लमही महोत्सवमा रौनक बढ्दै

शिवराज खनाल
लमही, २५ माघ । लमही चेम्बसर अफ कमर्शले देउखुरीको लमहीमा आयोजना गरेको औद्योगिक व्यापारिक एवं पर्यटकीय महोत्सवलाई वर्षातले छेकेन, हुरीले रोकेन । महोत्सवको दोस्रो दिन वर्षातकै अवसरमा पनि दर्शकहरुले छाता ओढेरै पनि महोत्सव अवलोकन गर्न भ्याए ।

एकाएक धुम्म परेको आकाश वर्षिन सुरु भयो, तर खचाखच मैदानमा भरिएका दर्शकलाई झरीको प्रवाह नै भएन । ओत खोज्न थालेका दर्शकहरुले मैदान छोडेनन् । चर्चित गायक रामजी खाडको गाएकी सुन्न लालायित दर्शकहरु त्यतिबेला ताते जब रामजी स्टेजमा छाए । केहीबेरको झरीले चिसो अनुभुत गरेका दर्शकहरु रामजिको गीतमा झुमेर नाँचे । यी कलाकारहरुको प्रस्तुतीले महोत्सवमा आएका दर्शकहरुलाई चिसोमा पनि ततायो । फूल फूलेर पहेंलै भयो बोलको गीत गाउँदा दर्शकहरु निकै झुमे । रामजीले आधा दर्जन गीत गाएर दर्शक नचाएका थिए ।

यसैगरी नृत्य क्षेत्रमा निकै चर्चा बटुल्न सफल कमल नारायणीको जोडी शनिवार लमहीमा आयोजित महोत्सवको अर्को मुख्य आकर्षकका रुपमा रह्यो । अभिनय सहितको नृत्य पस्कन माहिर यो जोडीले दर्शकहरुलाई नचाएन मात्रै, मन्त्रमुग्ध समेत बनाएको थियो । यसैगरी लाइभ दोहोरीमा पनि दर्शकहरु निकै झुमेका थिए । लमहीमा शुक्रवारदेखि सुरु भएको पर्यटन प्रवद्र्धन तथा कृषि औद्योगिक महोत्सवको दोस्रो दिन शनिवार दर्शकहरुको खचाखच भीड रहेको थियो । लमही चेम्बर अफ कमर्शले आयोजना गरेको महोत्सव फागुन ५ गतेसम्म चल्ने छ । यसैबीच महोत्सवको तेस्रो दिन आइतवार राजनराज शिवाकोटी, सहिमा श्रेष्ठ, कमल नारायणी, विजय पुनलगाउतको प्रस्तुती रहने छ ।