निर्वाध अभिव्यक्तिमा बन्देज नलागोस्
1 min readविनोद पोख्रेल
२०७७ भदौ १ गते
आजभोलिका लेखाईले म कहिलेकाहिँ पूर्ण सन्तुष्ट नभएको अनुभव गर्छु । यसको मुख्य कारण लेखाइहरु अली बढी निजी भएजस्तो लागेकोले हो । मैले कतै मनोविश्लेषण गरेको अनुभव गरेको छु । तर त्यो पनि आफ्नो मात्र । म बढी आफूमै केन्द्रित वा सीमित भएको जस्तो लागेको छ ।
मैले समाजबारे राजनीतिबारे त्यति लेख्न सकेको छैन । यसको लागि निहुँ जे–जति वा जस्तो बनाए पनि मैले यसलाई आफ्नो व्यक्तिगत कमजोरीको रुपमा लिएको छु । तर पनि सन्तुष्टिको पक्ष भने छ । यदि मेरा लेखहरुले मेरो कमजोरी नै स्पष्टरुपमा देखाउँछन् भने पनि त्यो मेरो सफलता हो । म आफू र आफ्नो भावनाप्रति इमान्दार भएको प्रमाण हो । मेरो एउटा प्रमुख उद्देश्य यो पनि हो । लेखहरु पत्रपत्रिका लायक नहोलान् तर यी लेखमा पनि म छु । सकेसम्म पूर्ण र यथार्थरुपमा छु ।
म इमान्दारितापूर्वक छु । यो पनि एएटा सफलताकै रुपमा लिन्छु । मैले माथि उल्लेख गरे जसरी केही विषयमा सीमित हुने प्रयास गरेँ भने पनि सन्तुष्ट हुन सक्ने छैन । पहिलो कुरा त म सीमित हुन नै चाहँदैन । दोस्रो कुरो भावनालाई नियन्त्रण गर्न सकिँदैन । कमसेकम मैले सक्दैन । तेस्रो कुरा म इमान्दार भएर अभिव्यक्ति दिन पनि सक्दैनजस्तो लाग्छ । कहिलेकाहिँ भावनाहरु आएर त्यस पक्षबारे लेख्दा सन्तोष पनि लाग्छ तर एउटा सत्य के हो भने मानव जीवनमा भनौ या समाजमा भनौँ स्थायी सत्य कमसेकम तिनी पक्षहरुमा केही छैनन् ।
समय, सन्दर्भ र शैलीको भरमा यी कुराहरुमा परिवर्तन आइरहन्छन् । समाज जहिले पनि गतिशील छ । थोरै मानिस मात्र समाजको गतिलाई आफ्नो सोचको भरमा प्रभाव पार्न सक्षम हुन्छन् । त्यो पनि पूर्णरुपमा होइन । समाजको गतिशीलताले प्रभाव पार्ने नै हुन् । म पनि त्यही समूहमा पर्छुजस्तो लाग्छ । जहाँ गतिशीलता हुन्छ, त्यहाँ सधै एउटै सोच, एउटै मान्यता र एउटै सिद्धान्तले काम गर्दैन । यिनीहरु पनि परिवेशअनुसार गतिशील बन्नैपर्छ । घोकेर विद्वान् हुन नसकिने कारण यही नै हो । वर्तमान समाजमा मात्रै पनि क्षेत्र वा राष्ट्रअनुसार धेरै थोरै फरक हुन्छ ।
हाम्रो समाजसँग विषयवस्तु नै फरक पर्ने समाजको अध्ययन गरेको समाज शास्त्रीले यहाँ गर्ने भनेको भाषण मात्रै हो । त्यस्तै यहाँको अति सामान्य नागरिकको आवश्यकता बुझ्न नसक्नेले न त यहाँको आर्थिक विकास गर्न सक्छ न त राजनैतिक विकास नै गर्न सक्छ । त्यति विदेशी वा स्वदेशी डिग्रीहरु देखाउने गहनाभन्दा बढी केही हुन सक्दैन । यो समाजको गतिशीलतामा प्रभाव पार्न यही समाज र यसका एकएक सदस्यलाई पढ्न र बुझ्न सक्नुपर्दछ । तब मात्र केही गर्न सकिन्छ । यहाँको विद्वत वर्ग अथवा चिन्तक वर्गले सधै विदेशी आकर्षणमा रमाउने चरित्र बनायो ।
डिग्रीसमेत विदेशमा पढेर लिएकोलाई राम्रो मान्यो । काम पनि विदेशमै गएर गर्न राम्रो मान्यो । उच्च शिक्षा हासिल गरेर बरु विदेशमा गाई स्याहार गर्ने, पसलमा बस्ने कामलाई राम्रो मान्यो तर यो समाजप्रतिको जिम्मेवारी निभाउन सकेन वा चाहेन । यसैकारणले यहाँ जे लागू गर्ने प्रयास गरिन्छ तिनी धेरै जसो असफल र केही त प्रत्युत्पादक समेत हुने गर्छन् । युरोपेली समाजमा सामान्य मानिने कुरा यहाँ कल्पनाभन्दा बाहिरका हुन सक्छन् ।
तर त्यही अकल्पनीय कुरा लागू गर्दा पूर्वाधार र पूर्वधारण केही नभएको केवल नक्कल मात्र हुने भएकाले नक्कलले आफ्नो कमजोरी देखाउनु स्वाभाविक पनि हुन्छ । चिन्तनमा केही प्रविधिमा पनि, सोचमा पनि शैलीमा पनि, मौलिकताको विरोध गर्नुलाई विद्वताm क्रान्तिकारिता, प्रगतिशीलता देख्ने स्वघोषित विद्वानहरुको हातमा सामाजिक, राजनीतिक र आर्थिक नेतृत्व गएपछि आम नागरिकले र पूर्ण राष्ट्रले भोग्नुपर्ने यस्तै हो ।
२०७७ भदौ २ गते
आज हिजो लेखाईले दिएको सन्तुष्टि सम्झिराखेको छु । कहिलेकाहिँ त केही खास विषय भेटाएपछि र त्यसमा विश्लेषणात्मक अभिव्यक्ति दिन मन लागेपछि मात्रै लेख्ने गर्ने हो कि जस्तो पनि लाग्छ । विषय नै नभएको जस्तो अथवा धेरैपल्ट दोहोरिन सक्ने डरजस्तो लाग्छ । तर यस्तैमा पनि कहिलेकाहिँ महत्वपूर्ण विषय सजिलरी आफै आइहाल्छन् । त्यसमा मेरा विचार अभिव्यक्त भएकोमा सन्तुष्टि लाग्छ ।
यस्तो पहिलोपल्ट भएको त होइन तर यस्तो जतिपल्ट भए पनि सन्तुष्टि पाएको अनुभव हुन्छ । त्यसकारण लेख्नैपर्ने एउटा करजस्तो पनि लाग्छ । फेरि मैले जुन उद्देश्यले लेख्न सुरु गरेको हुँ, त्यो पूरा गर्न निरन्तरता आवश्यक छ । अझ भनौँ निरन्तरता बनाउन नै लेख्न लागेको हो । लेखको विषय, त्यसको उत्कृष्टता आदि त दोस्रो, तेस्रो दर्जाको महत्वमा पर्ने हुन् । साहित्यमा सम्राट पनि नांगो हुन्छ भन्ने विपी कोइरालाको धारणा छ । अब मेरो या लेखलाई पनि साहित्यभित्रै पार्ने हो भने शब्दहरु फेर्नु नपर्ला । यदि यस्तो आलेख साहित्यभित्र पर्दैन भने शब्द फेर्नुपर्छ ।
स्वच्छन्द र आफूप्रति इमान्दार भएर लेख्ने मानिस आफ्नो लेखाईमा पूर्णरुपले खुलेको, पारदर्शी वा नाङ्गो हुन्छ भन्ने मेरो विश्वास पनि छ र अनुभव पनि छ । भावनाको अभिव्यक्तिमा इमान्दारिता छ भने व्यक्ति वैचारिकरुपले या भावनात्मकरुपले निर्वस्त्र नै हुन्छ, हुनैपर्छ । यदि त्यहाँ इमान्दारी छैन भने त्यो शब्द समायोजन र भाषा श्रृंगारमा सीमित हुन्छ । जो पढ्दा एकछिन मनोरञ्जनका लागि राम्रो होला तर यसको प्रभाव पर्दैनभन्दा पनि हुन्छ । मैले मेरा अत्यन्त निजी विचारबाट अनुभवहरु पनि इमान्दारीका साथ राखेँ भने त्यस्तै विचार वा अनुभव अरुको पनि हुन सक्छन् ।
किनभने यिनी एउटै समाज, एउटै संस्कार, एउटै परिवेशका उपज हुने गर्छन् । तर शब्द समायोजनतर्फ मात्र लागेर इमान्दारी भएन भने त्यो कल्पनामात्रै हुन्छ । जो यथार्थ भन्दा धेरै टाढा हुने गर्छ । हुन त यो मेरो धारणा हो तर यो मेरो मात्रै धारणा होइन । कल्पनामा रमाउनेहरुलाई यो त्यति रोचक नलाग्न पनि सक्छ तर प्रभावको कुरा गर्ने हो भने यसको प्रभाव कल्पनाभन्दा बढी नै हुन्छ । अझ आफ्नै बारेमा लेखेको जस्तो अथवा आफैले लेखेको जस्तो भयो भने त्यसले अलि बढी झक्झक्याउँछ ।
यही त लेखाईका अथवा साहित्यका विशेषता हो । समस्याहरु, भोगाईहरु साझा बनाउन सके अभिव्यक्ति सशक्त बन्छ । हिजोको लेखमा मैले यो अनुभूति गरे । लेखाई निरन्तर त हुने नै छ । किनभने यो मेरो प्रतिबद्धता हो ।विषयको चिन्ता हुँदैन किनभने व्यक्ति भावनाविहीन हुँदैन । भावनाप्रति इमान्दार भएर अभिव्यक्ति दिँदा पाउने सन्तोषको अनुभूति कस्तो हुन्छ भन्ने पनि अब बुझेको छु । रह्यो महत्वको कुरा, त्यसबारे मैले चिन्ता गर्नै पर्दैन । जसले जस्तो महत्व देओस् वा नदेओस् त्यो कुरामा पनि त व्यक्ति स्वतन्त्र हुनुप¥यो ।
पढिने हो कि होइन त्यो थाहा छैन, पढे पनि कतिले पो पढ्लान् र ! अनि त्यसमध्ये कतिबाट महत्वको अपेक्षा गर्ने ? लेख्नेले लेख्नुपर्छ । धेरै लेखे धेरै अनावयक कुरा पनि लेखिएलान् तर आवश्यक र महत्वपूर्ण पनि त धेरै लेखिएलान् । फेरि महत्वपूर्णको के परिभाषा छ र ? कसैलाई कुन महत्वपूर्ण लाग्ला, कसैलाई कुन । व्यक्तिका भोगाई र विचारले विषय महत्वपूर्ण वा कम महत्वपूर्ण मानिने त हो । मलाई त आफू निर्वाध अभिव्यक्त हुनसम्म मतलब छ । मेरो यो निर्वाध अभिव्यक्तिमा कतैबाट बन्देज नलागोस् । यो अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्न पाइयोस्, त्यति भए सायद एउटा पक्षमा निश्चिन्त हुन सकिन्छ ।