Goraksha

National Daily

मेरो खुशी : रेडियो तरङ्गमा मेरो आवाज …

1 min read

मेरो चाहना त सानैदेखि रेडियो नेपालमा बोल्ने थियो तर हामी दूरदराजका नागरिकलाई त्यो चाहेर पनि त्यति सहज थिएन । रेडियोको मेरो क्रेज हँुदाहुँदैको अवस्थामा जिल्लामा पहिलो पटक रेडियो खुल्यो । आफ्नै स्टुडियो सहितको रेडियो स्वर्गद्वारीबाट जब मेरो आवाज आकाशमा गुञ्जियो, अर्थात रेडियोमा तरंगित भयो मेरो सबैभन्दा खुसीको क्षण त्यही थियो । लेखिदिनुहोला मेरो खुसी मेरो आवाज, मेरो रेडियो । एमएम स्वर्गद्वारी हुँदै अहिले उनको आवाज विश्वभर प्रशारण हुने बिबिसी रेडियोमा पनि गुञ्जिन्छ । आवाजमा खुसीको अभिव्यक्ति हो, जिल्लाकै अग्रज सञ्चारकर्मी बसुन्धरा गौतमको ।

त्यसो त जीवनमा उनका धेरै अविस्मरणीय खुसीका क्षणहरू पनि छन् । जीवनमा खुसीका थुप्रै खुसीका क्षणहरू छन् । प्रायः सधैँ खुसी रहन कोशिस गर्ने र हुने स्वभावका कारण पनि दुःखी हुने गरेकी छैनन् । जीवनलाई सुखी बनाउनका लागि सकेसम्म स–साना पीडाहरू भुलेर पनि खुसी हुने प्रयास गर्छिन् । भन्ने गरिन्छ, मानिसको जन्म एउटा रंगमञ्च हो । जहाँ खुसी, रोदन, पीडा, निरासा, आशा, भरोसा, विश्वास, अविश्वास, सफलता, असफलता, हार, जित सबै आउने–जाने क्रम चलिरहन्छन् ।

परिस्थितिअनुसार समयानुकूल बनाउन सक्नुपर्छ । यी सब चीजको राम्रो अनुभूति र अनुभव संगालेर जीवन जिउन सकियो भने सफल भइन्छ । असफलता र अप्राप्तिमा मानिस दुःखी हुने गर्छ । सफलता र प्राप्तिमा मानवीय स्वभाव खुसी हुनेगर्छ । सुख, दुःख, सफलता र असफलताकै बीचमा जीवन चलिरहेको छ, पत्रकार बसुन्धरा अधिकारी गौतमको । उनै अधिकारीले गोरक्ष दैनिकको नियमित स्तम्भ खुसीका लागि आफ्ना जीवनका खुसीका क्षणहरू सुनाउने क्रममा पहिलो खुसीका रूपमा करिब १८ वर्ष अघि एसएलसी पास गर्दाको क्षणलाई लिन्छिन् ।

कक्षा १० को पढाइ अहिले जस्तो सजियो थिएन । त्यसमा एसएलसी पास गर्ने भन्ने चुनौतीपूर्ण हुन्थ्यो । स्कूल जीवनको अन्तिम परीक्षा एलएलसी भएकाले पनि त्यसलाई आइरनगेट भन्ने गरिन्थ्यो । त्यो समयमा कमैले एसएलसी पास गर्ने गर्थे । त्यसमा महिलाहरूको संख्याको के केरा गर्नु र ? त्यही क्रममा मैले २०५० सालमा एसएससी पास गरेँ । त्यो पनि सेकेण्ड डिभिजनमा, त्यो क्षण मेरोे जीवनको पहिलो खुसीको क्षण हो– पत्रकार गौतमले सुनाइन् ।

‘कक्षा दशको फाइनल परीक्षा एलएलसीलाई अहिले एसइई भन्ने गरिन्छ । जुन परीक्षाको पहिले भन्दा अहिले महत्व घटेको छ’–उनले भनिन्–‘पहिले त एलएलसी पास गर्ने मानिस कमै हुन्थे । त्यो बेला एलएलसी पास गर्ने ठूलो कुरा हुन्थ्यो । म पनि एलएलसी सेकेण्ड डिभिजनमा पास गर्दा धेरै खुसी भएको थिएँ ।’

त्यसपछि २०५१ सालमा उच्च शिक्षा अध्ययनका लागि महेन्द्र क्यामपसमा प्रवेश गरेसँगै विद्यार्थी राजनीतिमा पनि मैले अनुभव संगालेँ, २०५१ सालमा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य पदमा र त्यसपछि सायद २०५३ सालमा जस्तो लाग्छ स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्ष पदमा निर्वाचित भएँ । ‘पढाइसँगै विद्यार्थी राजनीतिमा लागेको थिएँ, महेन्द्र बहुमुखी क्यापसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदै थियो ।

त्यो चुनावमा म कोषाध्यक्ष पदमा उम्मेद्वार बनेको थिएँ’–उनले भनिन्–‘राप्तीकै ठूलो क्याम्पसमा चुनाव लडेर स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्ष पदमा निर्वाचित हुँदाको क्षण मेरो जीवनको अर्काे खुसीको क्षण हो । त्यो खुसीको क्षण अहिले पनि सम्झनामा ताजै छ ।’ विद्यार्थी राजनीतिलाई फर्केर हेर्दा त्यतिबेलाको महेन्द्र क्याम्पस जहाँ हजारौँ विद्यार्थी अध्ययन गर्ने थलो थियो । त्यहाँ पनि स्वतन्त्र विद्यार्थी युनियनमा पदाधिकारीमा जाने बसुन्धरा नै पहिलो महिला भइन् । त्यो समय उनी नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीतिमा सक्रिय थिइन् ।विद्यार्थी राजनीतिमा लागे पनि उनको सानैदेखिको चाहना भने रेडियो नेपालमा समाचार पढ्ने थियो ।

रेडियो नेपालमै समाचार नपढे पनि रेडियोका माध्यमबाट विश्व समुदायमै आफ्नो आवाज पु¥याउन सफल भएकी छिन् । ‘रेडियो नेपालमा समाचार पढ्ने चाहना थियो तर हामी जस्तो दूरदराजमा बस्नेका लागि पहुँचभन्दा टाढाको कुरा थियो’–उनले भनिन्–‘रेडियो नेपालमा बोल्ने अवसर नपाए पनि मध्य तथा सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक घोराहीमा रेडियो स्वर्गद्वारी खुलेपछि मेरो रेडियोमा बोल्ने चाहना पूरा भयो, त्यो मेरो जीवनको अर्को खुसीको क्षण हो ।’ २०५६÷०५७ सालदेखि राप्ती सन्देश साप्ताहिक पत्रिकामार्फत् पत्रकारिता क्षेत्रमा प्रवेश गरेकी उनले २०५८ सालमा रेडियो सञ्चालनमा आएपछि रेडियोमा काम गर्न थालेकी थिइन् ।

पहिलो पटक खुलेको रेडियोबाट आप्mनो आवाज खुला आकासबाट एकैसाथ थुप्रै जिल्लामा सुनिँदा सानैदेखिको सपना पूरा पूरा भएको उनी सम्झिछिन् । जुन रेडियोमा अहिले पनि उनी आबद्ध रहेर काम गर्दै आइएकी छन् । त्यसपछि सबैभन्दा लोकप्रिय र विश्वसनीय अन्तार्राष्ट्रिय सञ्चार माध्यम बिबिसीका लागि छनोट हुन पाउँदाको क्षण उनको अर्काे खुसी हो । बिबिसीमा पनि उनी निरन्तर रूपमा काम गर्दै आएकी छन् ।

उनका खुसीका क्षणहरूमध्ये एउटा खुसीको क्षण हो, सन्तान प्राप्ति गर्दाको । रेडियो स्वर्गद्वारीमा काम गर्दै गर्दा महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक रहेका समीरमणि गौतमसँग विवाह भयो । विवाहपछि उनका एक छोरी र एक छोरा गरी दुई सन्तान छन् । पहिलो सन्तान छोरी अशुं गौतम १२ कक्षामा अध्ययनरत छिन भने छोरा अंकुर गौतम १० कक्षामा अध्ययनरत छन । आमा बन्दा पनि खुसी लागेको उनी बताउँछिन् ।

त्यस्तै जीवनमा त्यति ठूलो महत्वाकांक्षा राख्ने, ठूला सपना देख्ने बानी छैन । परिस्थितिले अगाडि ल्याएका अवसर र मौकामा अगाडि आइन्छ । त्यसमा अहिलेसम्म असफलताभन्दा सफलता नै धेरै प्राप्ति भएका छन् । जति असफलता हात परे, ती पनि कुनै न कुनै रूपमा इतिहास बनाउने गरी आए । हार भए पनि त्यसलाई आफ्नो तर्फबाट जित र प्राप्तिमाका रूपमा लिएर त्यसैमा खुसी खोज्ने गरेको उनको अनुभव छ । ‘खुसी कसैले दिएर भइँदैन, आफै खोज्ने हो । मैले मेरो जीवनमा धेरै पहिलो महिला बन्ने अवसर पनि प्राप्त गरेकी छु’– उनले भनिन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको पदाधिकारीमा जाने म नै पहिलो महिला भएँ । केन्द्रीय समितिमा महिला सचिवको रूपमा उम्मद्वारी दिने मोफसलबाट पहिलो महिला भए पनि निर्वाचनमा हार हुनुपरेको थियो । त्यस्तै बिबिसी नेपाली सेवामा पहिलो पटक काम गर्ने ४ महिला पत्रकारमध्ये एक आफू पनि परेको बताउँछिन् अधिकारी । त्यस्तै दाङ जिल्ला उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवमा सञ्चार संयोजक भएर काम गर्ने पहिलो पत्रकार महिला हुने अवसर उनलााई नै मिलेको थियो ।

‘यी सव प्राप्तिमा सबैभन्दा बढी खुसी छु । आमाले सातौँ सन्तानको रूपमा मलाई जन्म दिएर मनुष जीवनको अनुभूति गर्ने अवसर दिनुभएको छ, उच्च शिक्षा, जीवनउययोगी सीप, सबथोक मैले आमबाट पाएँ । आमा एकल महिला भएर पनि हामी सन्तानलाई कुनै कुराबाट वञ्चित गराउर्नुभएन । बुबाको अभाव आमाले पूर्ति गर्नुभयो । ११ सन्तानलाई जन्म दिने, उचित लालनपोषणसँगै उचित मार्ग निर्देशन गनुभयो । जन्म, कर्म सबै दिने विशाल ममताकी खानी महान देवी, सरस्वती स्वरूपकी आमा पाउनु पनि खुसीको कुरा हो । आज म जहाँ छु, जे प्राप्ति गरेकी छु, त्यो आमाकै कारण छु । त्यसकारण आमाकी छोरी हुनुमा म सवैभन्दा बढी खुसी छु ।’

बुबा स्वर्गीय गजाधर अधिकारी र आमा डिलाकुमारी अधिकारीको सातौँ सन्तानका रूपमा २०३५ भदौ कृष्णजन्माअष्टमीका दिन जन्मिएकी गौतमले आधारभूत तहको शिक्षा सिसहनियामा रहेको सर्वोदय माविबाट सुरूवात गरेकी थिइन् । मावि मौरीघाटबाट १२ कक्षा पास गरेकी गौतमले घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसबाट अंग्रेजी साहित्यमा बिए र विद्यानीलकन्ठ क्याम्पस घोराहीबाट एक वर्षे बिएड एमएड गरेकी हुन् ।

रेडियो स्वर्गद्वारीमा समाचार प्रमुखको रूपमा कार्यरत गौतम बिबिसी नेपाली सेवामा सन् २००८ देखि हालसम्म आबद्ध छिन् । नेपाल पत्रकार महासंघ दाङ शाखाको उपाध्यक्ष रहेकी उनी संकल्प महिला सञ्चार संस्था, क्रियाशील पत्रकार महिला दाङलगायतका विभिन्न संसघसंस्थामा आबद्ध छिन् ।दुई दशकदेखि पत्रकारितामा क्रियाशील गौतम विभिन्न पुरस्कारहरू र सम्मानबाट सम्मानित भइसकेकी छन् ।

जसमा रोट्रयाक्ट जर्नोअवार्ड, पत्रकार महासंघको प्रतिभा पत्रकारिता पुरस्कार, घोराही उपमहनगरपालिका, लेखक संघ दाङ, अपाङ्ग मानवअधिकार एवं सरोकार मञ्च, दाङ महिला जेसीज अन्तरपार्टी महिला सञ्जाल दाङ, देउखरी साहित्य मञ्च र रेडियो स्वर्गद्वारी दाङ, विधवा महिला सरोकार केन्द«, महिला विकास कार्यालय, जिल्ला विकास समितिलगायतका विभिन्न संघसंस्थाहरूबाट पुरस्कार तथा सम्मान प्राप्त गरेकी छन् ।

                                                                                                                                             प्रस्तुती : लिलाधर वली