चट्याङ लागेर दाङमा तीन जनाको मृत्यु

दाङ,२५ माघ । दाङमा चट्याङ लागेर शनिबार तीन जनाको मृत्यु भएको छ । शनिवार दिउँसो चट्याङ लागेर तुलसीपुरमा दुई जना र घोराहीमा एक जनाको मृत्यु भएको हो ।

दिउँसो एक बजेको समयमा तुलसीपुर उपमहानगरपालिका–७ नवलपुर निवासी गीता चौधरीको घरमा चट्याङले हान्दा उनका सात बर्षीया छोरी सृष्टि चौधरी र सोही ठाउँ निवासी ५४ बर्षीया लक्ष्मी आचार्य गम्भीर घाइते भएका थिए । घाइते दुई जनाको तुलसीपुरमा रहेको राप्ती केयर हस्पीटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै १ ः ३० बजेको समयमा पुन चट्याङ लागेर घोराहीमा एक जना बालकको मृत्यु भएको छ । चट्याङ लागेर घरको आगनमा खेल्दै गरेका घोराही उपमहानगरपालिका वडा नं. ११ हापुर निवासी सूर्यबहादुर पुरीका ८ बर्षीय छोरा ताराबहादुर पुरीको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका पुरीको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ल प्रहरी कार्यालय दाङले जनाएको छ ।