्थामा हामी एक मिनेट पनि ढिलो नगरी मेला महोत्सवको अन्त्य गर्ने पनि म आम पत्रकारहरूमाझ प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । किनकि कोरोना भाइरसको संक्रमणको समयमा सबैभन्दा बढी त्याग गरेका छौँ भने हामी व्यावसायीहरूले नै गरेका छौँ । यहाँको व्यावसायिक समृद्धिका लागि हामीले आयोजना गरेको महोत्सवलाई सफल पार्न सबै क्षेत्रबाट साथ र सहयोगको अपेक्षा गर्दछु ।

(आसन्न तुलसीपुर महोत्सवका सन्दर्भमा अयोजक संस्था तुलसीपुर च्याम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्तीले शनिवार बिहान आयोजित पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति।)